–नविन घर्ती मगर
सुन्दरता + चेतना = सौन्दर्यचेत ।
अर्थात, सुन्दर भनेको यस्तो हो भनेर सोच्ने हाम्रो चेतना ।
ल तपाई एकछिन आँखा बन्द गर्नुस ।
‘सुन्दर महिला’ सुन्ने बित्तिक्कै तपाईको दिमागमा कस्तो चित्र आउँछ ?
‘सुन्दर पुरुष’ भन्ने बित्तिक्कै, तपाइको मानसपटलमा कस्तो खयाल आउँछ ?
मैले सोधेको प्रश्न भुईमा झर्न नपाउदै,
‘राम्री महिला’ भनेकी, यस्तो यस्तो गुण, सिप, लक्षण, चरित्र, निपुगणता भएकी …
‘राम्रो पुरुष’ भनेको त्यस्तो त्यस्तो दोष, दाग, खराबी, दुर्गुण, कमि-कमजोरी नभएको …
तपाईको दिमागमा एउटा रेडिमेड जबाफ छ । मुखमा त्यहि जबाफ आइसक्यो ।
अझ भनु, सुन्दरता भनेको यही मात्रै हो भनेर बुझ्ने गरेको एउटा बुझाई मुखाग्र छ हामी सबैलाई ।
हाम्रा बा-आमा, छर छिमेकी, हाम्रा साथीभाई, आफन्तजन । हामीले पढ्ने गरेका किताब, हामीले सुन्ने गरेको रेडियो, हामीले हेर्ने गरेको टि.भी, हामीले अध्ययन गर्ने गरेका पत्र-पत्रिकाहरु, सबै-सबैले नजानिदो गरि, कलिलो उमेरदेखि नै थुपारीदिदा रहेछन यस्ता बकम्फुसे कुराहरु हाम्रो कलिलो मस्तिष्कमा ।
तपाइलाई फुर्सद हुँदा, कहिले बिचार गर्नु भएको छ ?
साँच्ची, हामीहरुलाई सुन्दरता भनेको ‘यस्तो’ किन लाग्छ ?
हामीहरु अधिकाश मानिसहरु किन यसरी सोच्छौ होला ?
अफ्रिकाका काला चिल्ला प्रजातिका मानिसहरु, जसको कपाल घुम्रिएको, कर्के हुन्छ । अनुहारको बनोट चौडा नाक, मोटा ओठ, उच्च गालामा हड्डी हुन्छ । उनीहरको शारीरिक बनोट प्राय: बलिष्ठ नै हुन्छ ।
ठिक त्यसैगरि,
युरोप तिरका हिउँ जस्तै गोरा अग्ला मानिसहरु, जसको कपाल सिल्की खैरो-सुनौलो रंगको हुन्छ । आँखा को रंग निला वा हरिया हुन्छन । उनीहरुको अनुहारमा; लामो नाक, पातलो ओठ, ठिक्कको गाला हुन्छ ।
अनि,
मंगोल जातिका मानिसहरुको रुप रंगको बारेमा भन्नु पर्दा, खैरो छाला, बाक्लो कालो कपाल, चिम्सा आँखा, थेप्चो नाक, मध्यम खाले ओठ, औसत कद, दुब्लो देखि मध्यम खाले शारीरिक बनावट हुन्छ ।
तपाईलाई एउटा रमाइलो कुरा भनु ?
ती हिउँ जस्तै गोरा अमेरिकन-युरोपियनहरु अनि काला छाला भएका चिल्ला प्रजातिका अफ्रिकन मुलका मानिसहरु, हामी अहिले बाँची रहेको यो दक्षिण एशियाका गॅहुगोरा मानिसहरुको नजरमा सुन्दर कहलीदैनन् नि ! जसरि, हामीहरु ती कुनैपनि ठाउँमा, त्यहाँका स्थानिय मानिसहरुका लागि सुन्दर कहलिदैनौ । न तिनीहरुको नजरमा हामी सुन्दर छौ, न हाम्रो नजरमा तिनीहरु सुन्दर ठरिन्छन ।
यस्तो ‘किन’ भएको होला ?
