News Portal

जुनीचाँदे– २ का वडाध्यक्षद्धारा दाम्लोले बाँधेर एक युवालाई कुटपिट

६६९ पटक

जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय एक युवालाई बाँधेर कुटपिट गरेका छन् । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँडि रहेको अबस्थामा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे दमाइलाई कुटपिट गरेका हुन् ।

वडा अध्यक्ष नेपालीले दमाईलाई दाम्लोले बाँधेर कुटिपिट गरी रहेको भिडियो सामाजिक संजालमा प्रकाशित भएपछि कुटपिटको बिषय मिडियामा समाचार बन्न थालेको छ । भिडियोमा वडा अध्यक्ष नेपाली आफैंले कुटपिट गरिरहेको देख्न सकिन्छ । भिडियो हिजो आज सार्बजनिक भएतापनि उक्त घटना यही साउन १५ गते भएको स्थानीयहरुले बताएका छन् ।

अत्याधिक मदिरा सेवन गरेका सर्पेले सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालयमा जम्मा भएका २ सय भन्दा बढि नागरिकहरुलाई जथाभावी बोल्नुको साथै ढुङ्गामुढा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरेको वडा अध्यक्ष नेपालीलाई उदृत गर्दै पत्रकार रेशम खड्काले बताए । आमा बुवाको आग्रहमा अध्यक्ष नेपालीले सर्पेलाई नियन्त्रण लिईएको पत्रकार खड्काको भनाई रहेको छ ।

अध्यक्ष नेपालीले नियन्त्रणमा लिएका सर्पेलाई ईलाका प्रहरी कार्यालय पञ्चालामा कार्यरत प्रहरी टोलीलाई बुझाएको पत्रकार खड्काले जानकारी दिए । आगामी दिनमा यस्तो गल्ती गर्ने छैन भनि स्वीकार गरेपछि सर्पेलाई कागज गराएर ईप्रका पञ्चालाको प्रहरी टोलीले उनकी आमा चन्दा दमाईलाई बुझाएको पत्रकार खड्काले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालयमा पुगेका नागरिकलाई वडाअध्यक्ष आफैले यसरी कुटपिट गर्नु गलत भएको स्थानीय नागरिकहरुको भनाई रहेको छ । जनताबाट निर्वाचित जनप्रतिनीधि आफैले जनतालाई यसरी कुटपिट गर्न नहुने अधिकांशले धारणा राखेका छन् ।

दाम्लोले बाँधेर कुटपिट गरेको भिडियोलाई सामाजिक संजाल मार्फत सार्बजनिक गर्नुको साथै प्रकाशित समाचारहरु प्रति अध्यक्ष नेपालीले आपति जनाएका छन् । अध्यक्ष नेपाली नेकपा एमालेको टिकटबाट निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्