News Portal

कुदु स्वास्थ्य चौकी जिल्लाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

डिजिटल संचार संवाददाता२०८२ जेठ १०
४०९ पटक

जाजरकोट
स्वास्थ्य चौकी कुदु जाजरकोट जिल्लाको पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । १० मापदण्ड र १६ वटा सुचक पुरा गरेपछि कुदु स्वास्थ्य चौकीलाइ शुक्रबार पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।

पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिका–२०७९ अनुसार स्वास्थ्य चौकी कुदुलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य चौकी कुदुका ईन्चार्ज पवन विष्ठले जानकारी दिए । निर्देशिकानुसार स्वास्थ्य चौकीको जनशक्ति व्यवस्थापन, उर्जा (बिद्युत), खानेपानी, शौचालय तथा फोहर व्यवस्थापन, औषधिहरुको सुरक्षित प्रयोग, सामाजिक सचेतना, भौतिक संरचनाको व्यवस्थाप लगाएतका १० वटा मापदण्डलाइ कुदु स्वास्थ्य चौकीले पुरा गरेको ईन्चार्ज विष्ठले बताए । कुदु स्वास्थ्य चौकीले नियमित गर्भजाँच, बृद्धि अनुगमन, संस्थागत जन्मेका बच्चाले एक घण्टा भित्रै स्तनपान, नियमसंगत भिटामिन ए, जुकाको औषधि, ६ महिनासम्म पूर्ण स्तनपान, ६ महिनापछि स्तनपानसंगै पुरक खाना, पूर्णखोप युक्त संस्था, नियमित बालबिटा पाएका बच्चा, फोलिक एसिड चक्की पाएका किशोरीहरु, झाडा पखाला लागेको वेला जिंक चक्की र पुनर्जलिय झोलको प्रयोग लगाएतका १६ वटा सुचक परा गरेको इन्चार्ज विष्ठले भनाइ राखेका थिए । पोषणमैत्री स्वास्थ्य संस्था निर्देशिकामा १५ देखि १६ अंक प्राप्त गरेको स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सकिने व्यवस्था भएको जानकारी दिदै ईन्चार्ज विष्ठले १५.५० प्रतिशत अंक प्राप्त गरेपछि कुदु स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जानकारी दिए ।

भेरी नगरपालिका–१३ का वडा अध्यक्ष यज्ञ बहादुर बटालाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप–प्रमुख दल बहादुर सिंहले व्यानर पढेर कुदु स्वास्थ्य चौकीलाइ पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेका थिए । यही कार्यकालमा कुदु स्वास्थ्य चौकी मात्र नभएर सिंङ्गो जाजरकोट जिल्लालाई पोषणमैत्री जिल्ला घोषणा गर्ने अबसर प्राप्त होस भन्ने उप–प्रमुख सिंहले शुभेक्षा व्यक्त गरेका थिए । जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्न सफल भएको भेरी नगरपालिका–१३ लाइ बालमैत्री वडा घोषणा गर्न सफल होस भन्ने उप–प्रमुख सिंहले शुभकामना दिएका थिए ।

खानेपानीको अभाव भएता पनि हाल कुदुमा आधारभुत रुपमा खानेपानीको व्यवस्थापन गरिएको भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले भनाइ राखेकी थिइन् । सम्भावनाको दृष्टिले कुदु केन्द्रीकृत मिलेको बस्ती, यातायात र पर्यटनको सम्भावना रहेको कुदुमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणामा मात्र सिमिति हुन नहुने उप–प्रमुख जैसीले बताइन् । पूर्वाधार विकाससंगै कुदुलाइ आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा बालमैत्री वडा, शैक्षिक सुधार वडा, विभेद मुक्त वडा लगाएत नमुना वडा घोषणा अभियानलाइ अगाडी बढाउनु पर्नेमा उप–प्रमुख जैसीले जोड दिएकी थिइन् ।

