News Portal

जलजला पाटनमा हराई रहेका ७ जनाको हवाई उद्धारका लागि गृह मन्त्रालयलाई अनुरोध

७३१ पटक

जाजरकोटको कुशे गाउँपालिका र जुम्लाको सिमाना रहेको जलजला पाटनमा चार दिनदेखि हराई रहेका ७ जनाको हवाई उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, जाजरकोटले गृह मन्त्रालयलाई अनुरोध गरेको छ । अबिरल बर्षासंगै आएको हावाहुरीले बेपत्ता भएका ७ जनाको हवाई खोजीकार्य तथा उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले बिहिबार गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखालाई पत्र लेखेर अनुरोध गरेको हो ।

घरबाट गाई, भैसी र बाख्रा लिएर अन्दाजी ४ हजार ६०० मिटरको उचाईमा रहेको जलजला पाटनमा जेठ ३१ पुगेका कुशे गाउँपालिका–८ र ९ का ११ जना मध्ये ७ जना हराई रहेको जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई लेखेको अनुरोध पत्रमा उल्लेख गरिएको छ । जुम्ला र जाजरकोटको सिमानामा पर्ने जलजला पाटनमा आएको हावाहुरीसंगैको अविरल बर्षाले ८२ वटा पशुचौपाय मरेको अनुरोध पत्रमा भनिएको छ–‘पाटनमा हराईरहेका ७ जनाको खोजीकार्य र उद्धारका लागि नेपाल प्रहरी र स्थानीय नागरिकको टोली घटना स्थलको नजिक पुग्दै गर्दा लेख लाग्नुको साथै चिसोले कठ्याङग्रीएर घटना स्थलमा पुग्न सकेका छैनन, हराई रहेकाहरुको उद्धार तथा खोजीकार्यको अन्य बैकल्पिक उपाए नभएको हुदा बेपत्ता भएका ७ जनाको तत्काल उद्धार गर्नका लागि हवाई उद्धारको आवश्यक व्यवस्था गरिदिन हुन सादर अनुरोध गर्दछु ।’

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाद्धारा हस्ताक्षर गरिएको अनुरोध पत्रको बोधार्थ कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पनि जानकारी दिएको छ ।

बर्षासंगै आएको हावाहुरीले उढाएर बेपत्ता भएका ७ जना मध्ये कुशे गाउँपालिका–८ औलरिजाका ३५ वर्षिय दिल बहादुर खड्का, २५ वर्षिय विक्रम खडका, २८ वर्षिय चन्द्रा खड्का, १८ वर्षिय भविन्द्र खड्का, १२ वर्षिय मीम खड्का, १७ वर्षिय धनसरा खड्का र ९ पैंकका ४० वर्षिय कृष्ण रोकाय रहेका छन् भने, उनीहरुसंगै पाटनमा पुगेका कशे गाउँपालिका–९ पैंकका ४४ बर्षिय भक्तबहादुर रोकाय, १० बर्षिय ईश्वर रोकाय, १४ बर्षिय दुर्गा रोकाय र ५५ बर्षिय गंगा खड्का गरि चार जना ३ दिनपछि घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्