News Portal

भेरी नगरपालिकामा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण सुरू

८५ पटक

जाजरकोट
भेरी नगरपालिकामा अव्यवस्थित बसोवासीहरूलाई निस्सा वितरण कार्य सुरू भएको छ । सुकुम्वासी समस्या समाधान आयोग मार्फत आज वडा नंं ३ मा अव्यवस्थित बसोबासीहरुको निस्सा वितरण गरिएको हो ।

यस अघि प्रकाशित सूचना बमोजिक निवेदन पेश गरेका २ सय बढी अव्यवस्थित बसोबासीहरुलाइ निस्सा वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं ३ का विभिन्न क्षेत्रमा विगत १० वर्ष अघिदेखि बसोवास गर्दै आएका व्यक्तिहरूलाई अव्यवस्थित बसोवासीका लागि निवेदन माग गरिएको थियो ।

निस्सा वितरण पछि निवेदन उपर दावी विरोधको लागि सूचना प्रकाशित लगायतका कार्यहरू अगाडी बढ्ने सुकुम्वासी समस्या समाधान आयोग, जिल्ला समिति जाजरकोटका अध्यक्ष सर्पराज रावतले बताए । कार्यविधिले तोके अनुसार मापदण्ड पुगेका लाभग्राहीहरूलाई जति सक्यो छिटो लालपूर्जा वितरण गर्ने पक्षमा आफुहरू रहेको अध्यक्ष रावतको भनाई छ ।

वडा नं ३ कार्यवहाक वडाध्यक्ष तेज विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोग जिल्ला समितिका अध्यक्ष सर्पराज रावत, सदस्यहरू नवराज शाही र रामचन्द्र घर्ती, भेरी नगरपालिकाका अधिकृतहरू सुधा हमाल, सुर्य प्रसाद लम्साल, भरत कुमार शर्मा लगायत नगरमा क्रियाशिल विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, आयोगका जिल्ला समिति अन्तरगत कार्यरत प्राविधिक कर्मचारीहरू र सेवाग्राहीहरूको सहभागिता रहेको थियो ।

भोलि वडा नं १ मा निस्सा वितरणको कार्यक्रम तय भएको र क्रमश सबै वडाहरूमा सो कार्यक्रम संचालन हुने सूचना प्रविधि अधिकृत सुर्य प्रसाद लम्सालले जानकारी दिए । आयोगको जिल्ला समितिले जिल्लाका सबै स्थानीय तहहरूमा सर्वेक्षक र अमिनहरू खटाएर काम अघि बढाएको छ । भेरीमा सर्वेक्षक र अमिन गरी ३ जना प्राविधिक कर्मचारीहरू खटिएका छन ।

प्रतिकृया दिनुहोस्