जाजरकोट प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सदरमुकाम खलंगाको विभिन्न ठाउँबाट घरेलु मदिरा, मदिरा बनाउन प्रयोग गरिने औषधी र जाँड तथा भाँडा बर्तन बरामत गरिएको हो ।
प्रहरीले शनिबार संकास्पद स्थानहरुमा छापा मार्दा एक हजार ३ सय लिटर जाँड, पाँच सय लिटर रक्सी र ९० केजी जाँड बनाउन प्रयोग गरिने कच्चा पर्दार्थ औषधी फेला पारेको प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए । साथै रक्सी बनाउन प्रयोग गरिने भाँडा बर्तन समेत बरामत गरिएको उनले बताए ।
उक्त सवै मदिरा र मदिराजन्य पदार्थ स्थानीयको रोहवरमा नष्ट गरिएको छ । पहिलो पटक भएकोले मदिरा उत्पादन तथा विक्रिवितरण गर्नेलाई सम्झाईवुझाई छाडिएको र फेरी फेला परे कानुन बमोजिम कारवाही गरिने प्रहरी निरीक्षक पाण्डेको भनाई छ । गाँउघरमै घरेलु मदिरा उत्पादन गरेर विक्रिवितरण गर्दा चोरी, हत्या, हिंसा र बलत्कार जस्ता अपराधिक गतिविधि बढ्ने भएकोले यसलाई नियन्त्रणका लागि मदिरा नष्ट गर्ने अभियान थालिएको पाण्डेको भनाइ छ ।