News Portal

सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेपछि जाजरकोटमा खोप लगाउनेको संख्या बढ्यो

५८१ पटक

जाजरकोटमा सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड यही माघ ७ गते बाट अनिवार्य गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र (डिसिसिएमसि) को वैठकले उक्त निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले यहि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको छ । कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिएका छन । कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पु¥याउन खोप कार्ड अनिवार्य गरिएपछि यसको प्रभावकारीता बढेको भेरी नगरपालिका–४ का वडा अध्यक्ष खम्बजंग शाहको भनाइ रहेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलि रहेको र यसबाट जोनिन सवैले कोभिड–१९ विरुद्धको खोप लगाउनु पर्ने स्थानीय खडक विसीको धारण रहेको छ ।

स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाका अनुसार जाजरकोट जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ८६ हजार २ सय ४४ जना नागरिकलाई पहिलो र ६५ हजार ४ सय ७२ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा तथा १२ देखि १७ वर्ष उमेर समूहका २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाउने, घर बाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातका साधन प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । खोप अभियान जिल्लाका सात वटै पालिकामा निरन्तर रुपमा र पछिल्लो समयमा कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका स्थानीय पालिकाहरूको सक्रियता बढेको छ । जिल्लामा यस अघि कोरोना संक्रमणबाट १७ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस्