नलगाड नगरपालिका–१ चिउरीकी मोतिकला महरले कष्टकर जीवनयापन गर्नुपर्ने अबस्था आइलाग्ला भन्ने कल्पना समेत गरेकि थिईन । कातिक १७ गते राति गएको भुकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काँखमा च्यापेर मोतिकला पालमुनी बस्न बाध्य भईन् ।
माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफु र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतिकलाइ दैनिक पिराल्ने गरेको छ । तीन महिना पहिले पहिलो सन्तान जन्माएकी मोतिकलाले आफु र शिशुलाई चिसोबाट जोगाउने तरिका पनि थाहा नभएको बताईन । भुकम्पपछि एकद्धार प्रणालीबाट वितरण गरिएको टेन्ट भित्र तीन महिनाको दुधे बच्चा र लोग्ने प्रेम महर सहित मोतिकला बस्दै आएकी छन् । राहत अन्तरगत पाएको टेन्टभित्र नत आगो बाल्न मिल्छ ?, नत लोग्ने बाहेक अरु सुत्न मिल्ने ठाउँनै छ मोतिकलाले भनिन्–‘सुत्केरी महिलाको लागि भनेर युनिसेफले दिएको टेन्ट भित्र आगो बाल्न मिल्ने भए आफु र बच्चालाई सेक्न हुन्थ्यो, आगो बाल्न मिल्दैन, लहरै लागेर धेरै मान्छे सुत्ने ठाउँ भएको भएपनि अलि तातो हुन्थ्यो कि ?’ ।
गाउँघरमा सुत्केरी महिला र नवजात शिशुको पुरै शरिरमा तोरीको तेल घसेर आगोमा सेग्ने चलन छ । सुत्केरी महिलालाई विशेषगरी लोकल कुखुराको मासु, घ्यु र तेलमा पकाएको लोकल चामलको भात, कोदोको रोटी खुवाउने गरिन्छ । असोज महिनामा बच्चा जन्माएकी मोतिकला कातिकमा भुकम्प गएपछि तोरीको तेल लगाएर आगोमा सेक्ने, लोकल कुखुराको मासु, घ्युतेलमा पकाएको भात र कोदोको रोटी खान पाएकी छैनन् । १५ बर्षको उमेरमै बिबाह गरेकी मोतिकलाले १६ बर्षको उमेरमा छोराकी आमा बनेकी छन् ।
चिउरी गाउँकै समिक्षा महरको पनि मोतिकला महरको जस्तै हालत छ । ७ महिनाको बच्चालाई काँखीमा च्यापेर सानो टेन्ट भित्र रात विताई रहेकी छन् । विमला महर सुत्केरी भएको आज ७ दिन मात्र भएको छ । विमला जस्तै पुतली घर्ती सुत्केरी भएको ५ दिन मात्र भएको छ । विमला र पुतली जस्तै ७ दिन पहिला नगर अस्पतालमा गएर सुत्केरी भएकी लक्ष्मी महरको बच्चा बचाउन नसकिएको चिउरीकी महिला स्वास्थ्य स्वयमसेविका सितला विकले जानकारी दिईन् ।
२०१ भन्दा बढि घरधुरी रहेको चिउरीमा ४५ जना भन्दा बढि सुनौला हजार दिनभित्रका आमा र नवजात शिशुहरु रहेको स्वयमसेविका विकले बताईन् । अन्य सुत्केरी महिलाहरुले पाए जस्तै चिउरीका ४ जना सुत्केरी महिलाले टेन्ट पाउन सकेका छैन् । भविता महर, गीता भण्डारी, कमला दर्लामी र प्रतिक्षा महरले टेन्ट नपाएपछि त्रिपालमै रात विताउन बाध्य भएका छन् । भविता महर र गीता भण्डारी तीन महिना पहिलाकी सुत्केरी हुन् भने, कमला दर्लामी र प्रतिक्षा महर ६ महिना पहिलाका सुत्केरी हुन् । विभिन्न दाताहरुले पठाएको राहत सामाग्री अन्तरगतका टेन्टहरु बाढ्दा बाढ्दै नपुगेपछि ४ जना सुत्केरी महिला त्रिपालमै बस्नुपर्ने बाध्यता आएको वडा अध्यक्ष धर्मेन्द्र महरको भनाई रहेको छ ।
चिउरीमा ४५ जना सुत्केरीसंगै १२ जना गर्भवति महिला भएको स्वयमसेविका विकले बताएकी छन् । चिउरीकी सुत्केरी र गर्भवति महिलाहरुलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यन्नको अभाव भइरहेको स्वयसेविका विकको भनाई रहेको छ । सुत्केरी तथा गर्भवति महिला र नवजात शिशुहरुको नियमित खोप, बृद्धि अनुगमन, गर्भजाँच, दीर्घरोगी, जेष्ठनागरिक र अपाङ्गता भएका व्यक्तिहरुको नियमित स्वास्थ्य परीक्षण तथा उपचारको लागि घुम्ती स्वास्थ्य शिवीर संचालन गर्नपर्ने स्वयमसेविका विकको भनाई रहेको छ ।
