कुशे गाउँपालिका–५ खुर्पाखोलामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सड्कबाट झण्डै ५०० मिटर तल ट्याक्टर खसेपछि सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सिलपाउरी, टिम्मुर लगाएतका जुडिवुटी बोकेर पैंकदेखि खलंगा तर्फ जादै गरेको प्र २०३००१ त २७३६ नम्बरको ट्याक्टर खुर्पाखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सुचना शाखाले जानकारी दिएको छ । सुचना शाखामा कार्यरत प्रहरी जवान किस्मत बारघरेले दिएको जानकारी अनुसार बिहान साढी ८ बजे ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट झण्डै ५०० मिटर तल खसेको थियो । उक्त ट्याक्टरमा सवार गरिरहेका कुशे गाउँपालिका–५ खुर्पा निवासी २६ बर्षिय मान बहादुर कामी र ढिमे निवासी ४० बर्षिय ओम प्रकास मल्लको घटना स्थलमै मृत्यु भएको बारघरेले जानकारी दिएका छन् । मृतक मल्ल सरस्वती प्राथमिक विद्यालय बाटुल्याका प्रधानाध्यापक हुन् ।
उक्त ट्याक्टर चालक ढिमे निवासी २४ बर्षिय बल बहादुर विक र सह–चालक ढिमे निवासी १८ बर्षिय जनक बहादुर विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार चालक र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन् । चालक र सह–चालकको प्रहरीले व्यापक रुपमा खोजीकार्य गरिरहेको छ । ट्याक्टर दुर्घटनाको अबस्था अध्ययन तथा प्रहरी मुजुल्का गर्न जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक शिव कुमार क्षेत्री घटना स्थलमा पुगिसकेका छन् । प्रहरी मुजुल्का पश्चात पोष्टमार्टम रिर्पोटका लागि मृतकका लास खलंगा तर्फ ल्याउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ ।