गृहमन्त्री बालकृष्ण खाणले नेपाली जनताको संविधानको रक्षा गर्न सरकार र प्रहरी बीचको मजबुत सम्बन्ध हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा मन्त्री खाणले यस्तो बताएका हुन् । मन्त्री खाणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुको साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै जानकारी लिएका थिए । कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालय प्रमुखहरु, संघिय प्रहरी ईकाइ कार्यालय प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई मन्त्री खाणले निर्देशन दिएका थिए ।
कार्यक्रममा प्रहरी र सरकार एउटै सिक्काका दुई वटा पाटा भएको चर्चा गर्दै मन्त्री खाणले सरकार र प्रहरी बीचको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर मात्र जनताको संविधानको रक्षा गर्न सकिने भनाई राखेका थिए । संविधानको पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने मन्त्री खाणले बताएका थिए । आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै मन्त्री खाणले त्यस्ता हिंसा न्यूनिकरणको बिषयलाई गम्भीरतापूर्वक लिन प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए । प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाणले प्रहरीको साथ साथै नागरिकको भूमिकालाई सहजता एवं सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरेका थिए ।
सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील ठाउँहरुमा आमनागरिक तथा जनप्रतिनिधिहरुबाट प्रहरी कार्यालयहरुको स्थापना, स्तरवृद्धि, आधुनिकिकरणको माग एवं सुझाव आएको बताउदै मन्त्री खाणले सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नविन भूमिका एवं दायित्वको लागि नेपाल सरकार सकारात्मक रुपमा अगाडि बढिरहेको बताए । प्रहरी कार्यालय स्थापनाको लागि जग्गा, निर्माण सामाग्री उपलब्ध गराउने एवं आर्थिक सहयोग गरी प्रहरीको हौसला बढाउन सहयोग गर्ने दाता तथा नागरिकलाई मन्त्री खाणले सम्मान व्यक्त गरेका थिए ।
सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्याहरुलाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहेको चर्चा गर्दै मन्त्री खाणले कोभिड–१९ संक्रमण नियन्त्रण एवं रोकथामको लागि नेपाल प्रहरीले संचालन गरेको अभियान सराहनीय रहेको बताएका थिए । मुलुकको शान्ति सुव्यवस्थामा सेवानिवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्ने र आमनागरिकहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा मन्त्री खाणले जोड दिएका थिए । गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले अप्ठ्यारो परिस्थितिको सामना गर्दै नागरिकको रक्षा, शुखी राष्ट्र निर्माण एवं नागरिकको जीवन रक्षामा प्रहरी सदैव दृढ संकल्पित रहेको चर्चा गरेका थिए । प्रहरी संगठनलाई अझ व्यवसायिक, पेशागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने बताउदै सचिब पाण्डेले प्रहरी कर्मचारीको मनोवल विकास गर्न प्रभावकारी तवरले काम गर्नुपर्ने भनाई राखेका थिए । शान्ति सुरक्षा, अपराध अनुसन्धान एवं कानूनको प्रत्याभूति दिलाउन प्रहरी संगठनको महत्वपूर्ण भूमिका रहेको बताउदै गृहसचिव पाण्डेले उक्त भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुमा स्वअनुशासित, स्वविवेक एवं उच्च व्यवसायिकताको अपेक्षा नागरिकहरुले गरेको बताए । नागरिकले राखेको अपेक्षा अनुरुप प्रहरी संगठन अगाडि बढ्नुपर्ने गृहसचिव पाण्डेले बताए । विकास निर्माणका काममा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सरोकारवाला निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।
गृहमन्त्री खाणले दिएको निर्देशन अत्यन्तै सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन भएको बताउदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएका थिए । संगठनले प्राप्त गरेको तालुक गृहमन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास प्रहरी महानिरीक्षक थापाको भनाई रहेको थियो ।
अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको बताउदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कालोवजारी नियन्त्रण तथा विपद्बाट हुने क्षेतिको न्यूनीकरणमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताए । नेपाल प्रहरीको कार्य योजना–२०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोवल विषयमा शोध र प्राप्त सुझावहरुको कार्यान्वयन, प्रहरी कर्मचारीहरुको आचार संहिताको कार्यान्वयन लगायतका विषयले संगठनको पद्धतिजन्य विकास र सुत्रवद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले भनाई राखेका थिए ।
नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फैसला कार्यान्वयन, हातहतियार तथा लागूऔषध बरामद र राजश्व चुहावट रोक्नमा नेपाल प्रहरीले उल्लेखनीय योगदान पु¥याएको चर्चा गरेका थिए । कोभिड–१९ विरुद्धको अभियानलाई सार्थक कार्यान्वयन, प्रहरी संगठनको पूर्नसंरचना तथा कर्मचारीको थप व्यावसायिकिकरण लगायतका चुनौतीहरुलाई संगठनले अवसरको रुपमा वदल्ने प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विश्वास व्यक्त गरेका थिए ।
गृहमन्त्री खाण र गृहसचिव पाण्डेलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गरेका थिए ।
गृहमन्त्री खाण समक्ष प्रहरी नयाव महानिरीक्षक ईश्वर बाबु कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।