News Portal

अधिकार सम्पन्न प्रदेश सरकारको पक्षमा प्रचण्ड सरकार बाहेक अरु कुनै सरकार लागेनः– माननीय सिंह

डिजिटल संचार संवाददाता२०८१ पौष १६
२०६ पटक

जाजरकोट
अधिकार सम्मपन्न प्रदेश सरकार बनाउन प्रचण्ड सरकार बाहेक अरु कुनै पनि सरकारले ध्यान दिन नसकेको कर्णाली प्रदेश ‘क’ का माननीय तथा पुर्वमन्त्री बेदराज सिंहले भनाइ राखेका थिए । जिल्ला सदरमुकाम खलंगामा मंगलबार मानव अधिकार तथा शान्ति समाजद्धारा आयोजित नागरिक सम्वाद कार्यक्रममा माननीय सिंहले यस्तो भनाइ राखेका हुन् ।

नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था विश्वकै सुन्दर ब्यबस्था भएको माननीय सिंहले बताएका थिए । माननीय सिंहले विश्वकै उत्कृष्ट व्यवस्था मानिएको अमेरिकामा दिनभरी काम नगर्ने व्यक्तिले बेलुका खाना खाना नपाउने व्यस्था भएको भनाइ राखेका थिए । काम नगरेर कुरा मात्र गरेर खाना पाउने व्यवस्था नेपालमा मात्र भएको उनले भनाइ राखेका थिए । क्यारेम्बोर्डमा दिनभरीको समय विताएर वेलुका प्रधानमन्त्रीलाइ गालि गरेर फेसवुकमा लेख्न पाउने व्यवस्था नेपालमा मात्र भएको नेपाली काँग्रेस, जाजरकोट सभापति समेत रहेका माननीय सिंहले भनाइ राखेका थिए ।

२०६४ सालदेखि यता मात्र नेपालमा संस्थागत विकासले गति लिएको बताउदै माननीय सिंहले अधिकारको बिषयले मात्र समाजको गति अगाडी बढ्न नसक्ने बताएका थिए । विकास र मानव अधिकारको विषयलाइ नेपालमा संगसंगै अगाडी बढाउनुपर्ने माननीय सिंहले तर्क गरेका थिए । संघीयता कार्यान्वयन भए पश्चात प्रदेश सरकार अधिकार सम्पन्न हुन नसक्दा संघीयताप्रतिको नागरिक विश्वास कमजोर बन्दै गएको बताउदै माननीय सिंहले प्रचण्ड सरकार बाहेकका अन्य सरकारहरु अधिकार सम्पन्न प्रदेश सरकार बनाउन लागि नपरेको आरोप लगाएका थिए ।

मिसन कर्णाली, मोडेल कर्णाली, इन्भेष्ट कर्णाली, प्याकेज कर्णाली, रिलिफ कर्णाली र कर्णालीको उत्थान र विकासमा साँझेदारी भन्ने विषयमा मानव अधिकार तथा शान्ति समाजले जाजरकोट जिल्ला सदरमुकाम खलंगामा नागरिक सम्वाद कार्यक्रमको आयोजना गरेको थियो । मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालको अध्यक्षता आयोजित नागरिक सम्वाद कार्यक्रममा प्रमुख अतिथि माननीय बेदराज सिंह, नेपाली काँग्रेस जाजरकोटका युवा नेता महेन्द्र बहादुर शाह, प्रवक्ता छवी पन्त, मानव अधिकारकर्मी केदार बहादुर शाह, बालकुमार शर्मा, जनक बहादुर सिंहले वक्ताका रुपमा धारणा राखेका थिए ।

कार्यक्रमका बक्ताहरुले गत बर्षको कातिक १७ गते मध्य रातिको भुकम्पले अस्तव्यस्त भएको जाजरकोट जिल्लाको नागरिक जीवन स्तरमा सहजता ल्याउन मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ÷संस्थाले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम होटल रेडिसनको सभाहलमा आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्