News Portal

ठाडी भाका तथा हिउदाले गीत प्रतियोगितामा देवी कुमारी खत्रीको समुह प्रथम

डिजिटल संचार संवाददाता२०८१ पौष १६
१२२ पटक

जाजरकोट
हरेक बर्ष जिल्ला सदरमुकाम खलंगामा लाग्दै आएको रमाइलो मेला यस बर्ष धुमधामका साथ लागेको छ । जाजरकोट भुकम्पले गत बर्ष लाग्न नसकेको रमाइलो मेलालाइ यस बर्ष जत्रालुले निकै महत्व दिएको मेला आयोजक समितिले दावी गरेको छ ।

ठाडी भाका तथा हिउदाले गीत प्रतियोगिता रमाइलो मेला–२०८१ को मुख्य र मौलिक प्रतियोगिताका रुपमा रहेको थियो । उक्त प्रतियोगितामा भेरी नगरपालिका–१ की देवी कुमारी खत्रीको समुहले प्रथम स्थान हासिल गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, जाजरकोटका अध्यक्ष जय रावलले जानकारी दिएका छन् । अध्यक्ष रावलले दिएको जानकारी अनुसार उक्त प्रतियोगितामा कुशे गाउँपालिका–५ पाँचकाटिया निबासी तथा लोक दोहरी गायिका देवी थापाले द्धितिय स्थान हासिल गरेकी छन् । त्यसैगरी कुशे गाउँपालिका–२ टालेगाउँकी भुमिका हमालले तृतीय स्थान हासिल गरेकी थिइन् ।

१० हजार राशी नगद पुरस्कार रहेको प्रतियोगिताको प्रथम पुरस्कारको परायोजन नलगाड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलबीर विकले गरेका थिए । त्यसैगरी ६ हजार नगद राशी रहेको द्धितिय पुरस्कार र ३ हजार नगद राशी रहेको तृतीय पुरस्कारको परायोजन उद्योग बाणिज्य संघ, जाजरकोटका महासचिव मोहन खड्का, पुर्व अध्यक्ष कर्ण खत्री, ज्योति विकास बैंक जाजरकोट शाखाका सहायक प्रवन्धक प्रेम बहादुर सिंह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, जाजरकोटका अध्यक्ष जय रावलले गरेका थिए । प्रतियोगिताको अन्य व्यवस्थापन खर्च राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, जाजरकोटले गरेको अध्यक्ष रावलले बताएका छन् ।

प्रतियोगिता १४ र १५ गते दुइ दिनसम्म संचालन गरिएको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट १८ वटा समुहले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, जाजरकोटले जनाएको छ । रमाइलो मेला–२०८१ मा ठाडी भाका तथा हिउदाले गीत प्रतियोगिताको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, जाजरकोटले गरेको थियो ।

कला, साहित्य र मनोरञ्जनका क्षेत्रमा जिल्लामा ठुलो योगदान गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति, जाजरकोटले आगामी दिनहरुमा अझ बढि महत्वपूर्ण योगदान गर्दै जान अध्यक्ष रावलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्