News Portal

आमालाई सम्झिदा खेरी !

कृष्ण बहादुर गिरी२०८१ फाल्गुण १६
२८६ पटक

आज आमाको देहावसान भएको ४० दिन पुगेको छ । अर्थात २०८१ माघ ६ गते आइतवारको दिन साझ करिव ६ बजेर ३८ मिनेटमा ८१ बर्षको उमेरमा ब्रह्मालीन हुन पुग्नु भएकि मेरी आमा केहि दिन रुघा खोकीको सामान्य असरले अस्वस्थ भएपनि अन्य शारीरिक अवस्था मध्यम नै थियो । करिव आधा घण्टा अघि सन्चो बिसन्चोको खवर सोधपुछ गरेको थिएँ तर असजिलो भएको केहि पनि कुरा गर्नु भएन । अफिसको कामको ब्यस्तताले केहि दिन पछि भेट्न आउने कुरा गरे, अनि हुन्छ भन्नु भयो।बरु यता मलाई नै आफ्नो शरीरको ख्याल गर्नु चिसो मौसम छ भनेर सम्झाउनु भयो । मैले हस भने । के थाह ? ‘हुने आर, दैव नटार’ भन्छन ! त्यस्तै भयो ।

 

त्यहि दिन एक जना जिल्ला बाहिरको सेवाग्राहि शाखामा आउनु भएको थियो ।वहाँले दुई बर्ष अघि देखि गाउँपालिकामा समान ल्याएर थुपारेको र भुक्तानी नपाएको गुनासो गर्नु भयो ।अबको विकल्प समान फिर्ता लिनु बाहेक अरु केहि छैन सर भनेर मलाई अनुनय बिनय गर्न थाल्नु भयो। मैले बुझ्ने क्रममा के समान हो भनेर सोधे, स्यानेटरी प्याड हो भन्नु भयो ।बालिकाकै अत्यावश्यक समान रहेछ भनि काम गरिदिनु पर्छ भन्ने लागेर समान हेरें, बिल हेरें, अनि कार्यपालिकाको निर्णय हेर्दै शाखाबाट गर्नु पर्ने काम गरिदिएँ । धेरै बिषय खोजेर टिप्पणी तयार गर्नु पर्ने भएकाले अलिकति समय पनि लाग्यो ।यसै क्रममा केहि साथीहरुबाट यो जोखिमयुक्त काम हो, विचार गरेर गर्नु भन्ने सुझाव आएको थियो । मैले डराइ डराइ सेवाग्राहिको अनुरोधमा त्यो काम गरिदिएँ ।काम सकेर वहाँ निस्कनु भयो ।

केहि समय पछि आफ्नो बाँकी काम गर्न थालेको थिएँ । यतिकैमा साढे ६ बजिसकेको रहेछ  त्यहिबेला नै एक्कासी मेरो फोनमा घण्टी बज्यो । बहिनीले चिच्याउदै गरेको आवाज सुनियो यताबाट के भयो ? भन्दा भन्दै आमाले संसार छोडेको खवर सुनाइन । एक छिन त बिश्वास लागेन, अहिले पनि लागिरहेको छैन तर पनि विश्वास न लागेर के गर्नु ? आखिर सत्य, सत्य नै थियो । यो धर्ती छोड्नु भयो, हामीलाई पनि छोडर जानु भयो । त्यो बोली त्यो समय आमासँग मेरोलागि अन्तिम भयो ।

 

यसैगरी केहि बर्ष अघि बुवा बिरामी हुदाँ पनि कान्छी बहिनीले  बिरामी भएको खवर यसरी नै गरेकि थिइन।जतिबेलामा म कामका लागि टेबुलमा बसीरहे कै अवस्थामा थिएँ । अप्रत्यासित खवर आयो त्यहि समय देखि बिरामी हुनुभएको बुवा धेरै समय थलिएर अन्तमा स्वर्गबास हुन पुग्नु भयो । सायद यो संयोग होला कि ! वुवा र आमाको दुःखद खबर सुनिनु र म अफिसको टेबुलमा काम गरिरहेकै अवस्था हुनु । उमेरको कारणले बृद्ध बुवा र आमा केही समय अघि देखि नै अशक्त भइसक्नु भएको थियो ।वहाँहरुलाई अब सहाराको खाँचो परिसकेको थियो ।बेला मौकामा भन्ने गर्नु हुन्थ्यो । अब हामीलाई बुढेस कालमा कुनै किसिमको नराम्रो देख्न, सुन्न र भोग्न नपरोस । मेरा छोरा, छोरी, नाती, नातिना र आफन्त हामी भन्दा टाढा न भइदिउन भनेर भन्ने गर्नु  हुन्थ्यो । तर वहाँहरुको अन्तिम इच्छा कति पुरा भयो होला या भएन होला ? त्यो अपेक्षा वहाँहरु जिवित हुँदा जिवित आत्म र मृत्यु भइसकेपछि मृत आत्मले बुझेको होला ?

