कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ती ६ लाख ५० हजार रुपैयाँ लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी ६ जनाबाट ३९ लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी महाशाखाले जनाएको छ ।
खोलामा डुबेर एक बालकको मृत्यु
कञ्चनपुर, भिमदत्त नगरपालिका–१ बाराकुण्डा बस्ने हिरा सिहं कुँवरको छोरा ४ वर्षीय प्रिन्स कुँवरको सोही ठाउँस्थित रौटेला खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरी महाशाखा काठमाडौले जनाएको छ ।
मृत अवस्थामा तीन जना फेला
काठमाडौं महानगरपालिका–१६ माछापोखरी हिमालय सपिङ्ग सेन्टर पछाडी रौतहत मौलापुर नगरपालिका–७ घर भई काठमाडौं गोंगबु बस्ने ३५ वर्षीय रामदेव राय यादव सोमबार मृत अवस्थामा फेला परेका छन् । सुनसरी, बराहक्षेत्र नगरपालिका–४ धनपुरी नयाँपुलस्थित चतरा जुम्का नहरको छेउमा सोही नगरपालिका–३ बस्ने ६६ वर्षीया दुर्गामाया राउतले सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
चितवन, भरतपुर महानगरपालिका–३ लाईन्स चोक स्थित शुभम् पेट्रोल पम्म अगाडि हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, शुद्धोधन गाउँपालिका बेतानीस्थित नहरमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।