दिप बहादुर घर्ती
जाजरकोट
पिचको मुलभुत काम सकिए लगतै पाँचकाटिया–पाटुखोला सडक सामाजिक संजालको खजना बन्यो । सडक पिच कामको जिम्मा लिएको निर्माण कम्पनीले गुणस्तरीय काम गर्न नसकेको भन्ने भावमा पाँचकाटिया–पाटुखोला सडकको भिडियो फेसवुक, टिकटक र युटुवमा भाइरल भयो ।
सामाजिक संजालमा भाइरल भएको भिडियोले जिल्लाका उच्च स्तरीय टोलीको ध्यान तान्न सफल भयो । भिडियो भाइरल भए लगतै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीको नेतृत्वमा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्राती, जिल्ला समन्वय समितिका सदस्य खडक बिसी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र केही पत्रकारको टोली अनुगमनका लागि सडक निर्माण तथा पिच स्थलमै पुगेको थियो । इन्जिनियर प्रज्वल सुनार लगाएतका प्राविधिक टोलीलाइ साथमा लिएर सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख डि. तेजश्वी शर्मा पनि उच्च स्तरीय अनुगन टोलीसंगै सडक पिच स्थलमै पुगेका थिए ।
१० किलोमिटर लम्बाइ रहेको पाँचकाटिया–पाटुखोला सडक अस्पाल्ट, प्रिमिक्स र ओटासिल नभएर डिबिएसटी पिच गरिएको सडक डिभिजन प्रमुख शर्माले उच्च स्तरीय अनुगमन टोलीलाइ सडक पिच स्थलमै जानकारी गराएका थिए । लुम्बिनी–रारा पर्यटन राजमार्ग अन्तरगत परेतापनि उक्त सडकमा दैनिक ४०३ भन्दा कम ट्राफिक लोड पर्ने भएको हुदा डिबिएसटी पिचको डिजाइन भएको डिभिजन प्रमुख शर्माले भनाइ राखेका थिए । पाँचकाटिया–पाटुखोला सडक इन्टर लेनको भएको जानकारी दिदै डिभिजन प्रमुख शर्माले इन्टर लेन सडकमा साढे ५ मिटर चौढाइ मात्र डिबिएसटी पिच गरिने बताएका थिए । बिटुमिन डबल कोर्ड प्रयोग भएको डिबिएसटी पिचमा गाडीहरु गुड्दै गएपछि सडकमा प्रयोग भएको क्रसरबाट निकालिएका गिट्टीहरु दब्दै जाने र बिटुमिन देखिदै जाने डिभिजन प्रमुख शर्माले बताएका थिए ।
डिभिजन प्रमुख शर्माको ब्रिफिङ्ग र प्राविधिकहरुको नाप–जाँचपछि जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्रीको नेतृत्वमा स्थलगत अनुगमनमा पुगेको उच्च स्तरीय अनुगमन टोलीले निर्माण कम्पनीले गरेको कामको समर्थन गरेर फर्किएको थियो । उच्च स्तरीय टोलीले गरेको अनुगमनले जनगुनासो मेटाउन सकेन । पाँचकाटिया–पाटुखोला सडक पिचको विषयले सामाजिक संजाललाइ झनै ततायो । सामाजिक संजालमा जनगुनासो झनै बढ्न थाल्यो । उच्च स्तरीय अनुगमन टोलीनै मासु, भात र सडक डिभिजन कार्यालयकोे भत्तामा सिमित रहेको भन्ने भावका टिक्का टिप्पनीहरु सामाजिक संजालमा देखिन थालेका थिए ।
उच्च स्तरीय अनुगमन टोली फर्किए पश्चात केही पत्रकारको टोली पाँचकाटिया–पाटुखोला सडक पिच स्थलमा पुगेको थियो । सामाजिक संजालमा आएका जनगुनासालाइ मेटाउन पत्रकारले खिचेको भिडियोमा सडकको बिच भागमा रहेको बिटुमिन सहित गिट्टीको पत्र सजिलै हातले उकाएको देख्न सकिन्छ । पत्रकारले खिचेको भिडियो सार्वजनिक भएपछि पाँचकाटिया–पाटुखोला सडक पिचको काम गुणस्तर हिननै भएको भन्नेहरुको संख्या झनै बढेर गयो ।
