
जाजरकोट
छेडागाड नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले छेडागाड–५ वडावनको फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना गरेको हो ।
छेडागाड नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेको आँखा उपचार केन्द्रले सोमबार देखिनै आँखा जाँच गर्न सुरुवात गरेको छ । सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मन्जु पन्तले नगरप्रमुख खड्काका दुवै आँखा परीक्षण गरेर आँखा जाँचको सुरुवात गरेकी थिइन् । डा. पन्तकानुसार प्रमुख खड्काको दाँया आँखामा मोतिविन्दु भएको र बाँया आँखामा मासु पलाएको बताएकी थिइन् । मोतिविन्दु भन्दा पहिला बाँयामा पलाएको मासुको शल्यक्रिया गर्नु पर्ने बताएकी थिइन् ।
धुलो, धुवा, खानपान जस्ता ग्रामिण जीवनशैलीका कारण बर्सेनी मोतिविन्दुका बिरामीहरुको संख्या बढ्दै गएको नगर प्रमुख खड्काले भनाइ राखेका थिए । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गर्न सफल भएको नगर प्रमुख खड्काले भनाइ राखेका थिए । आँखा उपचार केन्द्रको लागि आँखा जाँच गर्ने मेसिन, भिजन चार्ट, पिन होल्डर लगाएतका सामाग्री सहितको प्राथमिक औषधि सहयोग गरेकोमा सुर्खेत आँखा अस्पताललाइ नगर प्रमुख खड्काले धन्यवाद दिएका थिए ।
चेतनामा दृष्य ज्ञान हासिल गराउने आँखा मानव जीवनको महत्वपूर्ण अंग भएको नगर प्रमुख चन्द्र बहादुर थापाले भनाइ राखेका थिए । तुलनात्मक रुपमा मोतिविन्दुको समस्या जेष्ठ नागरिकहरुमा बढि रहेको बताउदै नगर उपप्रमुख थापाले सामान्य आँखा जाँच गर्नको लागि जिल्ला भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको भनाइ राखेका थिए ।
नियमित आखाँ जाचँ गर्नु, समयमै मोतिविन्दु पहिचान गर्नु, जनचेतना अभिबृद्धि गर्नु, चश्मा तथा लेन्स सम्बन्धी सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा सुर्खेत आँखा अस्पताल संचालक समितिका अध्यक्ष रामलाल आचार्यले भनाइ राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख खड्का सहित जिल्ला समन्वय समिति जाजरकोट सदस्य खडक बहादुर बुढा, नगर उप प्रमुख चन्द्र बहादुर थापा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एंव सुर्खेत आँखा अस्पताल संचालन समिति संयोजक रामलाल आर्चाय, जाजरकोट शाखाका सभापति हरि बहादुर बस्नेत, छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमकुमार ढकाल, सामुदायिक आँखा उपचार केन्द्र जाजरकोटका इन्चार्ज प्रदीपजंग शाह, राजनितिक दलका प्रतिनिधी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार तथा सर्वसाधारण नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले आँखा उपचार केन्द्रबाट प्रवाह हुने सेवाहरुलाई विश्वसनीय तथा गुणस्तरीय बनाउन दक्ष जनशक्ति, उपकरण, औषधिको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।
पश्चिम जाजरकोटका लागि उक्त आँखा उपचार केन्द्र पहिलो भएको बताइएको छ । सो केन्द्रबाट कुशे, जुनीचाँदे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकाका नागरिकहरु लाभाम्बित हुन सक्ने अपेक्षा राखिएको छ ।
आखाँ उपचार केन्द्र स्थापनासंगै छेडागाड नगरपालिकाको आर्थिक, नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र खलंगा जाजरकोटले दुइ दिने निशुल्क मोतिविन्दु शल्यक्रिया शिविर संचालन गरेको छ । छेडागाड नगरपालिका–५ फुर्किचौर स्थित नगर अस्पतालमा आयोजित शिविरको पहिलो दिन ८० जना मोतिविन्दुका विरामीहरुका आँखा शल्यक्रिया गरिएको सामुदायिक आँखा उपचार केन्द्र खलंगाका इन्चार्ज प्रदीपजंग शाहले जानकारी दिए ।
मोतिविन्दु शल्यक्रिया शिविरको पहिलो दिन सेवा लिने विरामीहरु छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकाका रहेका थिए । उक्त शिविरमा सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मञ्जु पन्तको टिमले शल्यक्रिया गरेको छ । शिविर मंगलबारसम्म संचालन गरिने सामुदायिक आँखा उपचार केन्द्र खलंगाले जनाएको छ ।