आज : २०८१ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१०/२५ गते
जाजरकोट

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् ।

छेडागाड नगरपालिका–१२ को नारायणी माध्यामिक बिद्यालय कार्कीगाउँको खेलमैदानमा आयोजित १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरु गरी ५४ विद्याका खेलहरु खेलाईने जिल्ला खेलकुद विकास समिति, जाजरकोट अध्यक्ष नर बहादुर बस्नेत (एनवी) ले जानकारी दिएका छन् । ३५० जना खेलाडीहरुले भाग लिने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५५ जनाले स्वर्ण, ५५ जनाले रजत र ५५ जना खेलाडीले कास्य प्राप्त गर्ने अध्यक्ष बस्नेतले जानकारी दिएका छन् । पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अध्यक्ष बस्नेतले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन यही माघ २६ गते कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गर्ने बताएका छन ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका–२०७० को पाँचौ संशोधन–२०८० ले गरेको व्यवस्था अनुसार उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कक्षा ८ देखि १२ सम्म अध्ययनरत १८ वर्षमुनिका विद्यार्थी खेलाडीहरुले मात्र भाग लिन पाउने अध्यक्ष बस्नेतको भनाई रहेको छ । प्रतियोगितामा फर्जी खेलाडी सहभागी गराएमा, खेल खेलाउने रेफ्रीले निस्पक्षता गर्न नसकेमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका–२०७० को पाँचौ संशोधन–२०८० ले गरेको व्यवस्था अनुसार खेलकुद विकास समितिले कार्वाही अगाडी बढाउने तयारी गरिएको अध्यक्ष बस्नेतले बताए ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुको खाना, आवास लगाएतको व्यवस्थापन छेडागाड नगरपालिका र सम्बन्धित विद्यालयको समन्वयमा गरिने भएको छ भने, शान्ति सुरक्षा व्यवस्थापन नेपाल प्रहरी र स्वच्छता तथा स्वास्थ्य सुरक्षा व्यवस्थापन स्वास्थ्यकर्मीहरुको हेल्प डेस्क राख्ने गरी तयारी पुरा भएको अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका उत्कृष्ट खेलाडीहरुलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिताका लागि छनौट गरिने बताईएको छ । खेलकुल विकास समितिको पहलमा जाजरकोटको खेल जगतले नयाँ उचाई हासिले गरेको वताउदै अध्यक्ष बस्नेतले जाजरकोटबाटै गणेश विष्ट, अमृत मल्ल, विवश विक्रम शाह, मनोज शाह, सुदाम गौतम लगाएतका ६ जना प्रदेश स्तरीय लाईसन्स प्राप्त रेफ्री उत्पादन गर्न सफल भएको बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आगामी मंसिर ३ देखि ९ गतेसम्म आयोजित १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खबै खेलको प्रतियोगिता सुर्खेतमा मात्र सम्भव नभएको बताउदै अध्यक्ष बस्नेतले कुनै पनि विद्याको खेलको राष्ट्रिय प्रतियोगिता जाजरकोटमा गराईने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदद्धारा २०७२ सालमा डिपीआर सम्पन्न गरिएको जानकारी दिदै अध्यक्ष बस्नेतले जाजरकोट जिल्लाको कभर्ड हल निर्माण गर्नको लागि बहुँबर्षिय ठेक्काका रुपमा आगामी फागुनमा टेन्डर आह्वान हुन लागेको बताए । डिपीआरमा कभर्ड हलको लागत ६ करोड ९८ लाख रहेको जानकारी दिदै अहिलेको मुल्य समायोजन गरेर टेन्डर आह्वान हुन लागेको अध्यक्ष बस्नेतले जानकारी दिए । आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति जाजरकोटले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्