Hamro Sanchar

नलगाड नगरपालिकाद्धारा मरणोप्रान्त गाने बोहरालाई सम्मान

यस बर्ष २८ जनालाई सम्मान

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१०/२० गते
जाजरकोट

जाजरकोट जिल्लाको कला, साहित्य र साँस्कृतिक संरक्षण तथा प्रवद्र्धनमा अतुलनिय योगदान गरेका नलगाड नगरपालिका–५ का स्वर्गिय गाने बोहरालाई नलगाड नगरपालिकाले यस बर्ष मरणोप्रान्त सम्मान–पत्र प्रदान गरेर सम्मान गरेको छ । जाजरकोट जिल्लालाई फरक पहिचान दिन सफल गाने बोहरा जिल्लाकै दुलर्भ सम्पतिका रुपमा स्थापित थिए । आँशु कवि गाने बोहराको लोक भाका, लोक साहित्य, साँस्कृतिमा विशेष क्षमता रहेको थियो ।

हरेक बर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, निर्माण व्यावसायि, शिक्षक, जनप्रतिनिधि र वडालाई सम्मान गर्दै आएको नलगाड नगरपालिकाले यस बर्ष पनि विभिन्न क्षेत्रमा योगदान गरेका २८ जनालाई सम्मान गरेको छ । नलगाड नगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याउनुको साथै कला, साहित्य र साँस्कृतिक संरक्षण तथा प्रवद्र्धनमा योगदान गर्ने व्यक्तिहरुलाई नलगाड नगरपालिकाले यस बर्ष सम्मान गरेको हो ।

यस बर्ष कार्यसम्पादनको उत्कृष्टमा छनोट भएका नगरपालिकाका प्रशासन अधिकृत यज्ञ बहादुर खत्रीलाई नगरपालिकाले नगद पुरस्कार सहित प्रमाणपत्रद्धारा सम्मान गरेको छ । त्यसैगरी नगद पुरस्कार सहित प्रमाणपत्रद्धारा नगरपालिकाले सम्मान गरेकाहरुमा ३ नं. वडाका सचिव उत्तम चन्द, सब ईन्जिनियर नबचन्द्र वली, हेल्थ असिस्टेन्ट हिमा पुन, शिक्षक हरि प्रसाद ज्ञवाली, भरत सुनार, नगर कृषि शाखा प्रमुख बालकृष्ण आचार्य, कार्यालय सहयोगी जय बहादुर परियार, ३ नं. वडाअध्यक्ष प्रचण्ड वली, ३ नम्बर वडा कार्यालय र यसबर्षको उत्कृष्ट निर्माण व्यवसायी बीरेन्द्र बहादुर खड्का रहेका छन् ।

विभिन्न क्षेत्रमा रहेर नगरपालिका स्थापनाकाल देखि हालसम्म नगरपालिकाको बिकास र समृद्धिमा योगदान पुर्याएका १६ जनालाई छनोट गरेर नगरपालिकाले प्रसंशा–पत्र प्रदान गरेर सम्मान छ । प्रसंशा–पत्र सहित सम्मान हुनेहरुमा दिप बहादुर घर्ती, सन्दिप कायस्था, राजेश्वर कार्की, राजेन्द्र बिक्रम शाह, चन्द्र बहादुर रावल, कौशी बहादुर बिस्ट, ज्ञानेन्द्र बहादुर सिह, नरेन्द्र सिह, गोपाल शर्मा, गोबिन्द बिस्ठ, भगवती जैसी, गणेश खत्री, गगन राना, खमान सिह ठकुरी, लोकेन्द्र केसी र गोपाल बानियाँ रहेका छन् । नगरपालिकाले आयोजना गरेको तीन दिने समिक्षा बैठकको अन्तिम दिन उक्त सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्