आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु

प्रकाशित : २०८१/२/२ गते

जाजरकोट
पश्चिम नेपालमा समुदायमा आधारित रेड पाण्डा (हाब्रे) संरक्षण परियोजना अधिकृत भुपलाल केसी यतिवेला खुशीको सन्देश प्रवाह गरिरहेका छन् । रेड पाण्डा ट्रयाप गर्न राखिएको क्यामेरामा रेड पाण्डा लगाएतका विभिन्न वन्यजन्तुहरु रेकर्ड भएपछि अधिकृत केसीले खुशीको सन्देश प्रवाह गरेका हुन् ।

रेड पाण्डाको बास स्थान अध्ययन तथा अनुसन्धान गर्न बारेकोट गाउँपालिका–३ स्याला मुल्सामको फुलवारी सामुदायिब वनमा ट्रयाप गरिएको क्यामेरामा विश्वकै दुलर्भ वन्यजन्तु रेड पाण्डा लगाएत अन्य वन्यजन्तुहरु रेकर्ड भएको अधिकृत केसीले बताएका छन् । सरोकारवालाहरुसंगको जिल्ला स्तरीय समिक्षा गोष्ठीमा अधिकृत केसीले ट्रयाक गरिएको क्यामेरामा रेड पाण्डा, रतुवा (मृग), घोरल, भालु, बधेल, थार, मलस्याब्रो लगाएतका वन्यजन्तु रेकर्ड भइको जानकारी दिएका छन् । क्यामेरा ट्रयापले रेड पाण्डा संरक्षणमा मात्र नभएर सवै प्रजातिका वन्यजन्तु संरक्षण गर्न सहयोग पुग्ने अधिकृत केसीले दावी गरेका छन् ।

रेड पाण्डाको बास स्थान सर्वेक्षण गर्न बारेकोट गाउँपालिका वडा–३ स्याला मुल्सामको फुलवारी सामुदायिक वन र वडा नं. ४ को ढोटाचौर सामुदायिक वनमा २२ वटा क्यामेरा ट्रयाप गरेका थियौं अधिकृत केसीले भने–‘फुलवारी सामुदायिक वनमा ट्रयाप गरिएको क्यामेरामा रेड पाण्डा लगाएतका अन्य वन्यजन्तुहरु रेकर्ड भएका छन्, हिउ चितुवा लगाएतका दुलर्भ वन्यजन्तुको बास स्थानको सम्भावना भएको ढोटाचौर सामुदायिक वनमा सामुदायिक वन उपभोक्ता समुहको निष्कृयताले ढोटाचौर सामुदायिक वनमा परिणाम आउन सकेको छैन् ।’

रेड पाण्डा नेटवर्कको आर्थिक सहयोगमा डाँफे युवा क्लव, जाजरकोटले सन् २०१७ देखि जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा “पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे (रेड पाण्डा) संरक्षण परियोजना” संचालनमा रहेको अधिकृत केसीले बताए । बारेकोट गाउँपालिकाको वडा नं. ३, ४ र ७ र कुशे गाउँपालिकाको वडा नं. ८ र ९ को सामुदायिक वनमा संचालन भएको परियोजनालाई बारेकोट गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको केसीले जानकारी दिए ।

परियोजनाले रेड पाण्डाको बास स्थानको अध्ययन तथा अनुसन्धान, शिक्षा तथा सचेतना, बास व्यवस्थापन र दिगो जिविको पार्जनको क्षेत्रमा काम गर्दै आएको जानकारी दिदै अधिकृत केसीले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा क्यामेरा ट्रयाप गरेको बताए । बास स्थानको अनुगमन तथा चोरी–सिकारी चियन्त्रण गर्न परियोजना मार्फत ५ वटा सामुदायिक वनमा गरिएको गस्तीबाट २४ वटा फलामे पासो फेला परेको उनले बताए । जंगल गस्ती गर्ने क्रममा हालसम्म ३५ वटा फलामे पासोहरु आफुले फेला पारेको केसीले भनाई राखेका थिए ।

शिक्षा तथा सचेतनाका क्षेत्रमा जिल्ला र स्थानीय तहमा समिक्षा गोष्ठी, अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस, रेड पाण्डा संरक्षण सम्बन्धि बुलेटिन प्रकाशन, रेडियो जिङ्गल प्रसारण, मानव र वन्यजन्तु बीचको द्धन्द व्यवस्थापन सम्बन्धि गोष्ठी संचालन गर्दै आएको परियोजनाले वन अविभावकहरुको क्षमता विकास तालिम संचालन गर्ने, वातावरण शिक्षा संचालन गर्ने, रेड पाण्डा संरक्षण र आगलागि नियन्त्रण सम्बन्धिका होर्डिङ बोर्ड राख्ने कार्यक्रम रहेको केसीले बताएका छन् ।

बास स्थान व्यवस्थापनमा पानीको पोखरी निर्माण, बृक्षा रोपन, भुस्या कुकुरलाई खोप लगाउने कार्यक्रम संचालन गर्दै आएको परियोजनाले आगामी बर्षमा ५ हेक्टर जमिनमा वृक्षारोपन गर्ने लक्ष्य रहेको अधिकृत केसीले बताए । केसीका अनुसार दिगो जिविको पार्जनमा सुधारिएको चुलो वितरण तथा सर्वेक्षण, टिमुरका विरुवा वितरण गर्दै आएको परियोजनाले आगामी बर्षमा प्लाष्टिक टेनल वितरण गर्ने कार्यक्रम राखेको छ ।

बास स्थानको सर्वेक्षण, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा परियोजनाले आगामी बर्षमा नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका ३ वटा नयाँ सामुदायिक वनमा काम सुरु गर्ने योजना रहेको अधिकृत केसीले बताए ।

जिल्ला सदरमुकाम खलंगा स्थित रिद्धिसिद्धि होटलको सभाहलमा आयोजित जिल्ला स्तरीय समिक्षा गोष्ठी डाँफे युवा क्लवका अध्यक्ष विश्व विक्रम शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । गोष्ठीमा जिल्ला समन्वय समितिका उपप्रमुख दल बहादुर सिंह, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान, वन डिभिजन कार्यालयका प्रतिनीधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।


Tagged
प्रतिकृया दिनुहोस्