भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बालमैत्री सेवामा पहुँच प्रवद्र्धन गर्न भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न कार्यशाला गोष्ठीमा वडा अध्यक्ष, वडा सचिव, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक, पञ्जीकाकरण जस्ता नगरपालिकाका विषयगत शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । गोष्ठीमा नागरिक समाज, पत्रकार, गैसस र टोल विकास संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
आईतबारदेखि सोमबारसम्म दुई दिनसम्म चलेको उक्त कार्यशाला गोष्ठीलाई नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले सहजीकरण गरेका थिए । सन् २०२४ को डिसेम्बरमा बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएको भेरी नगरपालिकामा बालकेन्द्रित सेवा नक्साङ्कण कार्यशाला गोष्ठीले निकै ठुलो भुमिका खेल्ने गोष्ठीका सहजकर्ता तथा नागरिक समाजका संयोजक शाहले भनाई राखेका थिए । बाल अधिकारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले गरेको व्यवस्था, बालअधिकार सम्बन्धि बनेका ऐन तथा कार्यविधि, बालमैत्री स्थानीय शासनका सुचकहरु र दीगो विकास लक्ष्यले बाल अधिकारका क्षेत्रमा गरेको व्यवस्थाका बिषयमा सहभागीहरुलाई सहजकर्ता शाहले सहजीकरण गरेका थिए ।
नगरपालिकाको सभाहलमा सम्पन्न गोष्ठीका सहभागीहरुलाई ४ समुहमा विभाजित गरेर समुह कार्य गराईएको थियो । उक्त समुह कार्यबाट बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बाल अधिकारका चार पिल्लरमा रहेर प्रवाह गरिने सेवाहरुको नक्साङ्कण गरिएको थियो । कितावमा अध्ययन गरिएका विषयले मात्र बाल अधिकार संरक्षणको विषयलाई कार्यान्वयन गर्न जटिल हुने बताउदै सहभागिहरुले गोष्ठीमा बालकेन्द्रित सेवा प्रवाहको नक्साङ्कणले व्यवहारिक ज्ञान हासिल गराएको भनाई राखेका थिए ।