Hamro Sanchar

ठाँटी नजिकको सडक बन्द हुदा यात्रुलाई सास्ती

माया पन्त (घर्ती) प्रकाशित : २०७८/६/१६ गते
जाजरकोट

जाजरकोट सदरमुकाम खलंगाको ठाँटी बजार नजिकको सडक बन्द भएको छ । सडक बन्द हुदा यातायातका साधन आवजावत समेत बन्द भएको छ । सडक १० दिन देखि बन्द भएको छ ।

सडक संचालनमा जिम्मेवार निकाय मौन छन । बर्षातका कारण सडक भासिएको छ । माथेल्लो थाप्ले, ठाँटीबजार, न्युरोड, सिटीजिन्स बैंक लगायत स्थानको ढल निकासको उचित व्यवस्था नगर्दा सडक भासिएको छ । सडक भत्क“दा खलंगाबाट जिल्ला बाहिर जाने तथा भित्रने यातायातका साधन बीच बाटोमै अलपत्र परेका छन् । यातायात बन्द भएपछि यात्रुहरु सिधा गन्तब्यमा पुग्न समस्या भएको छ । नेपालगंज देखि जाजरकोट रिम्ना हुदै रुकुम आठबिसकोटको सिधा यातायात सेवा बन्द भएको छ ।

सडक बन्द भएपछि आवजावत तथा दैनिक उपभोग्य बस्तु आपुर्ती गर्न समेत कठिन भएको स्थानीय व्यापारी कमला बुढाथोकीले बताएकी छन् । दुइ साता विति सक्दा पनि सडक सन्चालन नहुदा विरामीलाई उपचारको लागि अस्पताल र विद्यार्थीहरुलाई स्कुल जान आउन समस्या भोग्नु पर्ने भएको स्थानीय किशोर मल्लले बताएका छन । जिल्ला सदरमुकाम सडक अबरुद्धका कारण नाकाबन्दीमा परेको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्रीले बताएका छन । जिम्मेवार निकायले कुनै ध्यान नदिएको अध्यक्ष खत्रीले आरोप लगाएका छन् ।

पटक–पटकगरी उक्त सडकमा ५० लाख भन्दा बढी बजेट खर्च भइ सकेको छ । काममा गुणस्तरीयता नहुदा लगाएको तारजाली सामान्य पानी पर्दा बगाउने गरेको छ । लगातार पहिरो खस्दै गएपछि दर्जन घरहरु जोखिममा परको छन । पहिरोको जोखिम घटाउन अनिवार्य ढल निकासको ब्यबस्था तत्काल गर्नु पर्ने स्थानीयले माग गरेका छन् । नगरपालिकाले वजार व्यवस्थापन र सहरीकरणबारे गतिलो योजना कार्यान्वयन नगर्दा सदरमुकाम खलंगाको वस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

प्रतिकृया दिनुहोस्