आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोरोना उपचारको फ्रन्ट लाईनमा पत्रकार बद्री पन्त

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१० गते
जाजरकोट

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा जसरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु दिनरात खटिरहेका छन् । त्यसैगरी जाजरकोटका पत्रकार बद्री पन्त पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारमा दिनरात खटिरहेका छन् । रेडियो नेपाल र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार पन्तले संक्रमितलाई उपचार गर्न राखिएको वार्डमा दैनिक पुगेर बिरामीको अबस्था बुझ्ने, नियमित औषधी खान सल्लाह दिने, प्राकृति चिकित्सा विधि अनुसारका बिभिन्न जडिबुटीबाट बनाईएको घरेलु औषधी नियमित रुपमा बिरामीलाई खुवाउनलाई हिजो आजको दैनिकी बनाएका छन् ।

कोभिड–१९ उपचार जिल्ला अस्पताल नजिकै डेरा लिएर बसेका पत्रकार बद्री पन्त कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सुरुमा खुबै डराएका थिए । तीन दिनसम्म ढोका थुनेर पत्रकार पन्त कोठा भित्रै बसेका थिए । जिल्लाभरी फोन सम्पर्कमा रहेका पन्तले छोरा र परिवारसंग कोठा भित्र बसेर आफ्नो मनलाई थाम्न सकेनन् । कोरोना संक्रमितहरु उपचार नपाएर गाउँमै छट्पटाई रहेको खबर पन्तले टेलिफोन मार्फत बुझे । गाउँका साथिसंगी र आफन्तजनहरुले उपचार नपाएर कोरोनासंगको जीवनमरणको संघर्ष गरीरहेको खबर सुनेपछि पत्रकार पन्तले कोठाभित्रको एकान्त बासलाई तोडे ।

उपचार नपाएर घरमै छट्पटाई रहेका कोरोना संक्रमितहरुलाई ल्याउन पत्रकार पन्त एम्बुलेन्सको ब्यबस्था गरेर गाउँ (लहँ) पुगे । बिरामीहरुको अबस्था हेरेर पत्रकार पन्तले कतिपय संक्रमितहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमै उपचार गर्ने ब्यबस्था मिलाए भने, कतिपय संक्रमितलाई खलंगा स्थित कोरोना उपचार अस्पतालमा ल्याई पुर्याए र कोरोना उपचारको सबै ब्यबस्था मिलाए ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचार गराई रहेका संक्रमितहरुको उपचारमा समस्या आउन नदिन पत्रकार पन्तले आफैले बोकेर तीन पटक दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर पुर्याउन पुगे । जिल्लाको कोरोना उपचार अस्पतालमा उपचार सम्भब नभएका बिरामीलाई एम्बुलेन्समा राखेर सुर्खेत कालागाउँ स्थित प्रदेश अस्पताल पुगे । कोरोना रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धिका स्वास्थ्य सामाग्री पुर्याउन पत्रकार पन्त बारेकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा बेला–बेलामा पुग्ने गरेका छन् ।

खलंगा स्थित कोभिड–१९ अस्पतालमा पत्रकार पन्तले संक्रमित बिरामीहरुलाई आबश्यक पर्ने अक्सिजन सिलिण्डर दैनिक ओसार पसार गर्ने गरेका छन् । संक्रमित बिरामी राखिएका आईशोलसन कक्ष, शौचालय र अस्पतालका अन्य भागमा पत्रकार पन्तले दैनिक सफा गर्ने, फोर उठाउने, डस्वीन राख्ने र उठाउने काम पनि गर्ने गरेका छन् ।

पत्रकार पन्तले दैनिक अस्पतालमा रहेका संक्रमित बिरामीहरुलाई सेतकचिनी, कटुको, जटामसि, सतुवा लगाएत १५ प्रजातिका जडिवुटीमा, आँप, अमिलो, लिच्ची, लाखुरी, असुरो, अम्बाको पात, तेजपत्ता, तुल्सी, पुतिना, अलैंची, तितेपातिलाई ठुलो भाँडामा पकाएर त्यसमा कागतिको रस हालेर बिहान, दिउसो र बेलुका तीन पटक खुवाउने गरेका छन् । अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका २३ जना बिरामीलाई एक हप्तासम्म पत्रकार पन्तले उक्त जडिवुटी सहितको तातोपानी खुवाएपछि स्वास्थ्यमा सुधार आएको बिरामीहरुले प्रतिक्रिया दिएका छन् ।

मानव सम्बेदनालाई हिन बनाई रहेको वेला कोरोना संक्रमणबाट प्रभावित भएर अस्पतालको आईशोलसन बेडमा पुगेका संक्रमित सबैले पत्रकार पन्तको जय–जयकार गरेका छन् । एक जना संक्रमितले निक्कै भावुक भएर अस्पतालको आईशोलेसन बेडबाटै पत्रकार पन्तलाई ६ पेज लामो पत्र लेखेका छन् । उनले लेखेको पत्रमा पत्रकार पन्तलाई भनेका छन्–‘अक्सिजनको सहारामा बेडमा छट्पटाई रहेको वेला तिमी हाम्रो लागि प्राणवायु भएर आयौं, हाम्रो लागि तिमी संजिवनी बन्यौं, आर्युबेदिक औषधी बनाएर तिमीले हामीलाई अमृतजल दियौं, कोरोनासंगको लडाईलाई जित्न सकिने हामीलाई तिमीले अदम्य शाहसको मनोपरामर्श दियौं, तिमीले हाम्रो लागि गरेको यो योगदान अजय अमर हुनेछ, हाम्रो लागि तिमी सतिसाल हौं, तिमीले हामीलाई लगाएको गुणलाई जीवनभरी भुल्ने छैनौं ।’

आईशोलेसनको बेडमा छट्पटाई रहेका बिरामीहरुको अबस्थालाई देखेर ढोका थुनेर कोठा भित्रै बस्न सकिन पत्रकार पन्तले भने–‘मर्नु पर्ने रहेछ भने पनि यिनै बिरामीहरु संगसंगै मरौला भनेर म पनि बिरामीको उपचारमा लागेको हौं ।’ मानव सेवामा कमलो हृदय देखाएका पत्रकार पन्त कोरोना संक्रमणप्रति भने, कठोर देखिएका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्नुको साथै दैनिक खाने खानालाई सन्तुलन गर्न सकिएमा कोरोना संक्रमण नहुनेमा पत्रकार पन्त विश्वस्त देखिन्छन् । स्वास्थ्य सामाग्री लिएर आईतबार बारेकोटको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा पुगेका पन्त सोमबार संक्रमित बिरामीलाई ल्याउन नलगाड नगरपालिका पुगेका छन् । बिहान ६ बजेदेखि बेलुका ११ बजेसम्म कोरोना संक्रमित बिरामीहरुकै उपचारमा खटनपटन हुनु नै पत्रकार पन्तको हिजो आजको दैनिकी हो ।

प्रतिकृया दिनुहोस्