कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो । प्रति मृतक एक लाखका दरले मृतकका आफन्तलाई राहत दिन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद व्यवस्थापन शाखाले अग्रसरता बढाएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्ला प्रशासन कार्यालयलाई सहजीकरण गरिदिन विपद व्यवस्थापन शाखाले सोमबार परिपत्र गरेको छ । जिल्ला प्रशासन कार्यालयलाई गरिएको परिपत्रमा सामाजिक बिकास मन्त्रालयसंग समन्वय गरी आबश्यक कार्यबिधि, मापदण्ड र आधार बनाई कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मृतकका घरपरिवारलाई प्रति मृतक एक लाख राहत राहत उपलब्ध गराउने उल्लेख गरिएको छ । १७ बैसाख २०७८ को कर्णाली प्रदेश सरकार तथा मन्त्री परिषदको निर्णय अनुसार राहत रकम उपलब्ध गराउने परियोजनका लागि ३० जेठ २०७८ मा सम्पन्न कर्णाली प्रदेश विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार कोभिड संक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख राहत दिने निर्णय भएको परिपत्रमा जानकारी गरिएको छ । परिपत्रमा भनिएको छ–“राहत दावीकर्ताले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय मार्फत मृतकको कोभिड–१९ पोजेटिभ रिर्पोट, मृतकसंग हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाण पत्र, सम्बन्धित स्थानीय तहको सिफारिस, राहत रकम दावीकर्ताको नागरिकताको प्रतिलिपी तथा खाता नम्बर प्रष्ट देखिने चेकको प्रतिलिपी र दावीकर्ताको निवेदन सहितका कागजजात पेश गर्नुपर्ने छ ।”