नेकपा एमाले बिचार, सिद्धान्त सहितको श्रमजीवि सर्वहारा वर्गको पार्टी बन्न नसकेको हुदा आफुहरुले नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नु पर्ने स्थिति सृजना भएको नेकपा (एकीकृत समाजवादी) का नेता कृष्ण विसीले बताएका छन् । मंगलबार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा नेता बिसीले यस्तो बताएका हुन् ।
माक्र्सवाद, लेलिनवादको राजनैतिक÷बैचारिक र संगठनात्मक सिद्धान्तलाई स्वीकार गर्दै आएको नेकपा एमालेलाई केपी शर्मा ओलीले ‘बा’ को पार्टी बनाएको नेता बिसीले आरोप लगाएका थिए । माधव कुमार नेपालको नेतृत्वमा पुनर्गठित नेकपा (एकीकृत समाजवादी) पार्टीले माक्र्सवाद, लेलिनवादको सिद्धान्तलाई आत्मसाथ गर्दै जननेता मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलिय जनवाद’ को कार्यदिशालाई स्वीकार गरेको बताए । अन्तराष्ट्रिय श्रमिक गीत गाउदै आएको नेकपा एमालेलाई केपी शर्मा ओलीले ‘राज नेता केपी ओली’ भन्ने गित गाउन लगाएको बताउदै नेता बिसीले ओली चरम व्यक्तिवादमा पुगेर बडेमानको आफ्नो फोटा राखेर जय–जयकार गर्न लगाएको बताए ।
पार्टी बिभाजनको मुल जड् प्रचण्ड र केपी ओली बीच गरिएको तमसुक कार्यान्वयनमा ओली ईमान्दार नहुनु भएको नेता बिसीले बताएका थिए । कम्युनिष्ट पार्टी सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको संगठनात्मक पद्धतिमा चल्नुपर्ने बताउदै नेता बिसीले नेकपा एमाले र माओवादी केन्द्रलाई ओली र प्रचण्डले आफ्नो गोजीको पार्टी ठानेर लिने दिनेको तमसुक गरेर दुवै पार्टीलाई विघटन गरेको चर्चा गरे । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र बिघटन गरेर पुनर्गठन गरिएको नेकपालाई दक्षिण एशियाको मात्र नभएर साउथ एशियाकै ठुलो कम्युनिष्ट पार्टीका रुपमा जनताले अनुमोदन गरेको नेता बिसीले भनाई राखेका थिए ।
माक्र्सवादी, लेलिनवादी नीति र विधलाई मान्दै आएको कम्युनिष्ट पार्टीको विधान नमान्ने, दुई तिहाई बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारको सर्वोच्व निकाय प्रतिनीधि सभालाई असंबैधानिक तरिकाले ओलीले बिघटन गरेपछि असाधारण अबस्थाको सृजना भएको नेता बिसीले भनाई राखेका थिए । विधान अनुसार चल्ने कम्युनिष्ट पार्टी निर्माण गर्न र संबैधानिक तरिकाले दुई तिहाई प्राप्त कम्युनिष्ट सरकार संचालन गर्न कम्ुनिष्ट पार्टीले नै ओली प्रवृतीका बिरुद्ध संघर्ष गर्नु परेको बताउदै नेता बिसीले बिगत ४ बर्षदेखि पेशी सर्दै आएको ऋषी केटेलको मुद्धालाई सर्वोच्व अदालतले फागुन २२ गते फैसला गरेर नेकपालाई खारेजी गरिदिएको बताए । सर्वोच्वको फैसलाले पूर्व नेकपा एमाले र माओवादी केन्द्र व्युझिएपछि ओलीले नेकपा एमाले पार्टी निर्माणका लागि योगदान गरेका पुराना नेताहरुलाई साइट लगाएर पार्टीमा कुनै योगदान नगरेका आफ्नो जय–जयकार गर्नेहरुलाई फागुन २८ गते जिम्मेवारी दिएपछि माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठन गर्नु पर्ने अबस्था आएको नेता बिसीले बताए ।
नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र बीच तत्काल पार्टी एकता नहुने बताउदै नेता बिसीले बृहत कम्युनिष्ट एकताका लागि तत्काल माओवादी केन्द्रसंग बाम गठबन्धन गर्न सकिने भनाई राखेका थिए । बिभाजन र बिद्रोहले कम्युनिष्ट पार्टीलाई कम्जोर मात्र नभएर शक्तिशाली बनाएको बताउदै नेता बिसीले १० बर्षे जनयुद्ध नलडेको भए माओवादी केन्द्रले अहिलेको उचाई हासिल गर्न नसक्ने उदाहरण दिएका थिए ।
राजनैतिक दलसम्बन्धी ऐन अनुसार निर्वाचन आयोगले तोकेको समय सिमा (२२ भदौ बेलुकी ५ बजेसम्म) भित्रै रहेर जाजरकोटमा १० जना स्थानीय तहका जनप्रतिनीधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेको नेता बिसीले जानकारी दिए । नेता बिसीले दिएको जानकारी अनुसार जाजरकोटमा २ जना वडा अध्यक्ष, ३ जना कार्यपालिका सदस्य र ५ जना वडा सदस्यले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेमा छेडागाड नगरपालिका–१ का वडा अध्यक्ष गणेश प्रसाद जैसी, २ का वडा अध्यक्ष बालकृष्ण बुढा रहेका छन् । त्यसैगरी एकीकृत समाजवादी पार्टी रोज्ने कार्यपालिका सदस्यमा छेडागाड–१ की गोरी कामी, ६ की चन्दी रावत र ९ की गंगा नेपाली रहेका छन् । पार्टी राज्ने वडा सदस्यहरुमा छेडागाड–१ का बीर बहादुर बुढा, २ का कौशिला सुनार, साउनी बुढा, –५ का रामप्रसाद जैसी र कुशे गाउँपालिका–५ का वडा सदस्य शुसिला कामी रहेका छन ।
स्थानीय तहका १० जना जनप्रतिनीधिले पार्टी रोजेपछि जाजरकोटमा नेकपा (एकीकृत समाजवादी) पार्टी संस्थागत भएको बताउदै नेता बिसीले आगामी असोज ३ गते संविधान दिवसको अबसर पारेर पार्टीले बिशेष कार्यक्रमको आयोजना गर्ने बताए । संविधान दिवसको दिन विहान बृक्षारोपन गर्ने, त्यसपछि औपचारिक रुपमा पार्टी कार्यालय उद्घाटन गर्ने, दिउसो जिल्ला समन्वय समितिको सभा हलमा अगुवा कार्यकर्ताको भेला गर्नुको साथै औपचारिक रुपमा जिल्ला कमिटीको घोषण गर्ने कार्यक्रम रहेको नेता बिसीले जानकारी दिएका छन् । असोज ३ गतेको उक्त कार्यक्रम नेकपा (एकीकृत समाजवादी) पार्टीकी चर्चित नेता राम कुमारी झाँक्री र कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाको आथित्यतामा सम्पन्न गरिने नेता बिसीले जानकारी दिएका छन् । औपचारिक रुपमा पार्टीको जिल्ला कमिटी घोषणा पश्चात पार्टीका सबै जनवर्गिय संगठनहरुको जिल्ला समितिहरु निर्माण, गठन तथा पुनर्गठन गरिने बताउदै नेता बिसीले एकीकृत समाजवादी पार्टीले पेशागत संघ÷संगठनहरुमा रहेका कुनै पनि जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनीधिहरुलाई पार्टी संगठनको कुनै पनि जिम्मेवारीमा नराखिने जानकारी दिएका छन् ।
सात वटा पालिका र ७७ वडाबाट जाजरकोटमा ४१५ जना स्थानीय तहका जनप्रतिनीधि रहेका छन् । १५० जना नेकपा एमाले, १३९ जना नेकपा माओवादी केन्द्र र १२६ जना नेपाली कांग्रेसबाट स्थानीय तहका जनप्रतिनीधिले निर्वाचन जितेका थिए । २ नगरपालिका र एक गाउँपालिकाको प्रमुख÷उप प्रमुख र अध्यक्ष÷उपाध्यक्ष जितेको नेकपा एमालेका २९ वडा अध्यक्ष, २६ महिला सदस्य, २९ दलित महिला सदस्य, ५७ खुल्ला सदस्य र ३ अल्पसंख्यक सदस्यले निर्वाचन जितेका थिए । तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका २ जना वडा अध्यक्ष ३ जना कार्यपालिका सदस्य र ५ जना वडा सदस्य गरी १० जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत भएपछि अब नेकपा एमालेमा १४० जना स्थानीय तहका जनप्रतिनीधि रहेका छन् ।