यस्तो ‘कसरी’ भएको होला ?
यो ‘सौन्दर्यचेत’ भन्ने जिनिश मानव समाजले परा-पूर्वकाल देखि नै मानिसहरुमा फुट ल्याउनको लागि सिर्जित गरिदिएको एउटा ठुलो ‘गलत बुझाई’ हो । आज हामी बाँचीरहेको यो मोर्डन भंनिने २१ औ शताब्दीमा त झन्, ‘यो कुरा’ अझै पनि भईरहनु हामी सबैका लागि लज्जाबोधको बिषय हो । आफुलाई सर्बश्रेष्ठ भन्ने मान्छे जातिको लागि त झन् ठुलो ‘कलंक’ नै हो ।
सौन्दर्य हाम्रो चारैतिर छ, हुन्छ, हुने नै भयो । तर यसको परिभाषा प्रायः साँघुरो सोच र व्यापारिक स्वार्थमा सीमित देखिन्छ । सञ्चार माध्यम र संस्कृतिहरूमा केही विशेष रूपरङ्गमा मात्रै प्रकाश पारिन्छ, जबकि अन्यलाई अँध्यारोमा राखिन्छ। यी सौन्दर्यका मापदण्डहरूले अरूलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र होइन, आफूलाई बुझ्ने तरिकामा समेत प्रभावित गर्छन्। यसले को आकर्षक, को सम्माननीय वा को देखिन योग्य हो भन्ने बारेमा मौन तर प्रभावशाली नियमहरू बनाउँछ। सौन्दर्य प्रेरणाको स्रोत त हुन सक्छ, तर जब यसले सबैमा एउटै ढाँचा थोपार्छ, तब त्यो सौन्दर्य होइन, दमन बन्छ।
‘संसारका हरेक प्रश्नहरुको जबाफ भएको’ भनिएको भागवत गीतामा, भगवान श्रीकृष्ण निलो रंगको छाला भएका महापुरुष थिए भनेर भनिन्छ/ देखाइन्छ/ पढाइन्छ । के भारत बर्षमा जन्मिएका उनको यो अलौकिक क्षमता थियो ? अह, थिएँन । उनि कालो छाला लिएर जन्मिएका थिए । र, हाम्रो सौन्दर्यचेतले उनको त्यो दुर्गुण मेट्न, कालोलाई गोरो भन्न त सकेन तर ढाकछोप गर्दै ‘निलो रंग’ सम्म बनाई पुर्यायो ।
हो, यसरी हुन्छ हाम्रो ‘ब्रेन-वाश’ ।
तपाइलाई सुन्दा पत्यार नलाग्ला, तर यी र यस्तै कारणले गर्दा ‘सौन्दर्य-व्यापार’ आज बिश्वकै चौथो ठुलो बजार भएर उदाएको छ । खानपिन । टेक्नोलोजी । सफ्टवेर । अनि यस्तै सुन्दरता सम्बन्धि कुराहरु संसारमा सबैभन्दा धेरै उत्पादन अनि खपत हुने भएका छन् । परिणामत: मानिसहरु सुन्दर बन्न, देखिन, कहलिन यत्तिका धेरै मेहेनत गर्ने गर्छन । पैसाको खोलो बगाउछन । निरन्तर लागि परि रहन्छन ।
केही महिना अगाडी, कामकै शिलशिलामा, दैनिक ज्याला मजदुरी गर्ने एकजना बहिनी भेटेको थिए । उँहाको कमाई दैनिक २०० रुपैया हुँदो रहेछ । बिदाको दिन अनि ठेकेदारको बदमासीका कारण उँहाको
हप्ताको कमाई त्यहि ६०० देखि ८०० सम्म हुँदो रहेछ । यस्तो अवस्थाको मान्छेले समेत २५० रुपैया पर्ने ‘फेर एण्ड लब्ली ’ किनेर, हरेक हप्ता लगाउनु हुँदो रहेछ । किन लगाउनु परेको ? सोधेको थिए । जबाफमा अनुहारको छाला सेतो बनाउन भन्ने पाएको थिए ।
