आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२४ घण्टामा जाजरकोटमा १३ जना संक्रमित थपिए, २७ जना डिस्चार्ज

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/२३ गते
जाजरकोट

२४ घण्टाको समयमा जाजरकोट जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन् भने, २७ जना डिस्चार्ज भएका छन् । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट जिल्लामा आईतबार १३ जना संक्रमित थपिएका हुन् ।

पिसीआर र एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट हालसम्म जिल्लामा १ हजार ४५३ जनालाई कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले आइतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । जिल्लामा कोरोना संक्रमित १ हजार ४५३ जना मध्ये हालसम्म १ हजार ४० जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । ११ चैत २०७६ देखि २३ जेठ २०७८ सम्मको प्रकाशित दैनिक प्रतिवेदन विवरणले हालसम्म थप उपचारका लागि जिल्ला भन्दा बाहिर ११ जनालाई रिफर गरिएको र ३ जना संक्रमितको जिल्लामै मृत्यु भएको देखाएको छ । जिल्लामै कोरोना पुष्टि भएका एक जना संक्रमितको उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको थियो । हालसम्म जिल्लामै गरिएको परीक्षणबाट कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । आईतबार जिल्लामा ३९९ जना संक्रिय संक्रमित रहेका छन् । ३९९ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नलगाडमा ८ जनालाई कोरोना पुष्टि, १ जना डिस्चार्ज

नलगाड नगरपालिकामा आईतबार ८ जनालाई कोरोना पुष्टि भएको छ । आईतबार १७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो ।

हालसम्म १६६ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८६ जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले आईतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । हालसम्म ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ । आईतबार ३८ जना होम आईशोलेसन र ३ जना नगरपालिकाको आईशोलेसनमा गरी जम्मा ४१ जना सक्रिय संक्रमितहरुले स्वास्थ्यकर्मीहरुको पत्यक्ष निगरानीमा रहेर उपचार गराई रहेका छन् ।

बारेकोटमा ५ जना डिस्चार्ज, २ जनालाई कोरोना पुष्टि
बारेकोट गाउँपालिकामा आईतबार ५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन भने, २ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट आईतबार २ जनालाई कोरोना पुष्टि भएको हो ।

आईतबार १३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जना पुरुषलाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । हालसम्म बारेकोटमा ४३० जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १५० जनालाई कोरोना पुष्टि भएको अनमी रोकायले बताएकी छन् । अनमी रोकायले लिएको जानकारी अनुसार हालसम्म कोरोना पुष्टि भएका १५० जना मध्ये ५५ जना महिला रहेका छन् भने, ९५ जना पुरुष रहेका छन् ।

हालसम्म ५४ जनाले कोरोना जितेर डिस्चार्ज भएको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा बारेकोटले आईतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आईशोलेसनमा रहेर उपचार गराई रहेका ८३ जना सक्रिय संक्रमितहरु मध्ये ४ जनाले कोरोना जितेर डिस्चार्ज भएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ । प्रतिवेदन विवरणका अनुसार स्वास्थ्यकर्मीहरुको निगरानीमा ७९ जना सक्रिय संक्रमित होम आइशोलेसनमा रहेका छन् । गाउँपालिको आईशोलेसनमा रहेर उपचार गराई रहेका ६७ जना संक्रमित मध्ये ५० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमितहरुको उपचार भई रहेको प्रतिवेदन विवरणमा भनिएको छ । उपचार भई रहेको १४ जना सक्रिय संक्रमितहरु मध्ये ५ जना महिला रहेका छन् भने, ९ जना पुरुष रहेका छन् ।

दैनिक सार्बजनिक गर्दै आएको छेगाड नगरपालिका, कशे, जुनीचाँदे र शिवालय गाउँपालिकाले आईतबार कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण प्रकाशन गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्