News Portal

संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ

३८७ पटक

महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका–२ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धन बहादुर योञ्जन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संरक्षित वन्यजन्तु सालकको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपटा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाईएको प्रहरी अनुसन्धान व्यूरोले जनाएको छ ।

अवैध लागूऔषध सहित ७ जना पक्राउ
काठमाडौं
काठमाडौं महानगरपालिका–६ तेन्जिङ चोकबाट १ केजी अवैध लागूऔषध पोल्याण्ड सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बस्ने पाँचथर फिदिम घर भएका २३ वर्षीय दिपेन भारतीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको थियो । चोकमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी विभाग कपनबाट खटिएको प्रहरीले उनलाई पोल्याण्ड सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका–१४ जलजला होटलबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१८ बस्ने १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका–१३ बस्ने राहुल पुन मगर रहेका छन् । उक्त होटलमा शंकास्पद तरिकाले बसेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–२७ स्थित सडकबाट ३ केजी ७४ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ग.१७ प २१५७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी स्कुटर चालक ती किशोर लगायत २ जनालाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका–६ जरेबर डेरा गरी बस्ने धादिङ घर भएका १८ वर्षीय किशोरलाई करिब १ केजी अवैध लागूऔषध गाँजा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका–१२ मङलबारेबाट करिब ४ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पाउडरको धुलो सहित केराबारी गाउँपालिका डागी बस्ने २३ वर्षीय सागर तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको उनलाई प्रहरी चौकी बखरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धुलो सहित फेला पारी पक्राउ गरेको हो । अबैध लागुऔषध सहित पक्राउ परेका ७ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

स्रोत नखुलेको १० लाख नगद सहित ३ जना पक्राउ
रुपन्देही
लुम्बिनी साँस्कृतिक नगरपालिका–४ महुवारी कालीदहबाट स्रोत नखुलेको १० लाख नगद सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्षीय अनवर मुसलमान रहेका छन् ।

लु.४३ प २६५० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक यादव र मोटरसाइकलमा सवार मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । स्रोत नखुलेको नगद सहित पक्राउ परेका दुई जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
काठमाडौं
चन्द्रागिरी नगरपालिका–१ दहचोक कार्की धारास्थित भगवती अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप कार्की लगायत १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६४ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । पक्राउ परेका १४ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्