चिउरीकै सशे कामीको हालत पनि सुत्केरी तथा गर्भवति महिलाहरुको जस्तै छ । कमाइ गर्न ६ बर्ष पहिला भारतको कार्गिल पुगेका सशे कामी हिउमा पुरिएर दुबै खुट्टा र हातका पञ्जा गुमाएका थिए । दुबै हात र खुट्टाका पञ्जा गुमाएका ६० बर्षिय सशे कामीका बुढाबुढीले पनि पालमुनीको शीत र सिरेटो थेग्न संघर्ष गरिरहेका छन् । विहे गरेर सशेका छोरीहरु ज्वाईको घरमा गईसकका छन् भने, छोराहरुले अंश लिएर अलग भईसकेका छन् । सरकारले दिनेभनेको ५० हजार लागतको अस्थायी टहरा निर्माण गरिदिने सशे कामीको घरमा कोही पनि छैनन् । अस्थायी टहरा निर्माण गर्नको लागि विभिन्न राजनीतिक पार्टीहरुले गाउँ गाउँमा स्वयमसेवक परिचालन गरेको भएता पनि टहरा निर्माण गरिदिने गरी सशे कामीको घरमा कोही पनि पुगेका छैनन् ।
कालापहाड र तेस्रो मुलकबाट लोग्नेले कमाएर ल्याएको पैसामा जीवनयापन गर्दै आएका चिउरीका अधिकाँश दलित समुदाय महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिकहरु यतिवेला दाताले दिएको २५ किलो चामलले ४ जनाको परिवारलाई एक महिनाको छाँक टाँर्ने योजनामा छन् । घर नजिकैको रुखको हाँगामा दाताले दिएको १२ फिट चौढाई १८ फिट लम्बाइका त्रिपाल टाँगेर हिउदे बर्षाको जाडो छल्न बाध्य भएका छन् । त्यही पालको एक कुनामा खाना पकाएर खाने चुलो जोरेका छन् भने, अर्को कुनामा लत्ताकपडा, खाद्यन्न, भाँडा कुढा लगाएतका सामाग्रीको गोदाम गरेका छन् । बाँकी रहेको त्रिपालको कुनामा ४ जनादेखि ७ जना सम्मको परिवारले खुट्टा खुम्च्याएर रात काट्न बाध्य भएका छन् । कमाई गर्न कलापहाड र तेस्रो मुलुक पुगेका युवाहरु चिउरीमै १३ जनाको ज्यान जानेगरी भुकम्प गएपछि अधिकाँश युवाहरु घर फर्केका छन् ।
भुकम्पपछिको चिसोले जाजरकोट जिल्लाको नलगाड, भेरी र छेडागाड नगरपालिका, बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा १८ जना भन्दा बढिको ज्यान गईसकेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । मृत्यु हुनेमा अधिकाँश दीर्घरोगी र बालबालिका रहेका छन् ।
स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका सुचना अधिकारी कृष्ण खत्रीले दिएको जानकारी अनुसार भुकम्पबाट प्रभावित १२ हजार ४०४ जना ५ बर्षमुनीका बालबालिका, १ हजार ७६ जना सुत्केरी, १ हजार ८८३ जना गर्भवति महिला घरबाहिरको त्रिपालमुनी बस्न बाध्य भएका छन् । त्यसैगरी ६ हजार २६ जना जेष्ठ नागरिक, १ हजार ८३२ जना दीर्घरोगी, ८५० जना अपाङ्गता भएका व्यक्तिहरुले त्रिपालमुनी रात विताई रहेका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजनीतिक पार्टीद्धारा परिचालित स्वयमसेवकहरुले भुकम्पबाट चर्किएका घरहरुको जोखिम हटाउने, अस्थायी टहरा निर्माणमा भुकम्प पीडितहरुलाई सहयोग गर्ने काम गरी राखेका छन् । भुकम्बाट पूर्णरुपमा ध्वस्त भएका ९ हजार ७५४ र बस्न नमिल्नेगरी चर्किएका २४ हजार ७०७ गरी ३४ हजार ४६१ वटा ध्वंस घरहरुको अस्थायी बसोबास निर्माण गर्न सरकारले तोकेको भन्दा धेरै बढि समय लाग्ने अुनुमान गरिएको छ ।
पहिचान भईसकेका सुत्केरी, गर्भवति महिला, दीर्घरोगी तथा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको लागि एस. वाई. प्यानल नेपालद्धारा जडान गरिने महिला तथा बालमैत्री, अपाङ्गमैत्री न्यानो घर निर्माणमा सरकार लाग्नुपर्ने नेकपा एमाले निकट अखिल नेपाल महिला संघ, जाजरकोट अध्यक्ष सुनिता बोहोराको भनाई रहेको छ ।
भुकम्पबाट क्षेतिग्रष्त भएका सरकारी कार्यालय, सामुदायिक विद्यालय भवन, स्वास्थ्य संस्थाका भवनहरुको विकल्पमा भुकम्प प्रतिरोधी एस. वाई. प्यानल नेपालद्धारा जडान गरिने भवनहरु निर्माण गरी सार्वजनिक सेवा प्रवाहको कामलाई व्यवस्थित गर्नुको साथै विद्यालयको पठनपाठन, स्वास्थ्य सेवालाई सहज बनाउनुपर्ने सरकारवालाहरुको भनाई रहेको छ ।