भेरी नगरपालिकाको ४, ८, ९ र १० नम्बर वडाका ५ बर्ष मुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता फिर्ता भएको छ । एनआईसी एसिया बैंकले निर्धारित समयमा चेक नसाटेपछि ४, ८, ९ र १० नम्बर वडाका ५ बर्ष मुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता फिर्ता भएको हो । फिर्ता गएको बालबालिकाहरुको पोषण भत्ता ल्याउनलाई चौतर्फी प्रयास भईरहेको छ ।
५ बर्षमुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता बाफतको ४७ लाख २९ हजार ८१५ रुपैया नेपाल सरकारको खातामा फिर्ता गएको हो । गत आवको दोस्रो चौमासिकबाट बैंक खाता प्रणालीबाट सबै सामाजिक सरक्षा भत्ता बितरण गर्नुपर्ने भनेर नेपाल सरकारको प्रकाशित राजपत्रमा उल्लेख भएपछि बैंक खाता प्रणालीबाट पोषण भत्ता बितरण गर्नुपर्ने अबस्था गरिएको भेरी नगरपालिकाका सामाजिक सुरक्षा शाखाका फोकल पर्सन केदार कार्कीले जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता अन्तरगत भेरी नगरपालिकाले राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, सिटीजन बैंक र एनआईसी एसिया बैंक मार्फत नगरपालिकाका १३ वटै वडाका ४ हजार ३२ जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता बाफत १ करोड ८८ लाख ३ हजार ८७९ रुपैया भुक्तानी दिएको थियो । गत असार २९ गते नगरपालिकाको भौचर सहितको भुक्तानी आदेश अनुसार कालेनिकाले २९ गते नै सबै बैंकको नाममा चेक काटेको कोष नियन्त्रक नरेश राज भट्टले जानकारी दिएका छन् । चेक काटेको १५ दिन भित्रै चेक साटि सक्नुपर्ने व्यवस्था भएतापनि एनआईसी एसिया बैंकलाई जानकारी गर्दा गर्दै पनि ४७ लाख २९ हजार ८१५ रुपैयाको चेक नसाटेर उक्त रकम नेपाल सरकारको खातामा फिर्ता गएको कोष नियन्त्रक भट्टको भनाई रहेको छ ।
एकै दिनमा काटिएका चेकहरु सिटिजन बैंकले मध्ये २२ लाख ८७ हजार ६१३ रुपैयाको चेक साट्नुको साथै फरवाड फिड मार्फत हाल वडा नम्बर १ र ३ का ४८२ जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता बितरण गरिरहेको नगरपालिकाका सामाजिक सुरक्षा शाखाका फोकल पर्सन कार्कीले जानकारी दिएका छन् । त्यसैगरी फोकल पर्सन कार्कीले दिएको जानकारी अनुसार राष्ट्रिय बाणिज्य बैंकले ७२ लाख ९९ हजार ३६० रुपैयाको चेक साट्नुको साथै फरवाड फिड मार्फत वडा नम्बर २, ७, ११ र १२ का १ हजार ६५७ जना बालबालिकाको बार्षिक पोषण भत्ता बितरण गरिरहेको छ । नेपाल बैंक लिमिटेडले ४४ लाख ८७ हजार ९१ रुपैयाको चेक साट्नुको साथै फरवाड फिड मार्फत वडा नम्बर ५, ६ र १३ का ९६३ जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता बितरण गरिरहेको छ ।
४, ८, ९ र १० नम्बर वडाको सामाजिक सुरक्षा भत्ता बितरण गर्न नगरपालिकासंग सम्झौता गरेको एनआईसी एसिया बैंकले चार वटा वडाका ९३० जना बालबालिकाको बार्षिक पोषण भत्ता बितरणको लागि आएको ४७ लाख २९ हजार ८१५ रुपैयाको चेक नै साट्न नसकेर उक्त रकम नेपाल सरकारको खातामा फिर्ता भएको छ सामाजिक सुरक्षा फोकल पर्सन कार्कीले भने–‘कोलेनिकाले काटेकको चेक बैंकलाई बुझाउन हामीले हाम्रो कार्यालयका कर्मचारिलाई पठाएका थियौं, चेक मात्र बुझाएका हैनौं, चेक काटेको १५ दिनपछि पनि हामीले बैंकलाई फोन गरेर चेक साट्नु भयो कि भएन, चेक साट्नुपर्ने आज अन्तिम दिन हो भनेर भनेका थियौं ।’