हामी सबै-सबै जना त्यहि बैनी जस्तै त हौ/ छौ । आफुमा हजार दुर्गुणहरु खोजि खोजि निकाल्छौ । आफ्ना भए नभएका कमि कमजोरीहरु फेला पार्छौ । आफैलाई आफु पूर्ण छैन भनेर गलत बिश्वास दिलाउछौ । बुझ्दैनौ, घाममा काम गर्दा छाला डढेर कालो हुन्छ भन्ने कुरा । सुन्न चाहदैनौ, फजुल कुरामा पैसा खेर फाल्नु साटो जम्मा गरेर राख्नुपर्छ भन्ने कुरा । जान्न मन लाग्दैन, ‘किन सुन्दर देखिन परेको ?’ भन्ने कुरा ।
सौन्दर्यका मापदण्डहरू आफैं बनेका होइनन् , यी सत्ताले बनाएका हुन् । औपनिवेशिक इतिहास, वर्गीय भेदभाव र मिडिया उद्योगहरूले के सुन्दर हो भन्ने तय गर्छन् । गोरो छाला, पातलो शरीर, युरोपियन अनुहार र जवान देखिनेहरूलाई नै प्राथमिकता दिइन्छ । यस्ता मापदण्डहरू विज्ञापन, फेसन, मनोरञ्जन अनि सामाजिक संजाल मार्फत संसारभर फैलिन्छन् । सौन्दर्यको यस्तो सोचले उद्योगहरूलाई लाभ पुर्याउछ, जसले सौन्दर्यलाई बेच्ने चीज बनाएका छन् । हामीले ‘सुन्दरता’ भनेर बुझ्ने कुरा धेरैजसो नाफाका लागि बनाइएको, राम्रोसँग सजाइएको भ्रम मात्रै हो ।
मान्छेहरु भन्छन —
‘किलियोपेट्रा’ नाउ गरेकी एकजना अचम्मै राम्री महारानी थिईन । यो, उही जमानाको कुरा । ग्रिक साम्राज्य हुँदा, एकलौटी रुपमा इजिप्ट राज्य संचालन गर्ने गरेको बेला । इतिहासमा लेखिएको छ, उनको सुन्दरताको आगाडी संसार भरका महान राजा महाराजाहरुले घुँडा टेकेका थिए। भन्नेहरु त यस्तो सम्म भन्न भ्याउछन्, “किलियोपेट्राको नाक अलिकति मात्रै बाङ्गो भएको भए, आज संसारको नक्सा अर्कै हुन्थ्यो । आजका देशहरुको रुप रेखा नै फरक हुन्थ्यो ।”
ल हामी ठण्डा दिमागले सोचौ न त एकछिन —
किलियोपेट्रा पनि एकजना महिला । अझ मानिस भनु न बुझ्ने गरि । एकजना सामान्य मानिस । हामी अधिकाश झैँ दुईओटा आँखा । उस्तै हाम्रो जस्तै नाक । हाम्रा जस्तै एक जोडी कान । हात खुट्टा अनि बग्रेल्ती अंगको कुरा पनि त्यही । हाम्रो जस्तै शरीर । हाम्रो जस्तै धेरै धेरै धेरै कुराहरु मिल्ने । त्यसो भए, त्यतिका धेरै राजाहरु किन मरिहत्ते गरेर लागि परे होलान ? उनलाई पाउन जोरजुलुम लगाए होलान ?
सोच्नुस त —
- गाई किन्दा तपाइँ, ‘दुध दिने गाई राम्रो’ भनेर किन्नुहुन्छ कि, सिंग-पुच्छर राम्रो भएको हेरेर ?
- फल लाग्ने अनि फूल फूल्ने बोट-बिरुवाहरु मनपर्छ तपाईलाई कि हरिया परिया झारहरु ?
