प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार ५ सय सहयोग गरेका हुन् ।
बारेकोट गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले स्वस्फुर्त रुपमा उठाएको दुई लाख २ हजार ५सय बिरामीको खातामा जम्मा गर्न प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका प्रमुख रामबहादुर रोकाय र सिनियर अनमी कल्पना रोकायलाई जिम्मा दिएको बारेकोट गाउँ पालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख बीरराज सिंहले जानकारी दिएका छन् । मानविय सेवामा ऐक्यबद्धता जनाउने गाउँपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई हार्दिक धन्यवाद दिदै शाखा प्रमुख सिंहले पेशागत रुपमा एउटै क्षेत्रमा काम गरिरहेको एक जनालाई परेको दुःखमा सबैले साथ दिनुपर्ने भनाई राखेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापा साउन ३ गते मिलमा परेर गम्भीर घाईते भएकी थिईन । तोरी पेल्ने मिलमा कपाल बेरिएर अनुहार र टाउँकोमा चोट लागेर गम्भीर घाईते भएकी थापालाई उपचारको लागि ३ गते नै हेलिकप्टरबाट सुर्खेत लगिएको थियो । सुर्खेतमा उपचार सम्भव नभएपछि थापालाई नेपालगञ्जसम्म एम्बुलेन्समा र नेपालगञ्जदेखि काठमाडौं हवाईजहाजमा पुर्याईएको थियो । हाल उनको टाउको र अनुहारमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा प्लाष्टिक सर्जरी भईरहेको सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् ।