 

तर म भने यो समयमा अत्यन्त दुःखि भएको छु । मेरो बाध्यता हो या विवसता पछिल्लो समयमा छोरा छोरी बढ्दै गए ,ठुला हुँदै गए, पढ्नका लागि शहरका कलेज रोज्न थाले, उनिहरुका इच्छा आकांक्षा फेरिदै जाँदा खर्च बढ्दै गयो । म यो परिस्थितिको सामनाका लागि प्रयत्नशील रहदै गएँ । मेरा सामु देखा परेका दुईवटा मुख्य चुनौतीहरु मध्ये छोरा छोरीको लागि खर्च जुटाउनु र आमा, बुवाको सेवा गर्नु  यी दुवै महत्वपूर्ण थिए । अनिवार्य शर्त जस्तै हुन गएका थिए। अनि त्यहि हुनाले मैले ती चुनौती सामाना गर्न बिचको बाटो समाते । आफ्नो घर पायक भएको पालिका भित्रको जागिर भन्दा अर्को पालिका र अलि दुर्गम ठाउँमा सरुवा भइ जागिर खान जाउँ, अलिकति तलव भत्ता थप होला र अनि थपिन गएको तलव भत्ताले घर खर्च सजिलै चलाउला, छोरा छोरी र आमा बुवाको दुवै आवश्यक्ता पुरा गरुला भन्ने सोझो बुझाइ थियो । त्यहि बुझाइ अनुसार सरुवा पनि भएँ। सरुवा भइ सकेपछि  न त दैनिक आवत जावत गर्न सकियो न त तलव भत्ता नै बढ्यो ? अझ त डेरा गरी बस्दा झन खर्च बढ्न थाल्यो । यसो हुँदा कहिले कसो गल्ति गरिए छ  कि ? भन्ने जस्तो लाग्ने गर्थ्यो । नजिक र टाढा हुँदा  खासै सुविधामा केहि पनि फरक नपरे पछि काम गर्न झोज लागे जस्तो र अल्छि लाग्ने जस्तो भए पनि कहिल्यै त्यसो गरिन । अल्छि पनि मानिन ।

 

त्यति हुँदा हुदै केहि समय घरमा बुवा आमाको सहयोग गर्नका लागि आफन्तहरुको सहयोग मागे अनि केहि समयका लागि बसीलाग्ने मान्छे समेत पाएँ । त्यस पछि आमाले पनि धेरै सहज महशुस गर्न थाल्नु भएको थियो । अर्को तर्फ मैले छोरा छोरीलाई पनि इच्छा अनुसार शहरको कलेजमा पढ्ने ब्यवस्था मिलाएँ । अलिकति खर्चको भार बढेपनि यसरी नै दैनिकि चल्दै थियो म सन्तुष्ट नै थिएँ। तर पछि गएर न तलव भत्ता बढ्ने, न त घरपायक नै हुने भए पछि आमाले अलि असजिलो मानिरहनु भएको थियो।कोही नयाँ नेता, कर्मचारी जोसँग भेट भए पनि मेरो छोरालाई घरपायक सरुवा गरिदिनु है बाबु भनेर भनिरहनु हुन्थ्यो । वहाँलाई के थाह ? सरुवाको प्रक्रिया र म टाढा सरुवा भइ जानको कारण !

 

तर मेरा शुभेच्छुक, शुभचिन्तकहरुले भने मलाई ल्याउनु पर्छ , आउनु पर्छ र कसैले यतै बसेर काम गर्नुपर्छ भनेर भनिरहनु हुन्थ्यो । म भने आमालाई फोनमै बेला मौकामा सान्त्वना दिन्थे, आउछु भनेर ढाट्दै गर्थे । अलि टाढा भएकै कारणले  एक, दुई महिनाको अन्तरालमा भेट हुन्थ्यो । सायद मेरा तीनै बाध्यताले आमासँग अन्तिम भेट पाइन होला ? म मात्र नभएर आमाका आठ सन्तान मध्ये छ सन्तानले अन्तिम भेट पाएनन् ।उनिहरुका पनि आ- आफ्नै समस्या र बाध्यताहरु मेरा जस्तै थिए होलान् । केवल ठुली दिदी र बहिनीको साथ तथा काखमा आमाले आफ्नै निवासमा प्राण त्याग गर्नु भयो । हामी खवर सुनेर रातीराती कुद्यौ तर जति कुद्दा पनि मृत शरीर मात्र भेट्यौं अनि भोली पल्ट दाह संस्कार भयो। ठुलो परिवारमा यो उमेरसम्म पनि आमा हुदाँ अन्यन्त भरोसा लाग्थ्यो र अझै स्वस्थ र तन्दुरुस्त जस्तै देखिदा कहिल्यै  केहि नहुनु होला जस्तो भान हुन्थ्यो ता पनि मृत्यु भइसकेपछि परिवारका सदस्यहरुको अलाप, बिलापका बीच अन्तिम बिदाइ गरियो ।