- जिन्दगी बदल्ने अक्षरहरु मात्रै भएका किताबहरु राम्रा हुन् कि चित्रहरु मात्रै भएकाहरु ?
यस्ता, बग्रेल्ती उदाहरणहरु दिन सकिन्छ । हाम्रा दैनिक दिनहरुमा घट्ने घटना, परिघटना । हामीले हरेक सेकेन्ड, मिनेट, घण्टामा लिने निर्णयहरु । हामीलाई मन पर्ने कुराहरु । हामीलाई मन नै नलाग्ने चिजहरु । यी सबै-सबैको छनोट के ले गर्दा हुन्छ ? के ले हामीलाई डोर्याई रहेको हुन्छ ?
हामीहरु अरु कुनैपनि कुरामा ‘सुन्दर’ भनेर त्यसको बाहिरी देखावट हेर्दैनौ/ खोज्दैनौ । किनकि, हामीलाई थाहा छ, सुन्दर देखिनु नदेखिनुले त्यो कुराबाट हामीले लिने फाईदाको कुनै जोडा मिल्दैन। हामीलाई चाहिएको चिज सुन्दर लाग्नु अनि नलाग्नुसँग त्यसको तादम्यता मिल्दैन । तब फेरी, किन हामी आफुहरुमा चै, ‘सौन्दर्य’ भनेको बाहिरि कुरा; रुप-रंग, जिउडाल, शाररिक बनोट भनेर बुझ्ने गर्छौ त ?
यो त कतैबाट पनि नमिल्ने कुरा भयो नि त । होइन र ?
यो ‘सौदर्यचेत’ भन्ने कुरो, बर्षौ बर्ष लगाएर, हामीलाई थाहा नै नदिईकन, हाम्रो दिमागमा खादीखादी ठोसिएको बिचार हो । ताकि, हामी अधिकांश मान्छेलाई “हामी अपूर्ण छौ” भन्ने भ्रम भईरहोस । “हामीमा अनेकन कमजोरीहरु छन्” भन्ने लागी रहोस । अनि, यी बाठा पुँजीपति-उद्योगपति, साहुजीहरु हाम्रा यी सोचाईहरुको फाईदा लगेर, हामीमा अनेकन कुराहरुको व्यापार गर्न सकुन । आफ्ना सामानहरु बेच्न सकुन । बढीभन्दा बढी नाफा कमाउन सकुन ।
यति पढिसकेपछी, हामीले आजसम्म भन्ने गरेको सुन्दरता ‘बाहिरि आवरण मात्रै हो ’ भनेर लेखिरहन परेन मैले । नभए; हिजोसम्म ‘रोल-मोडल’ भएर मनमा बसिरहेको कुनै मानिसको आफुलाई मननपर्ने बानी थाहा पाउने बित्तिकै उ मन पर्न छोड्छ । कुनैबेला आफ्नो सबथोक संसार लाग्ने आफ्नो प्रेमी वा प्रेमिका धोका दिएर जाने बित्तिक्कै घृणा लाग्न थाल्छ । आखिर, सुन्दरता भनेर बुझाईएको कुरा; शरीर, अनुहार, मान्छे केहीकेही त फेरिएको हुदैन, सबैसबै पहिले जस्तै हुन्छ । तर, उनीहरु मन पर्दैनन् । सुन्दर लाग्दैन ।
गत ३० वर्षमा विश्वभर आत्महत्या दर डरलाग्दो रूपमा बढेको छ । नेपालमा पनि सन् २००० यता आत्महत्या दरमा १७ % वृद्धि भएको छ । पोहोर साल दैनिक १९ जना, त्यो अघिल्लो साल दैनिक ११ जना, अनि यसैगरि अझै धेरै बढ्ने अनुमान छ । यी तथ्याङ्कहरू भित्र सबैभन्दा झस्काउने कुरा त के छ भने, किशोर-किशोरीहरूमा आत्महत्याको दर तीव्र रूपमा बढेको छ । त्यो पनि यस्तो उमेर समूहमा, जो परम्परागत रूपमा जीवनप्रति सबैभन्दा आशावादी मानिन्थे । सन् २००७ देखि २०१८ को बीचमा, १० देखि २४ वर्ष उमेर समूहमा आत्महत्याको दर लगभग ६०% ले बढेको छ । धेरै अनुसन्धानकर्ताहरूको धारणा छ कि सामाजिक सञ्जाल (सोसल मिडिया) यो संकटको एक प्रमुख कारण हो ।
सोशल मिडियाले सुन्दरताको एकदमै अवास्तविक मापदण्डहरू बनाइदिएको हुन्छ, जहाँ फिल्टर, फोटो सम्पादन र एल्गोरिदमको कारणले एकदमै “परफेक्ट” देखिने अनुहार र शरीरलाई सामान्य जस्तै देखाइन्छ । यस्तो सामग्री लगातार हेर्दा धेरै युवाहरूमा शरीरप्रति असन्तुष्टि, आत्मविश्वासको कमी, अनि खानपान सम्बन्धी समस्या जस्ता मानसिक स्वास्थ्य समस्या देखिन्छन्। इन्स्टाग्राम र टिकटकजस्ता प्लेटफर्महरूले आफूलाई अरूसँग तुलना गर्ने र ‘लाइक’ वा कमेन्टको भरमा आत्ममूल्य तोक्ने बानी बढाएका हुन्छन । अझ गम्भीर कुरा त के भने, सामाजिक सञ्जालले धेरै कम उमेरमै युवाहरूलाई ठूलो भएर जस्तो देखिनुपर्छ भन्ने दवाव दिने गरेको छ, जसले गर्दा बालबालिकासमेत आफ्नो शरीरलाई एक किसिमले यौनिक नजरले हेर्न थाल्छन् । आफुलाई सुन्दर छैन भनेर बुझ्न लागेका हुन्छन ।
त्यसोभए ‘सुन्दरता’ हो के त ?
सुन्दरता ‘त्यो चिज’ हो जो विचारसँग जोडिएको हुन्छ । सुन्दर मानिस त्यो हो; जसले आफु बाँचि रहेको आफ्नो समाज, आफ्नो बिगत-वर्तमान-भबिश्य, बुझेको हुन्छ । सुन्दर मानिस त्यो हो, जसले आफुमा भएका कमि-कमजोरी, भुलचुक स्वीकार्दै, पुरातण अबैज्ञानिक कुराहरु छोड्दै, आफ्ना बिचारहरु सच्याउदै, आफु सँगसंगै आफु वरपरका मानिसहरुको जीवन सुधार्न लागि परिरहेको हुन्छ । सुन्दर मानिस त्यो हो; जसले बुझेको हुन्छ, यो एकबारको जुनी भौतिक अनि क्षणिक सुखहरु छोडी, आफ्नो भन्दा सबल अनि सजिलो जीवन आफ्ना आउने पिढीहरुका लागि छोड्ने कामहरु गरिरहेको हुन्छ ।
र, सही मानेमा भन्ने हो भने —
सुन्दरता भनेको कुनै पनि व्यक्त्तिको गुण हो । उसको चारित्रिक विशेषता हो । उसको बानी अनि व्यवहार हो । उसले अरु मानिसहरुलाई पार्ने प्रवाभ हो । जो, समय संगसंगै बढाउँन सकिन्छ । अचेल त आफैले आफैलाई पढाउने सकिने जमाना हो । यस्तोमा, सामाजिक संजालमा भुल्नु साटो यस्तै जीवनउपयोगी कुराहरुमा आफुलाई अध्ययनशिल बनाउन सकिन्छ । उमेर नढल्कीदै, आफ्ना पुराना यस्तै बिचारहरु माझ्न सकिन्छ । आफुलाई सुन्दर बनाएर फलाउन-फुलाउन-फक्राउँन सकिन्छ ।
साँच्ची त, सोध्नै पो बिर्सेछु —
आफ्नै नजरमा आफु कत्तिको सुन्दर हुनुहुन्छ नि ?













