प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनले फिजियोथेरापी सम्बन्धिका सामाग्री हस्तान्तरण गरेपछि सेवा सुरु गरिएको हो ।
प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाडजोर्र्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि (AC–6) परियोजना संचालन भई रहेको छ । उक्त परियोजना अन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिए ।
प्राथमिक अस्पतालमा फिजियोथेरापी सेवा केन्द्र स्थापना र सञ्चालन गर्न नलगाड नगरपालिका, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेसन र पाँचतारा युवा संरक्षक मञ्च बीच भएको त्रिपक्षिय सम्झौता अनुसार प्राथमिक अस्पतालको फिजियोथेरापी सेवा केन्द्रका लागि र अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापनाका लागि गत साउन ३ गते सम्झौता भएको थियो ।
नगरपालिकामा सोमबार फिजियोका लागि आवश्यक सम्पुर्ण सामग्री पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले नगर प्रमुख डम्बर बहादुर रावल मार्फत अपस्ताललाई हस्तान्तरण गरेका छन । नगर प्रमुख रावत, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई स्वास्थ्य शाखा प्रमुख तप्त चनारा अस्पताल प्रमुख राजेश सिँह पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवी पन्त, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका प्राविधिक अधिकृत प्रज्वल गिरी लगायतको टोलीले फिजियोथेरापी कक्षको अनुगमन तथा निरिक्षण गरेका थिए ।
अनुगमनका क्रममा फिजियोथेरापिष्ट प्रिमान गुरूङ्गले ठाउँ अभावका कारण सबै सेवा दिन संभव नभएको बताए । उनले फिजियोको लागि उपयुक्त स्थान भएमा फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास ब्यक्त गरेका थिए ।
नगर प्रमुख रावतले नगरबासीहरूले फिजियोथेरापी सेवा लिन नेपालगन्ज जानु पर्ने अवस्थाको अन्त हुने भनाई राखेका थिए । यो सेवाले बारेकोट गाउँपालिका र आठबीसकोट नगरपालिका रुकुमपश्चिमका जनताले पनि सेवा लिने प्रमुख रावतले बताए । संस्थाले १९ लाख १२ हजार बराबरको आवश्यक सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।