जिल्ला सदरमुकाम खलंगामा बाल सम्बेदनशिल पत्रकारिता तालिम सुरु भएको छ । जिल्लामा कार्यरत पत्रकारहरुमा तत्परता पैदा गर्न सोमबारदेखि तीन दिने बाल सम्बेदनशित पत्रकारिता तालिम सुरु भएको हो ।
पहाडी क्षेत्र विकास अभियान जाजरकोट अध्यक्ष प्रदिप जंग शाहको अध्यक्षतामा आयोजित तालिमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय समिति, जाजरकोट प्रमुख कालि बहादुर खत्रीले व्यानर पढेर गरेका थिए । भविश्यका कर्णधार आजका बालबालिकाहरुको सर्वाङ्गिण विकाससंगै बाल अधिकार प्रवद्र्धन गर्न आयोजित बाल सम्बेदनशिल पत्रकारिता तालिमले महत्वपूर्ण भुमिका खेल्ने जिसस प्रमुख खत्रीले विश्वास व्यक्त गरेका थिए ।
बाल सम्बेदनशिल पत्रकारिता तालिमले कानुन कार्यान्वयन गर्ने निकायलाई सचेत र सजक बनाएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिषचन्द्र शर्माले भनाई राखेका थिए । बाल अधिकार संरक्षणका लागि जारी गरिएका कानुनहरुलाई कार्यान्वयन गर्न असहजता पैदा भईरहेको सन्दर्भमा आयोजित उक्त तालिमले कानुन कार्यान्वयन गर्न मद्दत मिल्ने कार्यक्रमका बिशेष अतिथि समेत रहेका निमित्त प्रजिअ शर्माले बताएका थिए ।
तालिमको पहिलो दिन सहभागीहरुलाई बाल सम्बेदनशिल पत्रकारिता भनेको के हो ?, बाल सम्बेदनशिल पत्रकारिताको महत्व, बाल अधिकार संरक्षणमा पत्रकारको भुमिका र बाल सम्बेदनशिल पत्रकारिताका मुख्य सिद्धान्तहरुका बिषयमा सहजीकरण गरिएको थियो । २० बर्ष लामो पत्रकारिताको अनुभव हासिल गरिसकेकी पत्रकार कल्पना शर्माले उक्त तालिमको सहजीकरण गरेकी थिईन । संघीय राजधानी काठमाडौंलाई केन्द्र बनाएर पत्रकारिता गरिरहेकी तालिमकी सहजकर्ता शर्माले पहिलो दिन बाल सम्बेदनशिल पत्रकारितामा पत्रकारहरुले गर्न हुने र गर्न नहुने बिषयमा सहभागीहरुसंग अन्तरक्रियात्मक तरिकाले सहजीकरण गरेकी थिईन् ।
दिउसो १२ बजेदेखि ५ बजेसम्म चलेको पहिलो दिनको तालिममा सहजकर्ता शर्मालाई बीच–बीचमा नेपाल पत्रकार महासंघ जाजरकोट अध्यक्ष बाल कुमार शर्माले सघाएका थिए । तीन दिनसम्म संचालन हुने उक्त तालिमको पहिलो दिनको अन्तिममा सहभागीहरुलाई ५ वटा समुहमा बाल सम्बेदनशिल पत्रकारिताका मुख्य सिद्धान्तहरु र बाल सम्बेदनशिल पत्रकारिताको महत्वका विषयमा समुह कार्य गराई प्रस्तुतिकरण गर्न लगाईएको थियो । उक्त समुह कार्यले जाजरकोट सापेक्षिक बाल सम्बेदनशिल पत्रकारिताका सिद्धान्त र महत्वलाई मौलिक तरिकाले बुझ्न पाईएको बताउदै सहजकर्ता शर्माले खुशी व्यक्त गरेकी थिईन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा जाजरकोटको समन्वयमा उक्त तालिम पहाडी क्षेत्र विकास अभियान, जाजरकोटले संचालन गरेको छ भने, आर्थिक सहयोग सेभ द चिल्ड्रेनले गरेको छ । ३० जना भन्दा बढि पत्रकारहरु सहभागी रहेको उक्त तालिमको उद्घाटन सत्रमा पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रण बहादुर कार्की पनि सहभागी भएका थिए । तालिमको सम्पूर्ण व्यवस्थापन पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको मिल अधिकृत करिस्मा जिसीले गरेकी छन् ।
पहाडी क्षेत्र विकास अभियान र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा–२, अबसर, पहुँच लगाएतका परियोजनाहरु विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका परियोजना हुन् । उक्त तालिमबाट बाल अधिकार संरक्षण तथा प्रवद्र्धन गर्न पत्रकारहरु महत्वपूर्ण भुमिका रहने तालिम आयोजक संस्था पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिप जंग शाहले विश्वास व्यक्त गरेका छन् ।