
जाजरकोट
शिक्षामा समान अबसर प्रदान गर्न जाजरकोटमा समावेशी गुणस्तरीय शिक्षा र स्पोन्सरशिप परियोजना संचालनमा आएको छ । विपन्न, जेहनदार बालबालिकालाइ शिक्षामा समान अबसर प्रदान गर्न विगत तीन बर्षदेखि समावेशी गुणस्तरीय शिक्षा र स्पोन्सरशिप परियोजना संचालनमा आएको हो ।
शिक्षामा पहुँच बृद्धि गर्नुको साथै समान अबसर प्रदान गर्न परियोजनाले भेरी नलगरपालिकाका १५ र नलगाड नगरपालिकाका १० वटा गरी जम्मा २५ वटा विद्यालयमा कार्यक्रम संचालन गरेको छ । पेशागत क्षमता अभिबृद्धि गर्न शिक्षकहरुलाइ तालिम संचालन गर्दै आएको परियोजनाले बालमैत्री विद्यालय भवन निर्माण गर्दै आएको छ । भेरी र नलगाड नगरपालिकाको समन्वयमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको साँझेदारीमा संचालित समावेशी गुणस्तरीय शिक्षा परियोजनाले बालमैत्री विद्यालय खानेपानी धारा निर्माण, शौचालय निर्माण गर्दै आएको परियोजना संयोजक वीरेन्द्र कुमार थारुले जानकारी दिए । शिक्षण सिकाइ वातावरण निर्माण गर्न परियोजनाले बालबालिकाहरुको बसाई ब्यावस्थापन (कार्पेट, पी फर्म, राउण्ड टेबल, ६ सिकाइ कुना, बुक ¥र्याक) लगाएतका समग्रीहरु सहयोग गरिरहेको संयोजक थारुले बताएका छन् ।
परियोजनाले स्मार्ट बोर्डको व्यवस्थापन गरिदिए बालबालिकाको पठन सीप विकासमा मद्दत पुग्ने भेरी नगरपालिका–८ गिमा स्थित मष्टा आधारभुत विद्यालयको प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) का शिक्षिका निर्मला डिसीले बताइन् । युग सुहाउदो शिक्षण सिकाइ, पठनीय सीप विकासको लागि स्मार्ट बोर्डको आबश्यकता रहेको सहायक प्रअ नन्दराम पौडेलले बताए ।
बालबालिकाहरुको पठन सीपको बिकास गर्न परियोजनाले भेरी नगरपालिकामा ५० र नलगाड नगरपालिकामा ३० गरी जम्मा ८० वटा पढाई शिबिर सन्चालन गर्दै आएको छ । हप्तामा सनिबार मात्र संचालन गरिने पढाइ शिविरले बालबालिकाको पढाइ स्तरलाइ धेरै माथि ल्याएको नलगाड नगरपालिका–२ का वडा अध्यक्ष पूर्ण बहादुर खत्रीले बताएका छन् । पढाइ शिविरले विद्यार्थीको उपस्थितिलाइ नियमित बनाउन महत्वपूर्ण भुमिका खेलेको भेरी नगरपालिका–७ दोकान स्थित इन्द्र ज्योति आधारभुत विद्यालयका प्रअ रेशम बहादुर डाँगीले बताए ।
गत बर्ष गएको जाजरकोट भुकम्पले विद्यालय भवनहरु क्षेतिग्रष्त भएको बताउदै प्रअ डाँगीले परियोजनाले चार कोठे भवनको निर्माण कार्य सुरु गरेपछि विद्यालय भवनको आधारभुत समस्या समाधान हुनेमा आफु विश्वस्त भएको बताए । छेडागाड नगरपालिकाको सिमानासंग जोडिएको दोकान वडा कार्यालय र नगरपालिकाको प्राथमिकतामा पर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार विकले भनाइ राखेका थिए । वडा कार्यालय र नगरपालिकाको प्राथमिकतामा पर्न नसकेको ठाउँलाइ प्राथमिकतामा राखेर परियोजनाले पक्की विद्यालय भवन निर्माण गरिदिनु दोकानबासीका लागि अहोभाग्य भएको अध्यक्ष विकले भनाइ राखेका थिए ।
चालु आर्थिक बर्षमा भेरी नगरपालिका–७ दोकान स्थित इन्द्र ज्योति आधारभुत विद्यालयको चारकोठे भवन ४५ लाख लागतमा निर्माण गर्न परियोजनाले निर्माण कम्पनीसंग सम्झौता गरि निर्माण कार्य सुरु गरेको परियोजना संयोजक थारुले बताए । त्यसैगरी नलगाड नगरपालिका–२ डाँडागाउँ स्थित जनक आधारभुत विद्यालयको चारकोठे भवन निर्माण गर्न परियोजनाले निर्माण कम्पनीसंग सम्झौता गरिसकेको छ ।
बालबालिकाहरुको प्रारम्भिक स्वस्थ्य जाँच शिविर, अपाङ्गता पहिचान शिविर संचालन गर्दै आएको परियोजनाले विद्यालय तथा वडा स्तरीय बाल क्लब गठन गर्नुको साथै विभिन्न तालिमहरु संचालन गर्दै आएको नलगाड नगरपालिका–२ को वडा बाल क्लवका अध्यक्ष यदु गौतमले भनाइ राखेका थिए । बालबालिकासंग सम्बन्धित योजना तर्जुमा गर्नुको साथै नीति तथा रणनीतिहरु निर्माण गर्न परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको भेरी नगरपालिका–७ दोकान स्थित इन्द्रज्योति आविको बाल क्लवका अध्यक्ष भावना विकले भनाइ राखेकी थिइन् ।
बालमैत्री स्थानीय शासन संचालन अभियानमा वकालत गर्नुको साथै भेरी र नलगाड नगरपालिकालाइ विभिन्न सहयोग गर्दै आएको परियोजनाले बाल संरक्षण तथा बाल समृद्धिका थुप्रै कार्यक्रमहरु संचालन गर्दै आएको छ । परियोजनाले भेरी नगरपालिकाका ३ हजार २० र नलगाड नगरपालिकाका २ हजार २६० गरी जम्मा ५ हजार २८० जना २ बर्षदखि माथिका र ८ बर्ष मुनीका बालबालिकालाइ बाल स्पोन्सरशिप कार्यक्रममा दर्ता गरेको छ । बाल स्पोन्सरशिप कार्यक्रम अन्तरगत भेरी नगरपालिकामा टाइवानले सपोर्ट गरेको छ भने, नलगाड नगरपालिकामा अस्ट्रेलियाले सपोर्ट गरेको छ ।