समुन्द्री सहतबाट १ हजार ८०० सयदेखि २ हजार मिटर उचाइ रहेको पाँचकाटिया–पाटुखोला सडकमा हुने तापक्रमको ख्यालनै नगरी डिबिएसटी पिचको डिजाइन गरिएको पाँचकाटियाका स्थानीय गणेश बहादुर खत्रीले भनाइ राखेका थिए । डिबिएसटी पिचको लागि तापक्रम महत्वपूर्ण पक्ष भएको बताउदै दम्दाला निबासी कमान थापाले न्युनतम १५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रममा डिबिएसटी पिच उपयुक्त हुने भनाइ राखेका थिए । १ हजार ८०० देखि २ हजार मिटर उचाइको औषत तापक्रम १५ डिग्री सेल्सियस भन्दा कम हुने भएको हुदा डिबिएसटी पिच उपयुक्त नभएको थापाको कथन थियो । पाँचकाटिया–पाटुखोला सडक पिचमा प्रयोग गरिएको गिट्टी क्रसरबाट निकालिएको भएता पनि कम हार्नेस भएको गिट्टी प्रयोग गरिएको हुदा सडक गुणस्तर हिन भएको स्थानीय गणेश खत्रीको भनाइ रहेको छ ।
नेपालमा हालसम्म चार प्रकारले सडक पिच हुने गरेको जानकारी दिदै सडक डिभिजन चौरजहारीमा कार्यरत इन्जिनियर प्रज्वल सुनारले अस्पाल्ट पिच सबै भन्दा राम्रो र गुण स्तरीय पिच भएको बताए । अस्पाल्ट पिचको थिग्नेस ४ देखि ५ सेन्टी मिटर हुने ईन्जिनियर सुनारले जानकारी दिए । दोस्रो नम्बरमा प्रिमिक्स पिच भएको जानकारी दिदै ईन्जिनियर सुनारले प्रिमिक्स पिचमा गिट्टी भुटेर प्रयोग गरिने बताए । तेस्रो नम्बरको डिबिएसटी पिच कम लागतमा धेरै पिच गर्न सकिने जानकारी दिदै ईन्जिनियर सुनारले सडकको बेसलाइ राम्रोसंग सफा गरेर विटुमेन छर्किने त्यसमा २० एमएमको गिट्टी राखेर रोलरले कम्प्याक्सन गरेरपछि फेरी विटुमेन छर्किर १० एमएमको गिट्टी राखेर रोलरले कम्प्याक्सन गरिने बताए । चौथो नम्बरको ओटासिल पिच डिबिएसटी पिचभन्दा कम लागतमा निर्माण गर्न सकिने बताउदै ईन्जिनियर सुनारले सबै भन्दा कमजोर पिचनै ओटासिल भएको बताए ।
पाँचकाटिया–पाटुखोला सडक डिबिएसटी पिचको डिजाइन स्टामेट सडक डिभिजन कार्यालयले नभएर सडक विभागले गरेको ईन्जिनियर सुनारले जानकारी दिए । डिबिएसटी पिचको डिजाइन भुगोल र स्थानको तापक्रम अनुसार मात्र नभएर ट्राफिक लोड र बजेटका आधारमा गरिएको उनले बताए । उक्त निर्माण कम्पनीले सडकमा प्रयोग गरेको गिट्टीको हार्नेस ल्याप टेष्ट गरिएको बताउदै ईन्जिनिय सुनारले हार्नेसमा कुनै समस्या नभएको जिक्किर गरे ।
ईन्जिनियर सुनारले दिएको जानकारी अनुसार पाँचकाटिया–पाटुखोला सडक पिचको जिम्मा लिएको ओयशिस ईन्जिनियर एण्ड विल्डर्स प्रालि काठमाण्डौंले सडक डिभिजन कार्यालय चौरजहारीसंग २०७९ माघ २८ गते सम्झौता गरेको थियो । भ्याट सहित ३४ करोड लागतमा काम सम्पन्न गर्ने जिम्मा लिएको निर्माण कम्पनीले काम गरिसक्नुपर्ने मिति २०८२ साउन २७ गतेसम्म रहेको ईन्जिनियर सुनारले बताए ।
सडक डिभिजन कार्यालयबाट ९० प्रतिशत रकम भुक्तानी लिइ सकेको निर्माण कम्पनीले काम सम्पन्न गरेको १३ महिनापछि सडकको मर्मत सम्भार गरेर सडक डिभिजनलाइ हस्तान्तरण गर्ने ईन्जिनिय सुनारको भनाइ रहेको छ ।