News Portal

भेरी नगरपालिकामा औपचारिक शिक्षा तथा आजीवन सिकाइ सम्बन्धि अभिमुखीकरण

२८ पटक

जाजरकोट
औपचारिक शिक्षा तथा आजीवन सिकाइ सम्बन्धि भेरी नगरपालिकाले अभिमुखीकरण गरेको छ । जनप्रतिनीधि, बिषयगत शाखा प्रमुख, सामुदायिक सिकाइ केन्द्रका प्रतिनीधि र सरकारवालाहरुलाइ नगरपालिकाले औपचारिक शिक्षा तथा आजीवन सिकाइ सम्बन्धि अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन–२०७५ को दफा १९ ले २०८५ साल बैसाख १ गतेपछि आधारभुत शिक्षा प्राप्त नगरेको व्यक्तिले कुनैपनि सरकारी अनुदान वा सरकारी नियन्त्रणमा रहेको कुनै पनि संस्थाको सेवामा प्रवेश वा सरकारी, गैरसरकारी र नीजि क्षेत्रमा स्थापित संस्थाको कुनै पनि पदमा निर्वाचित, नियुक्ति वा मनोनयन हुन वा रोजगारी प्राप्त गर्न योग्य नमान्ने व्यवस्था गरेको नगर शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख अमृत पुनले जानकारी दिए । उक्त दफाले आधारभुत शिक्षा प्राप्त नगरेको व्यक्तिलाइ कुनैपनि कम्पनी, फर्म, सहकारी संस्था वा गैरसरकारी संस्थाको संस्थापन गर्न वा त्यस्तो कम्पनी, फर्म वा संस्थाको संस्थापक सेयरधनी, संचालक वा सदस्य वा कुनैपनि पदाधिकारी हुन नपाउने व्यवस्था गरेको शाखा प्रमुख पुनले बताएका थिए ।

नेपालको संविधानको धारा ३१ ले शिक्षालाइ मौलिक हकमा राखेको जानकारी दिदै शाखा प्रमुख पुनले आधारभूत शिक्षालाइ पहुँचको हकमा राखेको बताए । नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षालाइ अनिवार्य एवं निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हकमा राखेको पुनले बताए । संविधानलेनै अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको व्यवस्था गरेको जानकारी दिदै पुनले दृष्टी विहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक भएको बताए ।

संविधानको धारा ५१ ले राज्यका नीतिहरू अन्तरगत नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिको व्यवस्था गरेको शाखा प्रमुख पुनले बताए । शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने राज्यको नीति रहेको पुनले बताए ।

सबै नागरिकलाइ आधारभुत शिक्षा प्रदान गरि साक्षरता दर वृद्धि गर्नुको साथै साक्षर नेपाल राष्ट्रिय अभियानमा योगदान गर्नुपर्ने पुनले बताए । नेपालको संविधानले गरेको व्यवस्थालाइ कार्यान्वयन गर्न बैकल्पिक, अनौपचारिक तथा खुल्ला शिक्षाका माध्यामबाट साक्षरता कार्यक्रम संचालन गर्नुपर्ने पुनले बताए । सामुदायिक सिकाई केन्द्र, आधारभूत प्रौढ शिक्षा, परम्परागत तथा अनौपचारिक शिक्षाका अन्य माध्यमबाट साक्षरता कार्यक्रमलाइ पुर्नता दिनुपर्ने बताउदै शाखा प्रमुख पुनले प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गर्नुपर्ने प्रावधान रहेको बताए ।

कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रले गर्नुपर्ने कामका विषयमा भेरी नगर शिक्षा, यवा तथा खेलकुद विकास शाखामा कार्यरत स्रोत शिक्षक प्रेम केसीले चर्चा गरेका थिए । केसीले सामुदायिक सिकाइ केन्द्र सम्बन्धि नीतिगत तथा कानुनी व्यवस्थाका विषयमा सहभागीहरुलाइ जानकारी गराएका थिए । जाजरकोट जिल्लाको साक्षरता दर ७५ प्रतिशत रहेको जानकारी दिदै स्रोत शिक्षक केसीले सामुदायिक सिकाइ केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस्