जिल्ला सदरमुकाम खलंगाकी गीता शाहले व्यवसायिक रुपमा गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी छन । खलंगाको माथिल्लो थाप्लेमा गीता च्याउ तथा कृषि फर्मका नामबाट शाहले व्यवसायिक रुपमा गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी हुन् ।
भेरी नगरपालिकाको कृषि शाखाले च्याउ उत्पादन सम्बन्धिको तालिम सहित बीऊ उपलब्ध गराएपछि आफुले गोब्रे च्याउको व्यवसायिक खेती गरेको गीता च्याउ तथा कृषि फर्मको प्रोपराईटर गीता शाहले जानकारी दिईन् । विगत ५ बर्ष पहिलेदेखि कन्या च्याउ उत्पादन गर्दै आएकी गीता शाहले यस बर्ष जिल्लामै पहिलो पटक गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी छन् ।
धानको परालमा उत्पादन गर्दै आएको कन्या च्याउ उत्पादन व्यवसायबाट प्रति सिजनमा एक लाख भन्दा बढि आम्दानी गर्दै आएकी गीताले यस बर्ष परीक्षण गर्न गोब्रे च्याउ उत्पादनमा लागेको बताईन् । गोब्रे च्याउ उत्पादनमा सफलता प्राप्त भएपछि जिल्ला सदरमुकाममा बजार व्यवस्थापन तथा बजार खोजी गर्न कुनै समस्या नहुने गीताको भनाई रहेको छ । दुई बर्ष पहिलादेखि फर्म दर्ता गरेर च्याउ खेती गरिरहेकी गीताले खेतीबाट भएको आम्दानीलाई छोरा–छोरीहरुको पढाई खर्चमा लगानी गर्ने गरेको बताईन् । गोब्रे च्याउ उत्पादनमा सफलता प्राप्त भएपछि थोरै ठाउँबाट धेरै आम्दानी लिन सकिने गीताको भनाई रहेको छ । फर्मबाट प्रति किलो ४०० मुल्यमा बिक्रि गरिने गोब्रे च्याउको व्यवसायिक उत्पादनबाट राम्रै आर्थिक लाभ हासिल गर्न सकिनेमा गीता विश्वस्त देखिएकी छन् ।
मासु भन्दा बढि स्वादिष्ट गोब्रे च्याउ प्रेसर, सुगरका बिरामीहरुले पनि खान मिल्ने बताउदै गीताले बजारको माग अनुसारको च्याउ उत्पादन गर्न नसकिएको बताईन् । गोब्रे च्याउ उत्पादनको लागि परालको कम्पोष्ट व्याडमा उत्पादन गर्नुपर्ने बताउदै नगर कृषि शाखाका प्रमुख यज्ञ खत्रीले परीक्षणको लागि सुरुवात गरिएको गोब्रे च्याउ उत्पादन पूर्णरुपमा सफल भएको बताए । गोब्रे च्याउ उत्पादनको लागि गीता च्याउ तथा कृषि फर्ममा गरिएको प्रदर्शनीले अन्य कृषकहरुलाई पनि आकर्षित गरेको बताउदै शाखा प्रमुख अधिकारीले उक्त फर्म अवलोकण गर्न चाहने महानुभावहरुलाई खलंगा माथिल्लो थाप्लेको पानी टंकी नजिकै रहेको फर्ममा जान सुजाएका छन् । फर्मको प्रोपराईटर गीता शाहसंग सम्पर्क गर्नु परेमा शाखा प्रमुख अधिकारीले ९८४८३१९८४६ र ९८४५४४१४३३ मा सम्पर्क गर्न सकिने बताएका छन् । नगर कृषि शाखाको आयोजनामा सम्पन्न तालिम र बीऊ बितरणको महत्वपूर्ण उपलब्धीका रुपमा गोब्रे च्याउ उत्पादनमा सफलता मिलेको शाखा प्रमुख अधिकारीको भनाई रहेको छ ।