News Portal

खलंगामा बजार अनुगमन, अखाद्य बस्तु बरामत गरी नष्ट

२०३ पटक

जिल्ला सदरमुकाम खलंगामा संयुक्त बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा मंगलबार खलंगा बजार अनुगमन गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भेरी नगरपालिका र पत्रकारहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । मंगलबार तल्लो थाप्लेदेखि ठाँटी बजारसम्म रहेका किराना र औषधि पसलहरुको अनुगमन गरिएको थियो । अनुगमन टोलीले औषधि पसलबाट म्याद गुर्जिएका औषधि, एग्रोभेटबाट म्याद गुज्रेका रासायनिक मिसावट विभिन्न एग्रो औषधिहरु, खुद्रा तथा किराना पसलहरुबाट म्याद गुज्रेका विभिन्न अखाद्य बस्तुहरु बरामत गरी नष्ट गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटका निमित्त प्रमुख महेन्द्र भडेलले जानकारी दिएका छन् ।

म्याद गुज्रेका अखाद्य बस्तुहरुको विक्रि वितरण भईरहेको, व्यवसाय दर्ता तथा इजाजत प्रमाण पत्र नलिएरै कारोबार संचालन भइराखेको भन्ने जनगुनासोलाई सम्बोधन गर्न बजार अनुगमन गरिएको निमित्त कार्यालय प्रमुख भडेलले बताए । अनुगमनका क्रममा पसलहरुमा मुल्य सुची नराखेको, पसलको साइनबोर्ड नराखेको, व्यवसाय एक किसमले दर्ता गरेको भएता पनि विभिन्न किसिमका सामानहरु बिक्रि वतरण गर्ने गरेको, पसलमा म्याद गुज्रेका अखाद्य बस्तुहरु राखेको पाईएको निमित्त कार्यालय प्रमुख भडेलले जानकारी दिए । बरामत गरिएका अखाद्य बस्तु तथा सामानहरु प्रचलित कानुन अनुसार नष्ट गरिएको भडेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस्