Hamro Sanchar

आँखा तथा कान सम्बन्धि महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/६/९ गते
जाजरकोट

भेरी नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा तथा कान सम्बन्धि अभिमुखिकरण गरिएको छ । नेपाल नेत्र ज्योती संघ, सुर्खेतद्धारा भेरी नगरपालिकामा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आँखा तथा कान सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

भेरी नगरपालिका–७ स्यालीबजारमा बुधबार आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा १३ जना महिला स्वास्थ्य स्वयमसेविका सहभागी भएको नेपाल नेत्र ज्योती संघद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको भेरी नगरपालिकामा कार्यरत सामुदायिक संयोजक बिपना रावलले जानकारी दिएकी छन् । सामुदायिक संयोजक रावलले दिएको जानकारी अनुसार बिहिबार भेनपा–४ गैरीखालीमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा १४ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु सहभागी भएका थिए । दुई ठाउँमा गरिएको अभिमुखिकरणबाट २७ जना महिला स्वास्थ्य स्वयमसेविका दिक्षित भएका छन् । आयोजित उक्त आँखा तथा कान सम्बन्धिको अभिमुखिकरण कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सहजीकरण नेपाल नेत्र ज्योती संघ सुर्खेतमा कार्यरत मान बहादुर बलमे गरेका थिए ।

दृष्टी र श्रवणमा न्युन क्षमता भएका नागरिकहरुको उपचारमा सहयोग गरेर जीवन यापनमा सुधार ल्याउन नेत्र ज्योती संघको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले जाजरकोटको भेरी र नलगाडमा आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालन गरेको छ । आँखा तथा कानका विरामीहरुको पहिचान गर्नुको साथै उपचारमा कार्यक्रमले सहयोग गर्ने बताईएको छ । आँखा तथा कानको स्वास्थ्य पहुँचलाई बिस्तार गर्न, आँखा कानको उपचार प्रणालीमा सवलिकरण गर्न, अपाङ्गता भएका नागरिकहरुको अधिकार सुनिश्चतता गर्न नेत्र ज्योती संघले जाजरकोटको भेरी र नलगाड नगरपालिकामा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम संचालन गरेको सामुदायिक संयोजक रावलको भनाई रहेको छ ।

कार्यक्रम संचालन भएदेखि हालसम्म भेरी नगरपालिकाको वडा नं. १०, ४, १ र २ मा ५०८ जनाको आँखाको परीक्षण गरिएको सामुदायिक संयोजक रावलले जानकारी दिएकी छन । परीक्षण गरिएका ५०८ जना मध्ये ३० जना आँखा तथा कानका बिरामीलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटमा रिफर गरिएको संयोजक रावलले बताईन् । आँखा परीक्षण गर्ने क्रममा प्राय बिरामीहरु मासु पलाएर आँखा नदेख्ने, पहिलेनै अप्रेशन गरेर आँखा नदेख्ने भएका बिरामीहरु फेला पर्ने गरेको जानकारी दिदै संयोजक रावलले तीन जना बिरामीलाई उपचारको लागि सुर्खेत रिफर गरिएको जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्