आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आर्थिक क्रान्तिले समाजवादको आधार निर्माण गर्छ :– नगर प्रमुख रावल

लोकेन्द्र विक्रम शाही प्रकाशित : २०७८/४/३१ गते
जाजरकोट

आर्थिक विकासले समाजवादको आधार निर्माण गर्ने नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नलगाड नगर कमिटीले सनिबार सिर्केमा आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नगर प्रमुख रावलले यस्तो बताएका हुन् ।

हजारौं शहिदहरुको बलिदान र लाखौं कार्यकर्ताहरुको त्याग, तपस्याले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउदै माओवादी केन्द्रको कर्णाली प्रदेश समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रावलले नेपालमा अब गरिने आर्थिक क्रान्तिले समाजवादी व्यवस्थाको आधार निर्माण गर्ने ठोकुवा गरेका थिए । सिर्के जनयुद्ध कालको मोडेल जिल्लाको राजधानी भएको बताउदै प्रमुख रावलले जनयुद्ध कालमा मोडेल जिल्लाको सेक्रेटरी र जाजरकोट जिल्लाको जनसरकार प्रमुख भएर शिक्षा, स्वास्थ्य, सैन्य प्रशिक्षण तथा तालिम, राजनैतिक तथा बैचारिक प्रशिक्षण संचालन गर्नुको साथै संगठन निर्माण र परिचालन गरेर जनयुद्धका मोडेलहरु प्रस्तुत गर्न सफल भएको बताए ।

सयौ बर्ष पुरानो व्यबस्थाले जनताको सेवा गर्न नसकेको बताउदै प्रमुख रावलले १० औं, २० औं बर्षसम्म सत्ता संचालनको बागडोर समालेका पार्टीका नेताहरुले विकास र परिवर्तनको मोडेल दिन नसकेको जिक्किर गरेका थिए । नेपालमा विकास र परिवर्तनको मोडेल विगत १० बर्षे जनयुद्धले मात्र दिएको बताउदै प्रमुख रावलले २०२२ सालमा नेपालगञ्जबाट आफैले नुन बोकेको स्मरण गरे । नेपालमा जनयुद्धले ल्याएको जागरणले नै यतिवेला जनताले घर नजिकै आधारभुत स्वास्थ्य तथा परामर्श सेवा, शिक्षा, सडक, विद्युत, खानेपानी, खाद्ये डिपोहरु स्थापना भएको नगर प्रमुख रावलले बताएका थिए ।

यतिवेला जनताको घर नजिकमा नगर सरकार रहेको बताउदै नगर प्रमुख रावलले जनताको अबस्थामा परिवर्तन ल्याउनका लागि नलगाड नगरपालिकाले प्रत्येक वडामा नमुना बस्ती विकास कार्यक्रमलाई अगाडी सारेको बताए । नमुना बस्तीमा पूर्वाधार विकासमा जोड दिनुको साथै सामाजिक विकासका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइको क्षेत्रमा विकास गर्न खोजेको प्रमुख रावलले बताए । त्यसैगरी आर्थिक विकासका क्षेत्रमा नमुना कृषि समुह, फर्म र सहकारी, नमुना पशु पालन समुह, फर्म र सहकारीका माध्यामबाट नमुना बस्तीमा आर्थिक परिवर्तन गर्ने लक्ष्य रहेको प्रमुख रावलले बताएका थिए । साना तथा मझौला उद्योगहरुको विकासलाई नमुना बस्तीबाट सुरुवात गरिने प्रमुख रावलले भनाई राखेका थिए ।

नलगाड नगरपालिकाको खानटाकुरालाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिकाले शहिद पार्क निर्माणको लागि ठेक्का प्रक्रियालाई अगाडी बढाई सकेको बताए । खानटाकुरामा शहिद पार्क निर्माणको काम तत्कालै अगाडी बढ्ने प्रमुख रावलले विश्वास दिलाएका थिए ।

उक्त वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका ७० बर्षका कालीबहादुर वली र केशब बहादुर शाहीलाई भब्य स्वागत गरिएको थियो ।

 

लबिसा, एरारी, भण्डारीगाउँ, मुलीपोखरा, खानटाकुरा, सिर्के लगाएतका स्थानबाट कार्यकर्ता सहभागी भएको वडा स्तरीय कार्यकर्ता भेलालाई कर्णाली परदेश कमिटी सदस्य डम्बरबहादुर रावत, नगर कमिटी अध्यक्ष गणेश सिंह, नगर कमिटी सचिब अमर बहादुर वली, जिल्ला सल्लाहकार जनक बहादुर शाही, चन्द्र बहादुर सिंह, निर्वाचन क्षेत्रीय कमिटी सदस्य कुमार शाही,  वडा कमिटी इन्चार्ज पृथ्वी बहादुर शाहीले सम्बोधन गरेका थिए । कार्यक्रममा शहिद परिवारका तर्फबाट भनाई राख्दै शहिद छलाङ्गका बुवा जनक बहादुर शाही र ज्वालाका भाई लग बहादुर खड्काले पार्टी संगठन निर्माणको कामलाई विद्युतिय गतिमा अगाडी बढाउन सुझाव दिएका थिए ।

याेगेन्द्र शाहीकाे अध्यक्षता सम्पन्न भएको वडास्तरीय कार्यकर्ता भेलाको संचालन जनक खत्रीले गरेका थिए । नेकपा माओवादी केन्द्र नलगाड नगर कमिटीले यतिवेला नगरपालिकाका १३ वटै वडामा कार्यकर्ता भेलाको आयोजना गरेर राजनैतिक पशिक्षण दिनुका साथै पार्टी संगठन र जनवर्गिय संगठन निर्माणको काममा तिव्रता दिएको छ ।

प्रतिकृया दिनुहोस्