जाजरकोट
कुशे गाउँपालिकाका स्थानीय नागरिकहरुले प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलको ध्यानाकर्षण गराएका छन् । बर्षादको समयमा आएको पहिरोले अबरुद्ध भएको सडक संचालनको बिषयमा कुशेका स्थानीयले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
दुइ दर्जन भन्दा बढि कुशेका नागरिकहरु बिहिबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ पौडेललाइ ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रमख जिल्ला अधिकारी पौडेललाइ बुझाएको ध्यानाकर्षण पत्रको बोधार्थमा सडक डिभिजन कार्यालय रुकुमपश्चि चौरजहारी, भेरी नगरपालिका र कुशे गाउँपालिकालाइ राखेको कुशे गाउँपालिका–९ का स्थानीय नविन कुमार सिंहले जानकारी दिएका छन् ।
लुम्विनी–रारा पर्यटन राजमार्ग अन्तरगतको खलंगा, पाँचकाटिया, ढिमे, पैंक, व्यालीढुङ्गा हुदै जुम्ला जोड्ने सडक अबरुद्ध भएको लामो समय हुदापनि संचालनमा आउन नसकेको ध्यानाकर्षण पत्रका कुशेका नागरिकले उल्लेख गरेका छन् । रणनैतिक महत्वको राजमार्ग अन्तरगतको अबरुद्ध सडक तत्कालै संचालनमा ल्याउन सडक डिभिजन कार्यालयको जिम्मेवारी भएको प्रजिअ पौडेललाइ बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ–‘कुशे र बारेकोट गाउँपालिकाका नागरिकहरु आवत–जावत गर्ने सडक दशै तिहारको समय नजिकदा पनि संचालनमा आउन नसकन्छु दुखद पक्ष हो ।’
पठनपाठनको लागि जिल्ला भन्दा बाहिर रहेका कुशे र बारेकोटका विद्यार्थीहरुलाइ सडक अबरुद्धका कारण दशै तिहारमा घर पुग्न कठिनाइ भएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । सडक अबरुद्धकै कारण दशै तिहारको टीका थाप्न कुशे र बारेकोटमा सास्ती खेप्नुपर्ने अबस्था रहेको ध्यानाकर्षण पत्रमा चर्चा गरिएको छ ।
कुशेका नागरिकहरुले बुझाएको ध्यानकर्षण पत्रलाइ बुझ्दै प्रजिअ पौडेलले सडक डिभिजन कार्यालय, भेरी नगरपालिका र कुशे गाउँपालिकासंग तत्कालै समन्वय गरेर उक्त सडक संचालनका ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । अबरुद्ध भएको खलंगा, पाँचकाटिया, ढिमे, पैंक, व्यालीढुङ्गा हुदै जुम्ला जोड्ने सडक मात्र नभएर जिल्लाका सबै अबरुद्ध सडकहरु दशै तिहार भन्दा अगाडीनै संचालनमा ल्याउन सम्बन्धित पालिकासंग समन्वय गर्ने प्रजिअ पौडेलले बताएका छन् ।