
जाजरकोट
जाजरकोटको सामाजिक विकास कार्यालयले संस्थागत योगाभ्यासको सुरुवात गरेको छ । बिहिबारदेखि सामाजिक बिकास कार्यालयको हलमा कार्यालयमा कार्यरत कर्मचारीहरुले योगाभ्यासको सुरुवात गरेका हुन् ।
भेरी नगरपालिकाको आयोजनामा संचालित पाँच दिने बृहत निशुल्क योग शिविरबाट गरिएको योगाभ्यासलाइ निरन्तरता दिन संस्थागत योगाभ्यासको सुरुवात गरिएको सामाजिक विकास कार्यालय, जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए । पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी (अध्यक्ष) लवदेव मिश्रको सहजीकरणमा पाँच दिनसम्मको योगाभ्याससंगै गरिएको यज्ञमा जाहेर गरिएको प्रतिवद्धता अनुसार संस्थागत रुपमा योगलाइ निरन्तरता दिने कामको सुरुवात गरिएको कार्यालय प्रमुख खत्रीले बताए । कार्यालयमा कार्यरत सबै कर्मचारीहरुको सहभागितामा दैनिक योगाभ्यास गरिने खत्रीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
लागु औषध नियन्त्रण तथा रोकथाम गर्न भेरी नगरपालिकाले पतञ्जली योग समिति नेपालको सहयोगमा पाँच दिने बृहत निशुल्क योग शिविर संचालन गरेको थियो । पाँच दिनसम्म संचालन गरिएको उक्त शिविरमा दैनिक ४०० जनाले योगाभ्यास गर्ने गरेका थिए । शिविर बुधबार सम्पन्न भएको थियो । शिविर पश्चात संस्थागत रुपमा योगाभ्यास गर्ने जिल्लाका कार्यालयहरु मध्ये सामाजिक विकास कार्यालय पहिलो भएको छ । संस्थागत योगाभ्यासको नेतृत्व कार्यालय प्रमुख खत्रीले गरेका छन् ।