News Portal

मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

१९४ पटक

जाजरकोट
छेडागाड नगरपालिका–२ सुयाडा स्थित मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । विगत केही बर्षदेखि बेलायतमा बस्दै आएका स्याङजा निबासी इन्द्र क्षेत्रीको सहयोगमा न्यानो कपडा र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटले शैक्षिक सामाग्री वितरण गरेको हो ।

छेडागाड नगरपालिका–२ सुयाडा दैलेख जिल्लाको सिमानासंग जोडिएको छ । सुयाडामा २०७८ सालमा स्थापना भएको मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठ आबासिय विद्यालय हो । उक्त आबासिय विद्यालयमा अध्ययन गर्ने १० जना बालक र ३ जना बालिका गरेर १३ जना रहेका छन् । १३ जनै बालबालिका साथमा अविभावक नभएका अनाथहरु भएको पिठका शिक्षक शिवशंकर उपाध्याय दहालले बताए ।

सुयाडामा रहेको मालिका मन्दीर जाजरकोट र दैलेख जिल्लाको प्रसिद्ध मन्दीर भएको छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत शिक्षा अधिकृत खडक केसीले बताए । दैलेख र जाजरकोट जिल्लाको शक्ति पीठका रुपमा रहेको मालिका मन्दीरकै नाममा संस्कृत देव विद्या पिठ स्थापना गरिएको अधिकृत केसीले बताएका थिए । संस्कृत शिक्षाले स्वरोजगार बनाउने बताउदै अधिकृत केसीेले आधारभुत स्तरको पठनपाठन कक्षागत पाठ्यक्रममा आधारित भएता पनि मावि स्तरको पढाइलाइ संस्कृत पाठ्याक्रममा आधारित बनाउनुपर्ने भनाइ राखेका थिए । विद्यार्थी संख्या बढ्दै गयो भने, शिक्षक दरबन्दी थप गर्न सकिने अधिकृत केसीले भनाइ राखेका थिए ।

विद्यालय भवन विनानै खुल्ला चौरमा पठनपाठन कार्य गर्दै आएको मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठको भिडियो देखेर स्याङजा निवासी इन्द्र क्षेत्रीले भेरी नगरपालिकाको पशुपन्छी शाखामा कार्यरत धन बहादुर विक मार्फत न्यानो कपडा सहयोग गरेका थिए । क्षेत्रीको आर्थिक सहयोगमा विकले १३ जना विद्यार्थीहरुको लागी न्यानो कपडाको सेट, जनही ओढ्ने कम्मल, ओछ्याउने डसना वितरण गरेका थिए ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्चले जनही झोला, कापी, कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेका थियो । दैनिक पाठ्यक्रममा आधारित पठनपाठन हुदै आएको उक्त मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठमा हप्तामा एक दिन संस्कृत तथा ज्योतिष शिक्षा र योग शिक्षा पढाइ हुने गरेको शिक्षक दहालले बताए । योग शिक्षा दहाल आफैले दिएका छन् भने, ज्योतिष शिक्षा मनराम अधिकारीले पढाइ रहेका छन् । मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठमा ज्योतिष शिक्षा लिने विद्यार्थीको संख्या २२ जना रहेको छ भने, योग शिक्षा लिनेहरुको संख्या ३ दर्जन भन्दा बढि रहेको छ ।

भवन तथा आबास गृह विना संचालन गरिएको मालिका अखण्ड गुरुकुल संस्कृत देव विद्या पिठमा पठनपाठन गर्न निकै कठिनाइ भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिराम उपाध्यायले भनाइ राखेका थिए । आबासिय रुपमा बस्दै आएका बालबालिकाका लागि खाद्यन्न, लत्ताकपडा, भाँडाकुढा लगाएतका सामाग्रीहरुको व्यवस्थापन गर्न निकै कढिनाइ भइरहेको अध्यक्ष उपाध्यायले बताए ।

कपडा तथा सामाग्री वितरण कार्यक्रममा छेडागाड नगरपालिका–२ का वडा अध्यक्ष बालकृष्ण बस्नेत, शिक्षा अधिकृत खडक केसी, वडा सदस्य जय बहादुर बस्नेत, पशु अधिकृत धन बहादुर विक, पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक पुष्पराज खतिवडा लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्