जिल्लाको भेरी नगरपालिकामा आईतबार ८६ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । १६ जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला स्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा लगाएत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले आईतबार शिवालय गाउँपालिकाको आईशोलेसन अनुगमन गरेको छ । शिवालय गाउँपालिकाले स्थापना गरेको ५ वटा अक्सिजन सिलिण्डर सहित र ५ वटा साधारण वेड गरी जम्मा १० बेडको आईशोलेसनमा एक जना संक्रमित महिलाको अक्सिजन सिलिण्डर सहितको बेडमा राखेर उपचार भईरहेको प्रजिअ देवकोटाले जानकारी दिए ।
शिवालय गाउँपालिकाले स्थापना गरेको १० बेडको आईशोलेसन अनुगमन गर्नुको साथै प्रजिअ देवकोटा सहितको टोलीले शिवालयको प्रहरी चौकी भवन, छेडाचौरको स्वास्थ्य सहायता केन्द्रको पनि अनुगमन गरेको थियो ।
सनिबारसम्म कोरोना जितेर घर फर्कनेको संख्या १२० जना रहेको भेरी नगरपालिकामा आईतबार २०६ जना पुगेको नगर स्वास्थ्य शाखा सह-संयोजक निशा थापा केसीले जानकारी दिएकी छन् । आईतबार १९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १६ जनालाई कोरोना पुष्टी भएको भेरी नगरपालिकाले आईतबार प्रकाशन गरेको कोभिड-१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन बिबरणमा हालसम्म भेरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ५१५ जना पुगेको देखाईएको छ भने, हालसम्म २०६ जना डिस्चार्ज भएका छन् । ३०२ जना सक्रिय संक्रमितले आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म ५५९ जनालाई गरिएको पिसीआर परीक्षणबाट ३२७ जनालाई कोरोना पुष्टी भएको थियो भने, ५४८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १८८ जनालाई कोरोना पुष्टी भएको आईतबारको दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ ।
छेडागाड नगरपालिकामा ७ जनाले कोरोना जिते, ३ जना थपिए
छेडागाड नगरपालिकामा आईतबार ७ जनाले कोरोना जितेर डिस्चार्ज भएको नगर स्वास्थ्य शाखामा कार्यरत अहेव राम बहादुर थापाले जानकारी दिएका छन् । थापाले दिएको जानकारी अनुसार आईतबार छेडागाड नगरपालिकामा ४३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको छ ।
नलगाड नगरपालिकामा ७ जना संक्रमित थपिए
नलगाड नगरपालिकामा आईतबार ७ जनालाई कोरोना पुष्टी भएको छ । सनिबारसम्म जम्मा संक्रमित ३० जना रहेको नगरपालिकामा आईतबार ३७ जना पुगेको छ । हालसम्म ७ जनाले कोरोना जितेर डिस्चार्ज भएको नलगाड नगरपालिकाले आईतबार प्रकाशन गरेको कोभिड-१९ को दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ । आईतबार प्रकाशित दैनिक प्रतिवेदन विवरण अनुसार थप उपचारको लागि ५ जनालाई रिफर गरिएको छ भने, हालसम्म एक जना संक्रमितको मृत्यु भएको छ । प्रतिवेदनका अनुसार आईतबार नलगाड नगरपालिकामा १७ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ६ जना सक्रिय संक्रमितले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयले दैनिक प्रकाशन गर्दै आएको कोभिड-१९ को दैनिक प्रतिवेदन विवरण आईतबार भने प्रकाशन गरेको छैन् । दैनिक रुपमा स्वास्थ्य सेवा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई दिदै आएको कोभिड-१० को रिर्पोट आईतबार समयमै दिन नसकेको हुदा दैनिक प्रतिवेदन विवरण सार्बजनिक गर्न नसकेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।