जाजरकोट जिल्ला अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजन सिलिण्डर प्रयाप्त भएका छन् । भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले निर्धारित समयमै अक्सिजन सिलिण्डर खरिद गरेर स्वास्थ्य सेवा कार्यालयलाई बुझाएपछि जिल्ला अस्पताललाई कोरोना बिरामीको उपचार गर्न अक्सिजन सिलिण्डर प्रयाप्त भएको हो ।
भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले बुधबार १०० वटा अक्सिजन सिलिण्डर स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई बुझाएको छ । ४० वटा अक्सिजन सिलिण्डर एक हप्ता भित्रै बुझाउने भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटका प्रोपराईटर भीम बहादुर महताराले जानकारी दिएका छन् । भ्याट बाहेक ३६ लाख ३६ हजार मुल्यमा १४० वटा अक्सिजन सिलिण्डर खरिद गरेर ७ दिन भित्रै कार्यालयलाई बुझाउने गरि यहि जेठ ९ गते स्वास्थ्य सेवा कार्यालयसँग भवानी प्याथोक्याम सप्लायर्स, जाजरकोटले ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा ४० वटा बाँकी राखेर १०० वटा अक्सिजन सिलिण्डर ल्याई पुर्याउदा पनि कार्यालयले सिलिण्डर राख्ने ठाउँको ब्यबस्थापन गर्न नसकेको प्रोपराईटर महताराको भनाई रहेको छ ।
सम्झौता अनुसार भवानी प्याथोक्याम सप्लायर्सले कार्यालयलाई १४० वटा अक्सिजन सिलिण्डर बुझाएपछि जिल्ला अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गर्न तत्काल अक्सिजनको अभाव नहुने स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले जानकारी दिएका छन् । सप्लायर्सले ल्याएका १४० वटा अक्सिजन सिलिण्डर सहित हाल जिल्ला अस्पतालमा १९८ वटा चालु अबस्थाका अक्सिजन सिलिण्डर हुन्छन् निमित्त व्यवस्थापक जैसीले भने–‘५० शैयाको जिल्ला अस्पतालमा हाल भवन अभावका कारण ३१ वटा बेड संचालनमा ल्याएका छौं भने, कोरोना उपचारको लागि अक्सिजन सिलिण्डर सहितका २२ वटा आइशोलेसन बेड संचालनमा ल्याएका छौं ।’ जिल्ला अस्पतालमा पहिले नै चालु अबस्थामा रहेका ४८ वटा अक्सिजन सिलिण्डर मध्ये १० वटा अक्सिजन सिलिण्डर संघीय सरकारले केहि दिन पहिला अस्पतालमा पठाएको जैसीले जानकारी दिएका छन् । एक सांसद तथा एक निर्वाचन क्षेत्र १० वटा अक्सिज सिलिण्डर कार्यक्रम अन्तरगत संघीय सरकारले जाजरकोट जिल्ला अस्पताललाई १० वटा अक्सिजन सिलिण्डर पठाएका थियो ।
चालु अबस्थामा रहेका अक्सिजन सिलिण्डरहरु रिफिलिङ्ग गर्नका लागि नेपालगञ्ज पुर्याउनुपर्ने अबस्थाको अन्त्य गर्न स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्टको सामाग्री खरिद तथा जडान सम्बन्धि नेपटेक मेडिकल सप्लायर्स काठमाडौंसँग ठेक्का सम्झौता गरेको निमित्त व्यवस्थापक जैसीले जानकारी दिए । गत चैत ३० गते ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठमाडौंले हालसम्म अक्सिजन प्लान्टका कुनै पनि सामाग्री ल्याई नपुर्याएको जैसीले बताएका छन् । काम सम्पन्न गर्न बुधबार सम्मको समय रहेको जानकारी दिदै व्यवस्थापक जैसी सप्लायर्सले राखेको धरौटी जफत गरेर अर्को सप्लायर्ससँग सम्झौता गरेर अक्सिजन प्लान्ट जडान गरिने बताएका छन् ।
कोरोना संक्रमणले तिब्र रुप लिईरहेको जटिल अबस्थामा निधारित समयमै अक्सिजन सिलिण्डर स्वास्थ्य सेवा कार्यालयलाई बुझाउन सफल भएको जानकारी दिदै भवानी प्याथोक्याम सप्लायर्सका प्रोपराईटर महताराले भुक्तानी दिनलाई कार्यालयले ढिलाई गर्न नहुने भनाई राखेका छन् ।