Hamro Sanchar

भेरी नगरपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

उत्कृष्ट तीन जनालाई सम्मान

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/६/६ गते
जाजरकोट

भेरी नगरपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । रेडिशन होटलको सभाहलमा मंगलबार देखि सुरु गरिएको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । उक्त बार्षिक प्रगति समिक्षा गोष्ठीमा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारी गरी तीन जनालाई सम्मान गरिएको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत विश्व स्वास्थ्य संगठनमा कार्यरत प्रदिप अधिकारी, युनिसेफमा कार्यरत प्रकाशचन्द्र जोशी र बुहँ क्षेत्रीय पोषण योजनामा कार्यरत मानबहादुर कुवँरको बिशेष उपस्थितिमा दुई दिनसम्म स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको नगर स्वास्थ्य शाखा संयोजक खिम पुनले जानकारी दिए । नगर उप–प्रमुख भावना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको बार्षिक प्रगति समिक्षा गोष्ठीमा नगरपालिका भित्र रहेका सबै स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा कार्यालय जाजरकोटको जनस्वास्थ्य शाखामा कार्यरत कर्मचारी र सेभ द चिल्ड्रेनका कर्मचारीहरु पनि सहभागी भएका थिए ।

स्वास्थ्य क्षेत्रका १५ वटा सुचकका आधारमा तीन जना उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीलाई दोसल्ला ओढाउनुको साथै कदर पत्र प्रदान गरेर सम्मान गरिएको स्वास्थ्य शाखा संयोजक पुनले जानकारी दिए । नगर स्वास्थ्य शाखाबाट यस बर्ष सम्मानित हुनेहरुमा पारामेडिक्सबाट कुदु स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट पवन बिष्ठ, रोमिङ्गबाट बाहुनथान स्वास्थ्य चौकीमा कार्यरत अनमी पशुपति पुनलाई सम्मान गरिएको छ । त्यसैगरी कर्मचारी तर्फ भुर पोखरा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी भक्ति प्रसाद शर्मालाई सम्मान गरिएको छ ।

दुई दिनसम्म संचालन भएको बार्षिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा आफ्नो भनाई राख्दै नगर स्वास्थ्य शाखा संयोजक पुनले नगरपालिकाका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कुमालेको संज्ञा दिएका थिए । स्वास्थ्यकर्मीहरु भनेको माटोको भाँडा बनाउने कुमाले भन्दा बढि सिपालु हुने बनाउदै संयोजक पुनले हरेक मानवलाई नयाँ जीवन दिदै आएका स्वास्थ्य संस्थाहरुलाई कस्तो बनाउने भन्ने कुरा तपाईहरुकै हातमा रहेको छ भनेका थिए । त्यसैगरी दुई दिनको समय लगाएर मसिनो गरि गरिएको बार्षिक प्रगति समिक्षा गोष्ठीले आगामी बर्षमा नगरको स्वास्थ्य क्षेत्रलाई सुधार गर्न मद्दत पुगेको नगर स्वास्थ्य शाखा सह–संयोजक निशा थापा केसीले भनाई राखेकी थिईन् । पहिलेको तुलनामा धेरै सुधार भएको भएता पनि अझै घरमै सुत्केरी हुनेको संख्यालाई घटाउन थप मेहेनत गर्नुपर्ने स्वास्थ्य सेवा कार्यालयको जनस्वास्थ्य शाखाको सुरक्षित शिशु तथा मातृत्व शाखाको फोकल पर्सन जया खड्काले भनाई राखेकी थिईन् ।

नगर स्वास्थ्य शाखाले गरेको सम्मानले आफुलाई निकै उत्साहित बनाएको बताउदै स्वास्थ्य सहायक पवन बिष्ठले बालबालिकाको बृद्धी अनुगमनलाई सुधार गर्न आफु लागि परेको बताए । बृद्धी अनुगमनलाई सुधार गर्न आफुले नयाँ फर्मेटको विकास गरेको जानकारी दिदै बिष्ठले आगामी बर्षमा बृद्धी अनुगमनको लक्ष्य हासिल गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बार्षिक प्रगति समिक्षा गोष्ठीको समापन गर्दै नगर उप–प्रमुख भावना भण्डारीले शाखाबाट सम्मानित हुने तीनै जनालाई बधाई दिदै अन्य सबै स्वास्थ्यकर्मीलाई सम्मानित हुनेगरि काम गर्न सुजाएकी थिईन् ।

प्रतिकृया दिनुहोस्