बाँकेको कोहलपुरस्थित बिहानी मिडियालाइ सर्वोत्कृष्ट विज्ञापन एजेन्सीको रुपमा राजऱ्धानीमा सम्मान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिकको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित ‘विज्ञापन एजेन्सी भेटघाट तथा उत्कृष्ट १० एजेन्सी’सम्मान कार्यक्रममा बिहानी मिडियालाई सर्वोत्कृष्ट एजेन्सीको रुपमा सम्मान गरिएको हो । मध्यान्ह दैनिकमा गत बर्ष सबैभन्दा बढि बिज्ञापन उपलब्ध गराई सर्बोत्कृष्ट बनेका बिहानी मिडियाका ब्यबस्थापक लोकेन्द्रराज शर्मालाई कार्यक्रमका प्रमुख अतिथि एवम् बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् । शर्मालाई मध्यान्ह दैनिककी प्रकाशक सितादेबी श्रेष्ठले पनि दोसल्ला ओडाएर सम्मान गरेकी थिइन् ।
सो अवसरमा प्रमुख अतिथि बोर्डका अध्यक्ष हुमागाईंले विज्ञापन बजारलाई व्यवस्थित र मर्यादित बनाउने काममा बोर्ड लागेको बताए । उनले सबैलाई पारदर्शी ढंगले व्यवसाय गर्न र विज्ञापन बोर्डले बनाएको आचारसंहिता पालना गर्न पनि आग्रह गरे । मध्यान्ह दैनिकका सम्पादक श्रेष्ठले स्वागत मन्तव्य राख्दै विज्ञापन पत्रिकाको मुटू भएको र विज्ञापन बिना पत्रिका चल्न नसक्ने बताए । उनले सम्पूर्ण विज्ञापनदातालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । सो अवसरमा प्रमुख अतिथि बोर्डका अध्यक्ष हुमागाईंलाई प्रकाशक सितादेवी श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिइन् ।
सो अवसरमा बिहानीसहित युग पब्लिकेशन विराटनगर, स्मार्ट क्रियटिभ मिडिया प्रा.लि भक्तपुर, जोइन मिडिया हाउस प्रा.लि अनामनगर, कान्तिपुर मिडिया सर्भिस विराटनगर, क्रियटिभ मिडिया प्रिन्ट प्रा.लि पुतलीसडक, त्रिलक्ष्मी एड्भर्टाइजिङ सर्भिसेस प्रा.लि टोखा, एक्सिलेन्ट एड्भर्टाइजिङ सर्भिस प्रा.लि नागार्जुन, सुमि पब्लिकेशन प्रा.लि ललितपुर र आर.आर. मिडिया बुढानिलकण्ठ र अपि विज्ञापन एजेन्सी कञ्चनपुर समेत सम्मानित भएका छन् । कार्यक्रमको सञ्चालन मध्यान्हकर्मी रेशमराज पौडेलले गरेका थिए ।