 

आमाको अभावमा भक्कानिएको मनलाई शान्त राख्नका लागि  आमा बिना असम्भव यो जीवनमा आमा जीवित हुँदा पनि उनका बारेमा शब्द खर्चेर केही लेख्छु भन्नेलाई त शब्दको अभाव हुँदो हो, यिनै आमाको देहावसान पछि यिनको सम्झनामा कागजमा पोखिन झनै कठिन हुँदो रहेछ ।

 

यसै प्रसंगमा एक जना दार्शनिक ‘रुडयार्ड किप्लिंग’ को एउटा भनाइ छ, ‘भगवान सबै तिर हुन सक्दैनन् यसैले उनले आमाको सिर्जना गरेका हुन’ । भनाइको मतलव कहिल्यै नदेखिने, नचिने भगवान भन्दा आफु र आफ्नो सन्तानका लागि मात्र सोच्ने, सुनसरी सुख्ख र पितलसरीको दुख्ख पाउँदा पनि आफ्नो सन्तानलाई नभुल्ने हरेक आमा, हमेशा देखिने र चिनिने जिउँदो भगवान हुन भन्ने लाग्छ । त्यसैले म मेरी आमालाई जिउँदो भगवानको रुपमा बुझ्दछु ।

 

पुरानो चलन अनुसार बालविबाह अनि त्यसैमा पनि मागि बिवाहबाट घर भित्रिएकि मेरी आमा राणा काल देखि अहिलेको ब्यवस्थासम्म आइपुग्दा जिवनका करिब एक शताब्दीका सुख दुखका अनुभवहरु सुनाउने गर्नु हुन्थ्यो । सतिप्रथा र चुनावमा महिलालाई भोट हाल्ने अधिकारबाट बन्चित गरिने जस्ता सामाजिक कुरीति र विभेदहरुलाई आफूले नजिकबाट हेरेका, सुनेका र भोगेका तथा २०३६ सालको जनमत संग्रहमा पहिँलो र हरियो चिन्हमा छापलगाउँदा आफूले बहुदलको पक्षमा भोटहालेको प्रसंग सुनाउनु हुन्थ्यो।

 

सँगसँगै बिगतमा आफूलाई खानको लागि अन्न बारीको डिलमा समेत रोपेर खाना पुर्याउने गरेको, कपास खेती गरेर फलेको कपासलाई कातेर आफैले लुगा बनाई जिउ ढाक्ने गरेको र बारीका काल्नमा उम्रेको झारपातलाई औषधिको रुपमा प्रयोग गरी रोग निको पारेर स्वस्थ हुने गरेको जस्ता कर्मबाट आफू आत्म निर्भर भइ जिएको प्रेरणा समेत हामीलाई बाँड्नु हुन्थ्यो । अनि आफू सुत्केरी भएर बच्चाको न्वारन गरेकै दिन भोको पेटमा खेतको मेलो समालेको, उसिनेको काँचो केरा र पिँडालु खाएर  २०२८ सालको महा भोकमारी टारेको जस्ता साधनाका अनुभव सुनाउदै कडा परिश्रम र साधनाले फल प्राप्ति हुने सल्लाह दिनुहुन्थ्यो । हामी अच्चमित हुन्थ्यौं र कथा जस्तै मान्थ्यौं ।

 

अहिले मात्र नभएर उहिले सत्य युगमा शास्त्रका अनुसार एउटा प्रसंग छ, पाण्डवहरु बनवास हुँदा एक चर्चित यक्ष प्रश्नकाबारेमा  कतै कतै सुनेको थिएँ । पाण्डवहरु जंगलमा घुम्ने क्रममा निकै प्यास लाग्छ जेठो दाजु युधिष्ठिरको अनुमतिले कान्छो भाइ पानी खाना जान्छन र पानी खोज्दै जाँदा उनि एउटा सरोवर तालमा पुग्छन त्यहाँ पानी पिउन खोज्दा यक्षले प्रश्न गर्छन । प्रश्नको कुनै जवाफ नदिइ पानी खान्छन अनि जवाफ नदिएकै कारण उनको त्यहिँनेर मृत्यु हुन्छ । कान्छो भाइ न आए पछि अर्को भाइलाई पठाउँछन उनि पनि यक्षको प्रश्नको जवाफ नदिइ पानी खाँदा त्यँहिनेर मृत्युवरण गर्छन । दुई भाइ नआइसके पछि फेरी अर्का दुई शक्तिशाली भाइहरु भिम र अर्जुनलाई पठाउँछन उनिहरु पनि यक्षले सोधेको प्रश्नको जवाफ नदिइ पानी खाना खोज्दा त्यहिँनेर मृत्युबरण गर्न पुग्छन । सबै भाइ न आइसके पछि अन्तमा युधिष्ठिर द्रोपतिलाई त्यहिँ छोडेर सरोवरमा आफै जान्छन र पानी पिउन खोज्छन त्यतिबेला नै फेरी यक्षले अरु भाइलाई सोधे झैं उनलाई प्रश्न गर्छन । उनि भने पानी नखाइ सालिन तरीकाले जवाफ दिन राजि हुन्छन । यक्षको पहिलो प्रश्न पृथ्वीको भन्दा बढी भार कस्को  हुन्छ भन्ने थियो ? जस्को जवाफमा युधिष्ठिरले माता अर्थात आमाको हुन्छ भन्छन ।त्यतिकैमा उनको जवाफ यक्षले स्वीकार्छन अनि युधिष्ठिरले आफ्नो तिर्खा मेटाउछन । यसबाट के स्पष्ट हुन्छ भने आमा एक संसारको बिराट रुप हुन भनेर शास्त्रमा पनि आमालाई जिवित देवि मानिएको छ ।

 

त्यस्तै आमासँग सम्बन्धित अर्को एउटा प्रसंग छ ।भगवान रामचन्द्रले बाह्र बर्ष बनवास र बृन्दावनको कष्टकर बसाइका बीचबाट बलशाली रावण र उनको बिशाल फौज माथि जल, स्थल र वायुबाट लडाँइ लडेर बिजय हाँशिल गरी सुनको लंका प्राप्त गरिसके पछि उनका भाइ लक्ष्मणले यस्तो सम्पन्न राज्यको शासन गर्न सल्लाह दिन्छन दाइलाई।भाइ लक्ष्मणले दिएको सल्लाहको जवाफमा भगवान रामचन्द्रले भनेको शब्द रामायणको एक संस्कृत श्लोकमा लेखिएको छ ।”जननि जन्म भूमिश्चय स्वर्गदपि गरियसी” अर्थात जतिसुकै सम्पन्न अनि सुनकै लंका भएपनि सुख सयल भएपनि  आफूलाई जन्म दिने आमा र जन्मेको ठाउँ जन्भूमि, स्वर्ग भन्दा पनि प्यारो हुन्छ । भौतिक सुखले केहि हुदैन भनेर जवाफ दिन्छन । यो भनाइ उहिले देखि अहिलेसम्म पनि सान्दर्भिक मानिन्छ । नौ महिना आमाको कोख र दुई वर्ष काखमा बसी दस नाला दुध चुसेर हुर्केको संन्तानलाई आमा प्रतिको अगाध माया त नहुने कुरा नै भएन तर पनि आज कतिपय आमाहरु सन्तानको हेयबाट बाचिरहेका छन । तर म भने यो मेरो सानो लेखबाट कुनै जुनिमा वा कुनै दुनियाँमा कसैबाट आमा प्रति हेय नहोस भन्न चाहान्छु ।

 

आफ्नै परिश्रम र मुसिवतले खानुपर्छ भनेर सधै सुझाउने मेरा आमा र वुवाको मृत्यु त एक दिन मेरालागि शाश्वत सत्य नै थियो । तर पनि यहि समयमा म साथमा नहुदै मृत्यु हुनु भने कुनै दिन लेखिएको रहेछ र भएर गयो । अब म माता पिताको मृत्यु पछि उहाँहरु प्रति के नै गर्न सक्थे र ? दान, स्नान र पुजा बाहेक । त्यहि भएर आमाको ४५ दिनको कर्म पछि संभव भएसम्म आमा वुवाको स्मृतिमा एउटा अक्षय कोष स्थापना गर्ने सोच बनाएको छु । यस्मा सबैको सहयोग हुनेछ भन्नेमा बिश्वस्त छु । यो लेख पढेर सकिसके पछि सबै पाठक वर्गमा आफ्नो जिवित वा मृत आमालाई सम्झेर एक पटक आमा शब्दको उच्चारण गरिदिन अनुरोध गर्दै मेरी स्वर्गबासी आमा प्रति श्रद्धान्जली ब्यक्त गर्दछु ।

(लेखकः गिरी कुशे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत हुन् ।)

प्रतिकृया दिनुहोस्