भेरी नगरपालिकाको १३ नम्बर वडा कृषि उत्पादन, औद्योगिक विकासका दृष्टिले निकै सम्भावना बोकेको वडा भएको बताउदै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले सामाजिक विकासका चरणहरुलाइ क्रमश पुरा गर्दै अगाडी बढेको बताए । आज पोषणमैत्री स्वास्थ्य संस्था घोषण गर्न सफल भएको वडा केही दिनपछि बालमैत्री वडा घोषणा गर्ने दिशामा अगाडी बढेको अधिकृत घर्तीले भनाइ राखेका थिए । मध्यपहाडी लोकमार्ग र भेरी करिडोरले कुदुलाइ संघीय राजधानीसंग जोडेको बताउदै अधिकृत घर्तीले भेरी नगरपालिकाले कुदुमा कर्णाली प्रदेशकै ठुलो रङ्गशालाको योजना कार्यान्वयनको प्रकृयालाइ अगाडी बढाएको बताए । रुकुमपश्चिम जिल्लाको सिमानासंग जोडिएको चर्चा गर्दै अधिकृत घर्तीले नगरपालिकाका १३ वटै वडाहरु मध्ये कुदुलाइ नमुना वडाका रुपमा बिकास गरेर अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषण पश्चात स्वास्थ्य चौकीको सेवा क्षेत्रका बालबालिका तथा नागरिकहरुले पोषणयुक्त आहारविहारमा ध्यान दिन स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक डा. कृतिका बगालेले सुझाएकी थिइन् । बालबालिकाहरुको नियमित स्वास्थ्य जाँच गरेर पोषणमैत्री स्वास्थ्य संस्था घोषणालाइ निरन्तरता दिन उनले सुझाव दिएकी थिइन् । पोषणमैत्री स्वास्थ्य संस्था घोषणामा महिला स्वास्थ्य स्वयम सेविकाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै डा. बगालेले उनीहरुलाइ धन्यवाद सहित सम्मान गर्नुपर्ने भनाइ राखेकी थिइन् ।

गत बर्ष सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–४ स्थित सरिकोट स्वास्थ्य चौकी कर्णाली प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको जानकारी दिदै भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीले कुदु स्वास्थ्य चौकी कर्णाली प्रदेशकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको बताए । पोषणमैत्री स्वास्थ्य संस्था घोषण गर्नु पुर्वका सुचकहरु पुरा गर्न बहुँ क्षेत्रीय पोषण कार्यक्रम, वडा कार्यालयले सघाएको बताउदै शाखा प्रमुख वलीले प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण निकायलाइ धन्यवाद दिएका थिए । घोषणा कार्यक्रमलाइ दीगो बनाउन स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, वडाका महिला स्वास्थ्य स्वयम सेविका, वडा कार्यालय र वडाबासी नागरिकहरुलाइ वलीले अपिल गरेका थिए ।

घोषणालाई दिगो बनाउन पोषणमैत्री स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र व्यवस्थापन समितिको बढि भुमिका रहने बताउदै वडाअध्यक्ष यज्ञ बहादुर बटालाले घोषणालाइ दिगो बनाउन निर्देशन दिएका थिए । वडा नं. १३ को समग्र विकासका पक्षमा आफु लागि परेको बताउदै वडाअध्यक्ष वटालाले बालमैत्री वडा घोषणा अभियानलाइ अगाडी बढाएको बताए । कर्णाली प्रदेशकै दोस्रो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेर भेरी नगरपालिकाको शिर उच्च बनाएको वडाअध्यक्ष बटालाले दावी गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका धुर्व प्रसाद शर्मा, नेकपा एमालेका पूर्ण बहादुर सुनार, नेकपा (माओवादी केन्द्र) दिपक बस्नेत, नेपाल पत्रकार महासंघ, जाजरकोट सचिव रेशम बहादुर खड्काले प्रतिबद्धतामुलक शुभकामना मन्तव्य राखेका थिए ।

नगर स्वास्थ्य शाखाका पोषण फोकल पर्सन कौशिला बटालाले संचालन गरेको कार्यक्रममा जग्गा चन्दादाता आइते बटाला, द्रोपति खत्री, केवली बटाला लगाएत महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य सेवा कार्यालयलाइ सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो । बच्चाको २४ पटक बृद्धि अनुगमन गराउने आमा भारति बटाला, बच्चा रियासा बटाला र आमा करुणा खत्री, बच्चा तारा कुमारी खत्रीलाइ कार्यक्रममा अण्डाका क्यारेड र फलफुल उपहार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्