News Portal

जाजरकोट जिल्ला अस्पतालमा एक हप्तादेखि आइरन चक्की अभाव

डिजिटल संचार संवाददाता२०८२ जेठ ९
२७५ पटक

जाजरकोट
जाजरकोट जिल्ला अस्पतालमा एक हप्तादेखि आइरन चक्कीको अभाव भएको छ । प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले समयमै औषधि आपुर्ति नगर्दा जिल्ला अस्पतालमा आइरन चक्कीको अभाव भएको हो ।

आइरन चक्कीको लागि जाजरकोट जिल्ला अस्पतालमा पुगेका गर्भवति महिलाहरु खाली हात फर्किने गरेका छन् । नियमित गर्भ जाँचपछि आइरन चक्की लिएर घर फर्किन बानी परेका गर्भवति महिलाहरु खाली हात घरफर्किनु परेपछि चिन्तिन हुन थालेका छन् ।

पेटभित्र हुर्कदै गरेको भ्रुणको मस्तिष्क, रक्त प्रणाली र मांसपेशीहरुको विकाससंगै आमाको शरिरलाई चाहिने रगतको मात्रा बढाउन अनिवार्य बनेको आइरन अभावमा अस्पताल सेवा क्षेत्रका गर्भवति महिलाहरुले पिरलो गर्न थालेका छन् ।

नियमित आइरनको सेवन बिना थकाइ लाग्ने, कमजोरी महसुस हुनुको साथै चक्कर लाग्ने, रक्तअल्पताको सिकार बन्ने खतराको चिन्ताले सताउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक गर्भवति महिलाले बताइन ।

निशुल्क बितरण गरिने आइरन जिल्ला अस्पतालले खरिद गर्न नमिल्ने स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए । जिल्ला अस्पतालबाट वितरण गरिने आइरन प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले आपुर्ति गर्ने जानकारी दिदै डा. पुनले आपुर्ति व्यवस्थापन केन्द्रले डोल्पा र जाजरकोट जिल्लाको लागि संगै आपुर्ति गर्ने भएको हुदा ढिलाइ भएको बताए । अस्पतालमा आइरनको अभाव एक हप्तादेखि भएता पनि अब केही दिनमै अस्पतालमा आइरन आपुर्ति गर्ने डा. पुनले विश्वास दिलाए ।

प्रतिकृया दिनुहोस्