१८ नम्बर फाराम भरेर कोलेनिकाबाट प्रमाणित गराएर पञ्जीकरण विभाग हुदै अर्थमन्त्रालयको स्वीकृतबाट उक्त रकम फेरी ल्याउन सकिने बताउदै भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिस शाहले त्यसका लागि नगरपालिकाले जिल्ला देखि केन्द्रसम्म पहल गरीरहेको जानकारी दिएका छन् । यदि कोलेनिकाले १८ नम्बर फारामलाई प्रमाणित गर्न नमानेमा एनआईसी एसिया बैंकसंग गरिएको सम्झौता अनुसारको कानुनी उपचारको खोजी गर्नुको विकल्प नरहेको अधिकृत शाहको भनाई रहेको छ ।
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन अनुसार कोलेनिकाले १८ नम्बर फारामलाई प्रमाणित गर्ने जानकारी दिदै कोष नियन्त्रक भट्टले आर्थिक बर्ष सुरु भएको ७ दिनभित्रै १८ नम्बर फाराम प्रमाणित गरिसकेको हुनुपर्ने भनाई राखेका छन् । निम्नस्तरमा रहेर काम गर्ने कर्मचारीले कार्यविधि र ऐन भन्दा माथि रहेर काम गर्न नसकिने बताउदै कोष नियन्त्रक भट्टले नगर कार्यपालिकाको बैठकको निर्णयका आधारमा अर्थमन्त्रालयले उक्त रकमको निकासा दिन सक्ने धारणा राखेका छन् । केहि बर्ष पहिला हुम्ला जिल्लामा पनि यस्तो समस्या आएको जानकारी दिदै कोष नियन्त्रक भट्टले कार्यपालिकाको बैठकको निर्णयबाट हुम्ला जिल्लामा रकम निकासाको स्वीकृत गराएको जानकारी दिए ।
कुनै पनि शाखाले आफै खाता खोल्न नपाउने एनआईसी एसिया बैंक जाजरकोटका प्रबन्धक खगेन्द्र मल्लले जानकारी दिए । सुरक्षा प्रर्णालीलाई व्यवस्थित गर्न एनआईसी एसिया बैंकले कुनैपनि व्यक्तिको नाममा खोलिने खाता केन्द्रले नै खोल्ने भएको हुदा फरवाड फिड मार्फत बालबालिकाको नाममा खाता खोल्न ढिलाई भएको जानकारी दिदै प्रवन्धक मल्लले बाल पोषण भत्ताको चेक साट्न नसकेको जानकारी दिए । सम्बन्धित शाखामा काम गर्ने कर्मचारीले पनि गम्भिर गल्ती गरेको स्वीकार गर्दै प्रवन्धक मल्लले आफु कार्यरत बैंकबाट बालबालिकाहरुले पाउनुपर्ने पोषण भत्ता दिनका लागि केन्द्रदेखि जिल्ला स्तरसम्म सबैखाले प्रयास भई रहेको जानकारी दिएका छन् । केन्द्रदेखि जिल्लासम्म गरिएको प्रयासबाट एक दुई दिनमै सकारात्मक परिणाम आउनेमा आफु आशावादी बनेको प्रबन्धक मल्लले बताएका छन् ।
५ बर्ष मुनीका ९३० जना बालबालिकाहरुको बार्षिक पोषण भत्ता फ्रिज गराएकोमा दुःख व्यक्त गर्दै मानव अधिकार रक्षक संजाल जाजरकोटले मंगलबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पोषण सुधारका लागि राज्यले दिएको अनुदान पाउनुपर्ने बालबालिकाहरुको नैसर्गिक अधिकार भएको बताउदै मानव अधिकार रक्षक संजाल जाजरकोटले प्रमुख जिल्ला अधिकारीलाई लेखित रुपमा गराईको ध्यानाकर्षण पत्रमा बालबालिकाहरुको नाममा आएको रकम फिर्ता गराउनेमा मूख्य हात कसको रहेको छ ? त्यसको छानविन सत्यतथ्य गर्न माग गर्दछौं भनिएको छ ।
जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला जेष्ठ नागरिक, विधुवा, पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग, क्षेत्र तोकिएका बालबालिका र दलित बालबालिकालाई सामाजिक सुरक्षा अन्तरगत गृह मन्त्रालयको पञ्जीकरण विभागले भत्ता बितरण गर्दै आएको छ । भेरी नगरपालिकाको वडा नम्बर १ र ३ को सबै सामाजिक सुरक्षा भत्ता सिटीजन बैंक मार्फत वितरण गर्ने गरिएको छ । वडा नम्बर ५, ६ र १३ को सबै सामाजिक सुरक्षा भत्ता नेपाल बैंक लिमिटेडबाट बितरण गर्ने गरिएको छ । वडा नम्बर २, ७, ११ र १२ को सबै सामाजिक सुरक्षा भत्ता राष्ट्रिय बाणिज्य बैंक मार्फत बितरण गर्ने गरिएको छ । वडा नम्बर ४, ८, ९ र १० को सबै सामाजिक सुरक्षा भत्ता एनआईसी एसिया बैंकबाट वितरण गर्ने गरिएको छ ।