News Portal

जाजरकोटमा कोरोना संक्रमितको संख्या १४२ पुग्यो

८१६ पटक

नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहर पश्चात जाजरकोट जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४२ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले सनिबार स्याउलीबजारमा गरेको एन्टीजेन परिक्षणपछि जिल्लामा संक्रमितहरुको संख्या १ सय ४२ पुगेको हो ।

भेरी नगरपालिकाको स्याउलीबजारमा सनिबार ४६ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएको भेरी नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले डिजिटल संचारलाई जानकारी दिएका छन् । सनिबार स्याउलीबजारमा गरिएको परिक्षणबाट कोरोना पुष्टी भएका १६ जना संक्रमितहरु भेरी नगरपालिका–७ र ८ का नागरिकहरु रहेको गौतमले बताएका छन् ।

शुक्रबारसम्म गरिएको परिक्षणबाट जिल्लामा संक्रमितहरुको संख्या १ सय २६ थियो भने, सनिबार स्याली बजारमा गरिएको परिक्षणबाट जिल्लामा संक्रमित हुनेहरुको संख्या १ सय ४२ पुगेको छ भने, एक जना संक्रमित विरामी सन्चो भएर घर फर्केको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । संक्रमित हुनेहरुमा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक र सर्वसाधारण नागरिकहरु रहेका छन् ।

जिल्लामा तिब्र गतिमा फैलिदै गएको कोरोना भाईरसको संक्रमणले आफुलाई चिन्तित बनाएको कर्णाली प्रदेश साँसद गणेश प्रसाद सिंहले बताएका छन् । कोरोना भाईरसको संक्रमणलाई रोकथाम, नियन्त्रण गर्न र संक्रमित विरामीहरुको उपचार गर्न कर्णाली प्रदेश सरकार गम्भिर भएर लागिपरेको साँसद सिंहले बताएका छन् । कर्णाली प्रदेशका सबै साँसदहरुले आधा महिनाको पारिश्रमिक प्रदेश सरकारको कोरोना कोषमा जम्मा गरेको जानकारी दिदै साँसद सिंहले प्रदेश सरकारले बिकास बजेटबाट कटौती गरेर एक अरब बजेट जम्मा गरेको बताए । उक्त बजेटबाट प्रदेश सरकारले तत्काल प्रदेशका सबै जिल्लामा अक्सिजन सिलिण्डरको ब्यबस्था गर्ने साँसद सिंहले जानकारी दिएका छन् ।

कोरोनाको मुख्य लक्षण भनेको ज्वरो आउने, रुघाखोकी लाग्ने र विरामीलाई स्वास फेर्न गाह्रो हुने बताउदै साँसद सिंहले प्रदेशका सबै जिल्लामा आधारभुत औषधी, सिलिण्डर र एन्टीजेन परिक्षणका किटको व्यवस्था गर्न प्रदेश सरकार लागि परेको बताए । पिसीआर परिक्षण र सिरियस विरामीहरुको उपचार गर्न प्रदेश सरकारले सुर्खेतको कालागाउँमा रहेको प्रदेश अस्पताल, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुमपश्चिमको चौरजहारीमा रहेको सामुदायिक अस्पतालमा बिशेष सामाग्री र औषधीलाई केन्द्रित गर्ने योजना रहेको साँसद सिंहले जानकारी दिएका छन् ।

तिब्र गतिमा फैलिदै गएको कोरोना भाईसरको रोकथाम तथा नियन्त्रण गर्न जाजरकोटमा सनिबार राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म निशेधाज्ञा जारी गरिएको छ । संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर यही बैसाख २५ गते राती १२ बजेसम्म निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

निशेधाज्ञा अबधिभर जिल्लामा सबै प्रकारका सेवाहरु बन्द गर्नुको साथै आबश्यक काम बाहेक हिड्डुलमा समेत निषेध गरिने बताईएको छ । निशेधाज्ञामा बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल, संचालनमा रहेका सबै व्यवसायहरु बन्द गरिने भएको छ ।

निशेधाज्ञा अबधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा संचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवा, जस्ता अति आबश्यक सेवाहरु एवं राष्ट्रिय गौरबका आयोजना लगाएत सार्बजनिक निर्माणका कार्य संचालन गर्न पाईने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताएका छन् । त्यसैगरी एम्बुलेन्स, शवबहान, दमकल, झण्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु भने, संचालन गर्न पाईने प्रजिअ देवकोटाले जानकारी दिएका छन् । आत्यावश्यक सेवामा खटिएका कर्मचारी तथा जनशक्तिले परिचय पत्र र तोकिएको पोशाक अनिवार्य लगाउनु पर्ने, स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नु पर्ने प्रजिअ देवकोटाको भनाई रहेको छ । विहान ६ बजेदेखि ९ बजेसम्म संचालन गर्न पाईने तरकारी, खाद्य, दुध र ग्याँस पसलका साहुँहरुले मास्क, भौतिक दुरी लगाएत स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नु पर्ने प्रजिअ देवकोटाले बताएका छन् ।

प्रतिकृया दिनुहोस्