आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

प्रकाशित : २०८१/२/१६ गते

जाजरकोट
चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

१७ औं गणतन्त्र दिवस तथा राष्ट्रिय महिला अधिकार दिवसको अबसरमा अधिकारकर्मी महिलाहरुको टीमले प्रजिअ आचार्यलाई ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएको थियो । घरेलु हिंसा सम्बन्धी ऐन–२०६६ लाई संशोधन गर्नुपर्ने, दुर्त न्याय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, यौन हिंसा प्रभावितहरुलाई सार्वजनिक रुपमा गाली गलौज गर्ने, चरित्र हत्या गर्ने, मानहानी जस्ता कार्य गर्नेलाइ कानुनी दायरामा ल्याउनु पर्ने, सबै तहका अदालतबाट फैसला भएका मुद्धाहरुको कार्यान्वयनको स्थिति पहिचान गरि पीडित तथा प्रभावितले न्याय प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राखेर प्रजिअ आचार्यलाई ध्यानाकर्षण पत्र बुझाईएको महिला अधिकारकर्मी शिवानी पोखरेलले जानकारी दिईन ।

अधिकारकर्मीहरुले आफुलाई बुझाएको ध्यानाकर्षण पत्रले आफुलाई गम्भिर बनाएको बताउदै प्रजिअ आचार्यले यौन तथा घरेलु हिंसा विरुद्ध सम्वेदनशिल बन्नुको साथै महिला अधिकारको पक्षमा काम गर्न उत्प्रेरित गरेको भनाई राखेका थिए । गृह मन्त्रालयका सचिवसंग बार्षिक करार सम्झौता गरेर जिल्लाको समग्र प्रशासनको जिम्मेवारी समालेको जानकारी दिदै प्रजिअ आचार्यले सामाजिक न्यायको पक्षलाई प्रभावकारी बनाउनुनै आफ्नो मुख्य जिम्मेवारी रहेको भनाई राखेका थिए । नागरिकको घर नजिकको सरकार स्थानीय तह भएको बताउदै प्रजिअ आचार्यले ४ बुँदे माग सहितको उक्त ध्यानाकर्षण पत्र जिल्लाका सबै स्थानीय तहहरुमा बुझाउन अधिकारकर्मीलाइ सुजाएका थिए ।

महिला अधिकारकर्मी शिवानी पोखरेल, विजया नगरकोटी, भावना भण्डारी, साधना केसी लगाएतको टोलीले प्रजिअ आचार्यलाइ उक्त ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाउन गएको महिला अधिकारकर्मीहरुको टोलीलाइ साथ दिन नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह पनि प्रजिअ आचार्यको कार्यकक्षमा पुगेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्