शिवालय गाउँपालिकाको प्रशासनिक केन्द्र ऐरेलीमा दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको छ । पश्चिम जाजरकोट विकास समाजमा कार्यरतर कर्मचारीहरुको क्षमता विकास गर्न दुई दिने लेखन सिप विकास तालिम सम्पन्न भएको हो । आईतबारदेखि सुरु भएको लेखन सिप विकास तालिम सोमबार सम्पन्न भएको थियो ।
सशक्तिकरण र दिगोपनमा आधारित जिविकोपार्जन सुधारका लागि सामुदायिक संगठन सवलीकरण (कोशेली–२) परियोजनामा कार्यरत कर्मचारीहरुको क्षमता विकास गराउन दुई दिने लेखन सिप विकास तालिमको आयोजना पश्चिम जाजरकोट विकास समाजले गरेको थियो । उक्त तालिम प्रयोगात्मक विधिबाट सम्पन्न गरिएको थियो । तालिममा बिष्णु कुमारी खड्का, सान्ता विक, सिता शर्मा, पार्वती रेग्मी र टोप बहादुर क्षेत्री गरी ६ जना कर्मचारी सहभागी भएको पश्चिम जाजरकोट विकास समाजका व्यवस्थापक राम प्रसाद शर्माले जानकारी दिए । सम्पन्न उक्त तालिमले कर्मचारीहरुको समाचार लेखन, सफलताका कथा लेखनका साथै अन्य लेखनमा मद्दत पुग्ने व्यवस्थापक शर्माको भनाई रहेको छ । दुई दिने तालिमको सहजीकरण पत्रकार दीप बहादुर घर्तीले गरेका थिए ।
कोशेली–२ परियोजनाले परिचालन गरेका मुल समिति र समुहले संचालन गरेका कृयाकलापहरुको आगामी दिनमा नियमित रुपमा समाचार लेख्ने थालारैकरमा कार्यरत सामुदायिक प्रशिक्षक टोप बहादुर क्षेत्रीले बताएका थिए । परियोजनाले परिचालन गरेका मुल समिति र समुहले संचालन गरेका महत्वपूर्ण क्रियाकलापलाई लेखन विधिबाट प्रकाशनमा ल्याउने सामुदायिक प्रशिक्षक क्षेत्रीले विश्वास व्यक्त गरेका छन् ।
कोशेली–२ परियोजना संचालन गरेको पश्चिम जाजरको विकास समाजले हाल शिवालय गाउँपालिकाका ९ वटै वडा र छेडागाड नगरपालिकाको वडा नं. १ र २ मा काम गरी रहेको छ । विकास कोष नर्बेको आर्थिक सहयोग र सहकर्मी समाजको साझेदारीमा पश्चिम जाजरकोट विकास समाजले कोशेली–२ परियोजना संचालन गरेको छ । सन् २०२१ जनवरीदेखि सुरु भएको कोशेली–२ परियोजनाको समयवधि सन् २०२५ सम्म रहेको व्यवस्थापक शर्माले जानकारी दिएका छन् । ९ वटा मुलसमिति, ६७ वटा समुह परिचालन गरिरहेको कोशेली–२ परियोजनाबाट लाभाम्बित सदस्य संख्या १२ सय ४८ जना रहेको व्यवस्थापक शर्माले बताएका छन् । परियोजनाले सामुदायिक सशक्तिकरण अन्तरगत सचेतनामुलक समुहगत छलफल र विभिन्न तालिम तथा गोष्ठीहरु संचालन गर्दै आएको छ । परियोजनाले आर्यआर्जनमा बृद्धि अन्तरगत समुह बचत, घुम्तीकोष परिचालन, बाख्रा पालन, कुखुरा पालन, सिलाई–कटाई, खुद्रा पसल, व्यवसायिक तरकारी खेती, फलफुल खेती जस्ता कृयाकलाप संचालन गरेको छ ।
परियोजनाले संचालन गर्दै आएका हरेक समुहगत छलफल, तालिम तथा गोष्ठीहरुमा पोषण सुधार, सरसफाई, विपद व्यवस्थापन, जलवायु अनुकुलन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण लगाएतका बिषयबस्तुहरुलाई समावेश गर्ने गरेको छ । कोशेली–२ अन्तरगत सामुदायिक सशक्तिकरण तथा आयआर्जनमा बृद्धि परियोजना संचालन गरिरहेको पश्चिम जाजरकोट विकास समाज २०७३ सालमा स्थापना भएको समुदायमा आधारित कार्य सञ्जाल संस्था हो । २०७३ सालमा स्थापना भएको संस्थाले हालसम्म कोशेली–१ परियोजना संचालन गरिसकेको छ भने, कोशेली–२ परियोजना र ग्लोवल फाउण्टको परियोजनालाई संचालन गरीरहेको छ ।
शिवालय गाउँपालिका, सहकर्मी समाज, सामुदायिक समुह र संस्थामा कार्यरत कर्मचारीहरुको संयुक्त लगानीमा पश्चिम जाजरकोट विकास समाजले ऐरेलीमा आफ्नै ४ कोठे पक्की भवन निर्माण गरेको छ । २० लाख ५ हजार ८ सय ४५ लागतमा निर्माण गरिएको उक्त ४ कोठे भवनमा शिवालय गाउँपालिकाले १० लाख, सहकर्मी समाजले ९ लाख ५० हजार सहयोग गरेका थिए । संस्थामा कार्यरत कर्मचारीहरुले भवन निर्माणमा २५ हजार ५२५ सहयोग गरेका थिए भने, सामुदायिक संस्थाहरुले गरेको सहयोग २ लाख ३६ हजार ६७६ मध्ये ३० हजार ३२० भवन निर्माणमा खर्च भएको व्यवस्थापक शर्माले जानकारी दिएका छन । सामुदायिक संस्थाहरुले दिएको सहयोगको बाँकी २ लाख ६ हजार ३५६ पश्चिम जाजरकोट विकास समाजको संस्थागत खातामा जम्मा गरेर राखिएको व्यवस्थापक शर्माको भनाई रहेको छ ।