राधामाधव समिति, जाजरकोटले भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । घरबास विहीन भएका नलगाड नगरपालिकाका विभिन्न स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुलाई समितिले न्यानो कपडा वितरण गरेको हो ।
हिउमन च्यारिटी फाउण्डेशन नेपालको आर्थिक सहयोगमा राधामाधव समिति, जाजरकोटले शुक्रबार नलगाड नगरपालिका–३ चाउलेचौर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई ऊनको टोपी, सुईटर लगाएतको न्यानो कपडा वितरण गरिएको कर्ण बहादुर खत्रीले जानकारी दिएका छन् । खत्रीले दिएको जानकारी अनुसार नलगाड नगरपालिका–४ लहँ स्थित भानुभक्त प्राविमा अध्ययनरत १०७, मानचौर स्थित जनजागरण प्राविमा अध्ययनरत ३४, भातचिउरा स्थित हिमालय प्राविमा अध्ययनरत ३५, औल स्थित रामभक्त प्राविमा अध्ययनरत ३३ जना विद्यार्थीलाई ऊनको टोपी, सुइटर लगाएतको न्यानो कपडा, मन्जन, व्रस लगाएतका सरसफाई सामाग्री वितरण गरिएको थियो ।
वडा नं. ४ का वडा अध्यक्ष बद्री पन्तको हातबाट विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको राधामाधव समितिले वडा नं. ३ का कावा अध्यक्ष भीम बहादुर वुढाको हातबाट न्यानो कपडा वितरण गरेको थियो ।
त्यसैगरी खत्रीले दिएको जानकारी अनुसार राधामाधव समिति, जाजरकोटले गत मंसिर २४ गते नलगाड–१ पाली स्थित सिद्ध साईकुमारी पावि, कल्पत स्थित शिवशंकर आधारभुत विद्यालय, चिउरी स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय गरी तीन वटा विद्यालयका ४५० जना विद्यार्थीलाई ऊनको टोपी, सुईटर लगाएतको न्यानो कपडा वितरण गरेको थियो ।
भुकम्प गए लगतै खोज तथा उद्धार कार्यमा सक्रिय रहेको राधामाधव समिति, जाजरकोटले भेरी नगरपालिका–३ माथिल्लो थाप्लेमा भुकम्प पीडितहरुलाई भोजन गराएको थियो । एक हप्ताको समयसम्म भोजन गराएको राधामाधव समितिसंग दैनिक भोजन गर्नेको संख्या दैनिक ५०० भन्दा बढि रहेको जनाईएको छ ।
उक्त राधामाधव समितिले नलगाड नगरपालिका–१२ तल्लुबगरमा भुकम्प पीडितहरुको लागि निशुल्क स्वास्थ्य शिवीर संचालन गरेको थियो । गत मंसिर महिनामा संचालन गरिएको निशुल्क स्वास्थ्य शिवीरमा जनरल फिजोसेन, हाडजोर्नी, दन्त रोग, निमोनिया, फिजोथेरापी लगाएतका स्वास्थ्य सेवा प्रदान गरिएको प्रेम कार्कीले जानकारी दिए । १ हजार ४०० जनाले सेवा लिएको स्वास्थ्य शिवीरमा समितिले निशुल्क औषधि वितरण गरेको थियो । तल्लुबगरमै समितिले १५० जना सुत्केरी महिलालाई न्यानो कपडा वितरण गरेको कार्कीले जानकारी दिए ।