Hamro Sanchar

‍‍‍‍जाजरकोटमा ६५ प्रतिशत मतदाताले उपनिर्वाचनमा मतदान

प्रकाशित : २०८१/८/१६ गते

शान्तिपुर्ण रुपमा उपनिर्वाचन सम्पन्न
जाजरकोट
नलगाड नगरपालिकाको उप–प्रमख र कशे गाउँपालिका–७ को वडा अध्यक्ष पदको उपनिर्वाचनमा मतदान गर्ने कार्य सम्पन्न भएको छ । विहान ७ बजेदेख सुरु गरिएको मतदान बेलुका ५ बजे सम्पन्न भएको हो ।

१३ वटा वडा रहेको नलगाड नगरपालिकामा १६ वटा मतदान स्थलमा २४ वटा मतदान केन्द्र रहेका थिए । १६ हजार ६२ मतदाता रहेको नलगाड नगरपालिकामा १० हजार ५४२ जनाले मतदान गरेका छन् । एक मतदान स्थलमा २ वटा मतदान केन्द्र रहेको कुशे गाउँपालिका–७ मा एक हजार ३०२ जना मतदाता संख्या रहेको थियो । कुशे–७ को दुइ वटै मतदान केन्द्रका जम्मा ९४८ जनाले मतदान गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, जाजरकोटका सुचना अधिकारी नविन कठायतले दिएको जानकारी अनुसार नलगाड नगरपालिकाका जम्मा मतदाता संख्याको आधारमा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन् भने, कुशे–७ मा झण्डै ७३ प्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्लाका १७ वटा मतदान स्थलका २६ वटा मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले उपनिर्वाचन सम्पन्न भएको सचना अधिकारी कठायतले बताएका छन् ।

२०७९ बैसाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित नलगाड नगरपालिकाको उप–प्रमुख सरिता सिंहको २०८० कातिक १७ गतेको जाजरकोट भुकम्पमा निधन भएको थियो । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धको साँझा उम्मेदवारबाट सिंह नगर उप–प्रमुखमा निर्वाचित भएकी थिइन् । सिंहको निधन पश्चात सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेबाट सुनिता बोहरा, नेपाली काँग्रेसबाट इन्द्र चन्द सिंह, नेकपा (माओवादी केन्द्र) बाट देवका लामिछाने (सोभा), राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्बती पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादी पार्टीबाट पबित्रा जैसी चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

त्यसैगरी हटअट्याक भएर स्थानीय तहको निर्वाचनबाट निर्वाचित कुशे गाउँपालिका–७ का वडा अध्यक्ष मन बहादुर घर्तीको निधन भएको थियो । घर्ती नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । घर्तीको निधन पश्चात सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेबाट डम्बर बहादुर घर्ती, नेपाली काँग्रेसबाट खम्ब बहादुर सिंह, नेकपा (माओवादी केन्द्र) बाट गोरख बहादर नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लाल बहादुर खत्री चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

१६ वटा मतदान स्थलका २४ वटै मतदान केन्द्रबाट मतपेटिका नलगाड नगरपालिकाको प्रशासनिक केन्द्र दल्लीमा ढुवानी गर्ने कार्य सुरु भइरहेको छ । मतपेटिका ढुवानी भएपछि सर्बदलीय निर्णयका आधारमा आज रातिबाटै मत गणना कार्य सुरु गरिने जिल्ला मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत धन बहादुर बुढाले जानकारी दिए ।

त्यसैगरी कुशे गाउँपालिका–७ मा सर्बदलीय निर्णयका आधारमा आज राति देखिनै मत गणना कार्य सुरु गरिने बताईएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्