
जाजरकोट
नेकपा (एकीकृत) समाजवादीका महासचिव घनस्याम भुसालले नेपालको गणतन्त्रले एजेण्डा छोडेको बताएका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा महाचिव भुसालले यस्तो बताएका हुन् ।
नेकपा (एकीकृत), समाजवादी जाजरकोटको छैटौं जिल्ला अधिवेशनमा आथित्यता ग्रहण गर्न जाजरकोट पुगेका महासचिव भुसालले सोमबार विहान पत्रकार सम्मेलनको आयोजना गरेका थिए । ‘आजको परिस्थिती र एकीकृत समाजवादीका दृष्टीकोणहरु’ भन्ने बिषयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भुसालले नलायकी सरकार र अराजक सडकका कारण वर्तमान राष्ट्रिय राजनीतिले नयाँ रुप लिन खाजेको भनाइ राखेका थिए । नेपालको गणतन्त्रले वर्तमान एजेण्डा छोडेको बताउदै महासचिव भसालले सुशासन र रोजगारीनै नेपालको गणतन्त्रको मुख्य एजेण्डा भएको बताएका थिए । सुशासन र रोजगारी, समाजवादको तयारीनै अहिलेको मुख्य आबश्यकता भएको बताउदै महासचिव भुसालले गणतन्त्रको राजनीतिक नेतृत्व नलायकी भएको भनाइ राखेका थिए ।
सुशासन र रोजगारीको एजेण्डालाइ छोडेर राजनीतिक नेतृत्वले भ्युँ टावर र पानीजहाजको मुर्छित एजेण्डालाइ अगाडी बढाउदा भ्रष्टाचार मौलाउनुको साथै रोजगारीको समस्या झनै विकराल बन्दै गएको महासचिव भुसालले भनाइ राखेका थिए । सुशासन र रोजगारीको एजेण्डालाइ लिएर नेकपा (एस) लामो आन्दोलनमा जान लागेको भुसालले बताए । २०८४ भित्रै गणतन्त्रको एजेण्डालाइ स्थापित गर्ने लक्ष्य लिएर नेकपा (एस) अगाडी बढि रहेको महाचिव भुसालले भनाइ राखेका थिए ।
कुनै बेला रवी लामिछाने केपी ओलीको मानसपुत्र भएता पनि मानसपुत्रलेनै पश्न उठाएपछि ओली र लामिछाने बीच झगडाको सुरुवात भएको महासचिव भुसालले बताएका थिए । रवीले हजारौ कमजोरी गरेको भएता पनि बदलाको कार्वाही गर्न खोजिएको हो कि ? भन्ने मान्यता स्थापित भएको भुसालले भनाइ राखेका थिए ।
भ्रष्टाचार र बेथितिको ढाकछोप गर्नुको साथै सत्ताको भोकले नेपाली काँग्रेस र नेकपा एमाले बीच सत्ता समिकरण भएको बताउदै महासचिव भुसालले सत्ताको आयु लम्व्याउने उदेश्यले कांग्रेस एमालेहरुले राजावादीको आन्दोलनलाइ अदृष्य तरिकाले उस्काउने गरेको आरोप लगाए । आजको दलाल पुँजीवाद एकात्मक पुँजीवादमा विकास भएको बताउदै महासचिव भुसालले त्यसको नाङ्गो रुप नेकपा एमालेमा देखा परेको बताए । नेकपा एमालेको विचार, राजनीति, सिद्धान्त, कार्यक्रम र संगठन ओलीकरण भएको उनले बताएका थिए । ओलीकरणको आयु धेरै लामो नभएको बताउदै महासचिव भुसालले ओलीकरणको अन्त्य २०८२ मै हुने ठोकुवा गरेका थिए ।
आजको एकात्मक पुँजीवादको उदाहरण दिदै महासचिव भुसालले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको छाँयामा एलन मस्क रहेता पनि नेपालमा त्यो भन्दा नाङ्गो तरिकाले एकात्मक पुँजीवादको पात्र देखापर्न थालेको भनाइ राखेका थिए । पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै महासचिव भुसालले आफु निर्वाचित संसदले मन्त्री बन्न नपाउने प्रावधानको पक्षमा रहेको भनाइ राखेका थिए ।